खो खो विश्वकपको नेपाल बन्यो उपविजेता



नेपालको तर्फबाट खो खो विश्वकपमा १५ जना महिला र १५ जना पुरुष खेलाडीले सहभागिता जनाएका थिए । जसमा १४ जना लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्थे । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै खेलाडी बर्दियाको ठाकुरबाबा नगरपालिकाका बासिन्दा हुन् । यसमा अधिकांश खेलाडीले नेपाली सेनाबाट प्रतिनिधित्व गरेका छन् ।

कोहलपुर ।

ऐतिहासिक रेकर्ड कायम गर्दै प्रथम खो खो विश्वकपमा नेपाली टोली उपविजेता बनेको छ । फाइनल प्रवेश गरेका महिला र पुरुष दुवै टोली आइतरबार आयोजक भारतसँग भएको प्रतिस्पर्धामा उपविजेता बनेका छन् ।

पहिलोपटक भारतको नयाँदिल्लीमा भएको खो खो विश्वकपमा नेपालका महिला तथा पुरुष दुवै टोली भारतसँग फाइनल प्रतिस्पर्धामा पुगेका थिए । तर दुवै टोली फाइनलमा भारतसँग पराजित भएपछि उपविजेतामा चित्त बुझाउन बाध्य भएका हुन् ।

यही पुस २९ देखि माघ ६ गतेसम्म सञ्चालन भएको प्रथम खो खो विश्वकपमा महिला र पुरुष दुवै टोली सेमिफाइनल चरण पार गर्दै फाइनल प्रवेश गरेका थिए । विश्वकपमा फाइनल प्रवेश गर्नु नै खेल क्षेत्रमा नेपालले हासिल गरेको ऐतिहासिक उपलब्धि हो ।

नेपालको तर्फबाट खो खो विश्वकपमा १५ जना महिला र १५ जना पुरुष खेलाडीले सहभागिता जनाएका थिए । जसमा १४ जना लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्थे । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै खेलाडी बर्दियाको ठाकुरबाबा नगरपालिकाका भएको नेपाल खो खो संघका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर शाहीले जानकारी दिए । सुदूरपश्चिम प्रदेशबाट १३ जना, बागमती प्रदेशबाट २ जना र कर्णाली प्रदेशबाट १ जनाले विश्वकपमा सहभागिता जनाएका थिए ।

१३औँ दक्षिण एसियाली खो खो प्रतियोगितामा नेपालले रजत पदक प्राप्त गरेको थियो । ‘फाइनलमा पनि हाम्रा खेलाडीले राम्रो खेल प्रदर्शन गर्छन् भन्ने हामीलाई पूर्ण विश्वास थियो,’ वरिष्ठ उपाध्यक्ष शाहीले भने, ‘खेलाडीहरूले अपेक्षाअनुसार नै नतिजा ल्याएका छन् । हामी अत्यन्तै खुसी छौँ ।’ उनले खो खो खेलकै माध्यमले विश्वको खेल क्षेत्रमा नेपालले पहिचान बनाउन सकेकोमा खुसी व्यक्त गरे ।

नेपाली खो खो टोलीले महत्वपूर्ण स्थान हासिल गरेपछि नेपालमा त्यसको चौतर्फी वाहवाही भइरहेको छ । खो खो खेलकै माध्यमले नेपालले विश्व इतिहास रचेको छ । कुनै पनि खेलमा नेपालले विश्वकपको फाइनल यात्रा गरेको यो पहिलो अवसर हो ।

ठाकुरबाबामा खुसियाली

खो खो टोली फाइनल स्पर्धामा पुगेर उपविजेता बनेपछि त्यसको चौतर्फी प्रशंसा भइरहेको छ । सबैभन्दा बढी खुसियाली बर्दियाको ठाकुरबाबा नगरपालिकामा छाएको छ । किनकि विश्वकपमा भाग लिने ३० मध्ये १४ खेलाडी ठाकुरबाबाबाटै प्रतिनिधित्व गर्छन् । यो उपलब्धिसँगै ठाकुरबाबा नगरपालिकामा खुसियाली छाएको नगर प्रमुख तिलकराम लम्सालले बताए ।

