नेपाल एपीएफ स्कुलको पाँचौ स्थापना तथा अभिभावक दिवस



कोहलपुर (बाँके) : जिल्लाको कोहलपुर–२ स्थित नेपाल एपीएफ स्कुलको पाँचौ स्थापना तथा अभिभावक दिवस मनाइएको छ । बुधबार एक औपचारिक समारोहका बीच ‘मानव उत्कृष्टताका लागि शिक्षा’ भन्ने मुल नाराका साथ नेपाल एपीएफ स्कुलको पाँचौ स्थापना तथा अभिभावक दिवस मनाइएको हो ।
दिवस समारोहको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।

स्थापना दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले गुणस्तरीय शिक्षा र अनुशासित नागरिक उत्पादन गर्ने उद्देश्यले नेपाल एपिएफ स्कुल सञ्चालनमा रहेको बताए । दाहालका अनुसार अनुसार स्कुलको मुख्य ध्येय नै मानव उत्कृष्टताका लागि शिक्षा भन्ने रहेको छ ।
एपिएफले राष्ट्रको सुरक्षा मात्रै होइन शिक्षित नागरिक उत्पादन गरिरहेको उनको भनाइ थियो । उनले भने,‘एपीएफ आफ्नो कर्म दृढ छ । सोही अनुसार हामी अघि बढिरहेका छौ । आज यहाँको स्कुलको गतिविधि हेरे । विद्यार्थीहरूले रचनात्मक क्रियाकलाप प्रस्तुत गरेका छन् ।’

उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले बालबालिकाको पहिलो विश्वविद्यालय परिवार भएको बताए । नेपाल एपीएफ स्कुलको पाँचौ स्थापना तथा अभिभावक दिवस समारोहका विशेष अतिथिसमेत रहेका नगरप्रमुख आचार्यले बालबालिकालाई भविष्यमा कस्तो नागरिक बनाउने भन्ने कुरा शिक्षक भन्दा अभिभावकमा निर्भर रहेको बताए ।
कोहलपुरमा सञ्चालनमा रहेका संस्थागत र सामुदायिक विद्यालयमध्ये नेपाल एपीएफका स्कुल उत्कृष्ट रहेको नगर प्रमुख आचार्यको भनाइ छ । ‘आधारभुततर्फको परिक्षा स्थानीय सरकारले लिन्छ । गत वर्षको वार्षिक परिक्षामा नेपाल एपीएफ स्कुल दोस्रो भएको थियो । आगामी दिनमा अझै उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौ’नगरप्रमुख आचार्यले भने ।
छोराछोरीको उज्वल भविष्य बनाउने पहिलो जिम्मा आमाबाबुको रहेकोले उनीहरूको आवश्यकता र चाहनालाई ध्यान दिन आग्रह गरे । अभिभावकको सकारात्मक अभिभावकत्व र शिक्षकको शिक्षाले नै विद्यार्थीहरूको भविष्य निर्धारण गर्ने आचार्यको भनाइ छ । शिक्षा मात्रै नभएर अतिरिक्त क्रियाकलापलाई पनि ध्यान दिएका विद्यार्थीहरूको बहुआयामिक विकास हुने उनले बताए ।
नेपाल एपीएफ स्कुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक गंगाराम श्रेष्ठले स्कुलले वर्षभरी सञ्चालन गरेका गतिविधि,वार्षिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण र सांस्कृतिक क्रियाकलाप सञ्चालन गरिएको बताए ।
उक्त अवसरमा शिक्षक बन्दना,थारू गीत,स्वदेश गान,मारूनी,सेलो अन्य साँस्कृतिक प्रस्तुति देखाइएको थियो । साथै वार्षिक परिक्षामा प्रथम,द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीहरूलाई मेडलसहित पुरस्कार प्रदान गरिएको नेपाल एपीएफ स्कुलले जनाएको छ । पाँचौ स्थापना तथा अभिभावक दिवस समारोहमा अभिभावक,सरोकारवाला निकाय तथा सुरक्षाकर्मीहरूको सहभागीता रहेको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १७ गते बिहीबार