अर्जुन ट्रफी : धनगढी र अत्तरियाको फराकिलो जित



कैलाली, कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा डीसीए धनगढीले पहिलो जित दर्ता गरेको छ । आइतबार फाप्ला मैदानमा भएको दिनको दोस्रो खेलमा धनगढीले घोडाघोडी–११ लाई ६९ रनले पराजित गरेको हो । १ सय ५० रनको लक्ष्य लिएर मैदान उत्रिएको घोडाघोडी १६.५ ओभरमा सवै विकेट गुमाउँदै ८० रनमा समेटियो । घोडाघोडीका लागि टेक रावतले १८ रन र दीपक टमाटाले १३ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । धनगढीका ललीत राजवंशीले तीन विकेट लिए । उनी खेलका म्यान अफ द म्याच पनि भए । धनगढीका मिलन बोहोरा र राहु भण्डारीले दुई’ दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । उसका लागि राजु रिजालले २७ बलमा ३७ रन जोडे । यस्तै, लोकेश बमले ३१, अभिषेक पालले २८ र कप्तान नारायण जोशीले १९ रन बनाए । घोडाघोडीका लागि धर्मराज जोशीले तीन तथा नरेन साउँदले दुई विकेट लिए । धनगढी एक खेलमा पराजित भइसकेको छ भने घोडाघोडीको यो पहिलो खेल हो ।यसअघि आइतबार नै भएको दिनको पहिलो खेलमा सीवाईसी अत्तरियाले दशरथ चन्द एकेडेमीलाई पराजित गरेको थियो ।

भीम सार्की र विवेक यादव चम्किएपछि सीवाईसी अत्तरियाले अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । अत्तरियाले दशरथ चन्द एकेडेमी बैतडीलाई २६ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । अत्तरियाले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको दशरथ चन्द एकेडेमीले २० ओभरमा ९ विकेट गुमाएर एक सय ३८ रन बनायो ।

उसका लागि हिमाल दुलियाले ३९, बसन्त खत्रीले २३ तथा सुमित बडालले १८ रन जोडे । अत्तरियाका लागि विवेक यादवले उत्कृष्ट बलिङ गरे । चार ओभरमा २५ रन दिएका यादवले चार विकेट लिए । साहब आलम र कमल गुप्ताले समान दुई–दुई तथा दिपेश कडेलले एक विकेट लिए ।
त्यसअघि फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । अत्तरियाका लागि भीम सार्कीले ७० रनको अविजित पारी खेले । उनले ३३ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । यस्तै तृतराज दासले ३०, शंकर रानाले २५ रन जोड्दा विवेक यादव १७ बलमा २५ रनमा अविजित रहे । बैतडीका अमर रौतेलाले दुई तथा रूपेश सिंहले १ विकेट लिए । खेलका म्यान अफ द म्याच अत्तरियाका विवेक यादव भए ।

प्रतियोगिताअन्तर्गत सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा फेण्ड्स क्लब डडेल्धुरा र बोष्टन क्रिकेट झापा प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा सीवाईसी अत्तरिया र क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं प्रतिस्पर्धा गर्नेछन् ।नेपाल क्रिकेट संघको क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउनेछन् । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २१ गते सोमबार