विश्वकपको सुरुवातदेखि नै ठाकुरबाबा नगरपालिकाले यसको प्रत्यक्ष प्रसारण समेत गरेको थियो । आफ्नै गाउँका खेलाडीहरूले विश्वकप खेलिरहेको खेल ठाकुरबाबाका स्थानीयले प्रत्यक्ष हेर्न पाएका थिए । ‘भुरीगाउँमा एउटा ठूलो बोर्ड राखेर प्रोजेक्टरमार्फत हामीले खेलको लाइभ प्रसारण गरेका थियौँ,’ ठाकुरबाबा नगरपालिकाका प्रमुख लम्सालले भने, ‘खेलाडीका अभिभावकसँगै हामी सबै बसेर विश्वकप पनि हे¥यौँ ।’ खेलमा नेपालले राम्रो प्रदर्शन गरेकोमा उनले खुसी व्यक्त गर्दै खेलाडीलाई धन्यवाद दिए ।

खेल अवधिमै नगरपालिकाले खेलाडीका अभिभावकहरूलाई सम्मानसमेत गरेको उनले जानकारी दिए । खेल क्षेत्रको विकासका लागि नगरपालिका निरन्तर प्रयत्नशील रहेको र खेलाडीहरूलाई प्रोत्साहित गर्ने काम गरिरहेको उनले बताए । बाँके र बर्दियामा यो खेलको सुरुवात र विकास गर्ने श्रेय कोहलपुरका छत्रबहादुर शाहीलाई जान्छ । उनले ठाकुरबाबामा अध्यापन गर्ने सन्दर्भमा खो खो खेलको सुरुवात गराएका थिए ।

त्यसैका आधारमा खेलाडीहरूले नेपाली सेनामा जागिर पनि खाए र खेललाई अगाडि बढाउने अवसर पाए । विश्वकपमा अधिकांश खेलाडी ठाकुरबाबाको सोही गाउँबाट हुनु पनि यसैको एक प्रमुख कारण हो । खो खोको राष्ट्रिय टोलीमा पनि ठाकुरबाबाकै खेलाडीको बाहुल्यता छ ।

यी हुन् विश्वकप खेल्ने नेपाली खेलाडी

नेपालमा मात्रै होइन, विश्वमै यो खेल त्यति चर्चामा छैन । प्रतियोगितात्मक रूपमा यो खेल खेल्न थालेको पनि त्यति धेरै भएको छैन । दक्षिण भारतबाट विकास भएको यो खेल हाल विश्वका प्रायः देशहरूमा खेलिने वरिष्ठ उपाध्यक्ष शाहीले बताए । यसअघि सार्कस्तरीय प्रतिस्पर्धा भए पनि यो खेलको विश्वस्तरीय प्रतिपस्पर्धा पहिलो पटक भएको हो ।

पहिलो विश्वकपमा नेपाल, भारत, भुटान, बंगलादेश, इरान, ब्राजिल, दक्षिण अफ्रिकालगायतका २३ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । नेपालबाट महिला र पुरुष गरी ३० जना खेलाडीले सहभागिता जनाएका थिए ।

विश्वकपमा सहभागिता जनाउने नेपाली खेलाडीहरूमा महिलातर्फ क्याप्टेन सरस्वती कडायतसहित मनमती धामी, पूजा ओड, आशा थारू, दीपा विक, निशा शाही, कर्माकुमारी शाही, कञ्चन चौधरी, पुनम थारु, सम्झना विक, दीपाकुमारी विक, खुश्बु राना, वर्षा पण्डित, गीता चौधरी र अनिशा गोले रहेका छन् ।

त्यसैगरी, पुरुषतर्फ क्याप्टेन हेमराज पनेरुसहित जनक चन्द, समीर चन्द, विश्वास चौधरी, सुरज पुजारा, रोहितकुमार बर्मा, यमन पुरी, वेदबहादुर वली, झलक विक, विकराल सिंह रत्गैया, विशाल थारू, राजन बल, जोगेन्द्र राना, भरत सारु र गणेश विश्वकर्मा रहेका छन् । जसमध्ये अधिकांश खेलाडी नेपाली सेनामा आबद्ध छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ७ गते सोमबार