शवदाह गृहनजिकै मन्दिर निर्माण हुनुपर्ने माग



कोहलपुर (बाँके) :कोहलपुर–११स्थित डुडुवा र रोहिणी खोलाको संगमस्थलमा निर्माणाधिन शवदाह गृह नजिकै मन्दिर निर्माण हुनुपर्ने स्थानीयले माग गरेका छन् । कोहलपुरमा पहिलोपटक निर्माण भइरहेको शवदाह गृह नजिकै मन्दिर निर्माण हुनुपर्ने स्थानीयले माग गरेका हुन् । हाल शवदाह गृह निर्माण भइरहेको क्षेत्रमा लामो समयदेखि शव गाड्ने गरिएको छ ।

निर्माणको लगभग अधिकांश काम सम्पन्न भइसकेको छ । तर शवदाह गृह निर्माण गर्दा आफूहरूलाई असहज हुने स्थानीयले गुनासो गरेका छन् । हाल शवदाह गृह निर्माण भइरहेको स्थल नजिकै दुबैतर्फ मानव बस्ती रहेको छ । निर्माणधिन स्थलको बीचमा खोला छ । त्यसको पारीपट्टी वडा नम्बर १२ स्थित बस्ती पर्छ । त्यसको वारीपट्टी भने वडा नम्बर ११ को बस्ती रहेको छ । सोही क्षेत्रमा वडा नम्बर १३ स्थित सिम्री बस्तीमा जाने मुख्य माटोसमेत रहेको छ । त्यस क्षेत्रको नजिकै कोहलपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालासमेत रहेको छ ।

उक्त क्षेत्रमा लामो समयदेखि नागरिकहरू बसोबास गर्दै आएका छन् । शवदाह गृह निर्माण भएपनि दैनिक शव अन्त्यष्टि हुने भएकाले विशेषगरी बालबालिकाहरूलाई नराम्रो असर पर्ने उनीहरूको भनाइ छ । अहिलेपनि सीमित रूपमा शवहरू गाड्ने र जलाउने गरिएको भएपनि शवदाह निर्माण भइसकेपछि दैनिक जसो शव अन्त्यष्टि गर्दा आसपासका क्षेत्रमा नकारात्मक असर पर्ने उनीहरूको दाबी रहेको छ ।

शुक्रबार शवदाह गृह स्थलमा भेटिएकी स्थानीय सर्मिला राना भन्छिन्, ‘मुखै अगाडी घाट बनिरहेको छ । घरै अगाडि हुने भयो । हामीलाई नमज्जा लागेको छ ।’ दैनिक रूपमा लास आउँदा मन खिन्न हुने उनको भनाइ थियो । दैनिक जसो घरै अगाडि लास आउँदा आफूहरूलाई नरमाइलो लाग्ने लासहरू आउने भएका कारण आफूहरू खुसी नभएको उनले बताइन् । ‘विकास हुनुु व्यवस्थित हुनुु राम्रै हो । तर हिजो दुई ठाउँका लास आउँथे । अब चार ठाउँका आउने भए । गाउँलाई समस्या हुने भयो’ मिसन टुडेसँग कुराकानी गर्दै उनले भनिन् ।

उनीहरूको घर भने शवदाह गृहको नजिकै पर्छ । उठ्दा खेरी पनि त्यही देखिने भयो सुत्दासमेत त्यही देखिने भयो । त्यसैले आफूहरूको लागि शवदाह गृह निर्माण हुनु उपयुक्त नभएको स्थानीय राना बताउँछिन् ।

अर्की स्थानीय बिजकली बुढाले नजिकै शवदाह गृह हुँदा दिनमा मात्र नभइ रातिको समयमा समेत डर हुने बताइन् । उनका अनुसार बिहान उठेर घर बाहिर देखिने त्यही ठाउँ हो । उनले भनिन्, ‘हाम्रै घर अगाडि लास आउँछन् । केटाकेटी तर्सिन्छन् । राति बाहिर आएपनि झलक्कै देखिने ठाउँ यहीँ हो ।’
उनीहरूले आफूहरूको विश्वासको लागि स्थानीय सरकारले मन्दिर निर्माण गरिदिनुपर्ने माग गरेका हुन् ।

मन्दिर निर्माण गर्दा आफूहरूलाई सजिलो हुने उनीहरू विश्वास छ । मन्दिर निर्माण गरिदिने कुरा उनीहरूले निर्माण उपभोक्ता समितिलाई समेत राखेका छन् ।
‘अब शवदाह गृह अन्त नसार्ने हो भने हाम्रो माग पूरा गरिदिनुपर्छ । हाम्रो लागि एउटा मन्दिर बनाइदिनुपर्छ । मन्दिर नभए त सुरक्षित हुँदैन । नत्र भोलि ज्वालामुखी उठ्छ यहाँ । मसान खोला हो । केही सुरक्षा भएको भए हुने थियो’ स्थानीय प्रमिला बिष्टले भनिन् । आफूहरूको चाहना मन्दिर निर्माण हुनुपर्ने रहेको उनको भनाइ थियो ।

यता, शवदाह गृह निर्माण उपभोक्ता समिति संयोजक चक्रबहादुर अधिकारी कोहलपुर नगरपालिकाले धेरै ठाउँ हेरेर यही क्षेत्रमा उपयुक्त ठानेर शवदाह गृह निर्माण गर्न लागेको बताउँछन् । उनका अनुसार कोहलपुरमा पहिलोपटक निर्माण हुन लागेको शवदाह गृह उपयुक्त क्षेत्रमै बन्न लागेको हो ।
‘शवदाह गृह निर्माणको धेरै विरोध आयो । अस्ती अदालतमा मुद्धासमेत परेको थियो । अहिले स्थानीयहरूले पनि आफ्ना माग राखेका छन् । उनीहरूको मागको विषयमा हामी जानकार छौँ’ संयोजक अधिकारीले भने ।

संयोजक अधिकारीले शवदाह गृहमा मेसिन जडान हुने र धुवाँ बाहिर फाल्नको लागि एकसय मिटर लामो चिम्नी निर्माण गरिने बताए । यसअघि शवदाह गृह निर्माण बन्द गर्नुपर्ने मागसहित स्थानीय भूमबहादुर भण्डारीले अदालतमा मुद्धा दायर गरेका थिए ।
अत्याधुनिक सेवासहितको आधुनिक शवदाह गृह निर्माण कार्य भइरहेको उनको भनाइ थियो । उनका अनुसार शवदाह गृह निर्माणको ८० प्रतिशत भन्दा धेरै काम सम्पन्न भइसकेको छ । शवदाह गृह निर्माणका लागि कुल १ करोड २५ लाख लागत लाग्ने अनुमान गरिएको छ । शवदाह गृह निर्माणका लागि विभिन्न निकायबाट सहयोग प्राप्त भइरहेको छ ।

हालसम्म ८७ लाख रूपैयाँ शवदाह गृह निर्माणका लागि संकलन भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष अधिकारीले जानकारी दिएका छन् । शवदाह गृह निर्माणका लागि कोहलपुर नगरपालिकाले १५ लाख रूपैयाँ छुट्याएको छ । कोहलपुर नगर विकास समितिबाट ५० लाख रूपैयाँ ऋण लिइएको छ । अत्याधुनिक सुविधासहितको शवदाह गृह निर्माणका लागि गत असोज महिनामा कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले शिलान्यास गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २० गते आइतबार