सुर्खेत ।
कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ ।
अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमारस्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो । उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशमा अदुवाको माग धेरै छ । पहिला यहाँका किसानले उत्पादन गरेको अदुवाले बजार नपाउने समस्या थियो । कालिदमारस्थित अदुवा प्रशोधन उद्योगले अदुवा र बेसार प्रशोधन गर्न थालेपछि बजारको समस्या समाधान भएको हो ।
कर्णाली तथा लुम्बिनीमा उत्पादन हुने अदुवा अर्गानिक र गुणस्तरीय भएकाले पनि युरोपमा माग धेरै भएको उद्योगका प्रबन्ध निर्देशक सुलोचना श्रेष्ठले बताइन् । उनले भनिन्, ‘बिक्रीको समस्या छैन, हामीले विदेश निर्यात गर्न थालेका छौँ । किसानको उत्पादन हामी खरिद गर्छौँ, अब उत्पादन बढाउनेतर्फ चाहिँ लाग्नुपर्छ ।’
उद्योगमा बर्सेनि १ हजार ५ सय मेट्रिकटन अदुवा र बेसार प्रशोधन हुन्छ । १ हजार ४ सयभन्दा बढी अदुवा उत्पादक किसान उद्योगसँग जोडिएको कम्पनीले जनाएको छ । चालु आवमा ८ सय ५० रोपनीभन्दा बढी जमिनमा अदुवा लगाइएको तथ्याङ्क छ । २२ लाख किलो खरिद गरेर र २ सय ३० टन सुकेको अदुवा युरोप पठाउने लक्ष्य कम्पनीको छ ।
७ किलो आलो अदुवा सुकेपछि मात्र १ किलो सुकेको अदुवा बन्छ । कम्पनीमा १ सय ५० जना कामदार छन् । दैनिक १ सय २० जनाले काम गर्छन् । बेसार, अदुवा, अमिलोको बोक्रा, सिस्नु, दाल चिनीको पात प्रशोधन गरेर निर्यात गर्ने गरेको निर्देशक श्रेष्ठले बताए ।
डोटी, कैलाली, सुर्खेत, सल्यान र रुकुमलगायतका जिल्लामा अदुवा उत्पादन हुन्छन् । उद्योगका अनुसार सबैभन्दा बढी अदुवा उत्पादन सल्यानमा हुन्छ । सल्यानबाट एक सिजनमा १ हजार २ सय मेट्रिकटनसम्म अदुवा ल्याउने गरिएको छ । रुकुमबाट ८ सय र सुर्खेतबाट २ सय मेट्रिकटनसम्म अदुवा उद्योगमा ल्याउने गरिएको छ ।
उद्योगले सिस्नो र टिमुर पनि प्रशोधन गर्दै आएको छ । किसानबाट सिस्नो र टिमुर पनि खरिद गर्न थालेको छ । सिस्नो र टिमुरलाई सुकाएर पाउडर बनाइन्छ । त्यसलाई प्याकिङ गरेर निर्यात गर्ने गरिएको उद्योगले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्