इन्धन गाडीले गर्ने इन्धन खर्चको तुलनामा ईभीले गर्ने विद्युत्को खपत ८० प्रतिशतले कम हुने गरेको ईभी चालकहरूको भनाइ छ । नेपालगन्जबाट सुर्खेतसम्म पुग्दा करिब ४ हजार ५ सयको इन्धन खर्च हुने गरेकोमा ईभीमा करिब ७–८ सयको चार्जिङ शुल्क तिरे पुग्ने चालकहरू बताउँछन् ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँकेको नेपालगन्ज र कोहलपुरबाट पूर्वमा बुटवलसम्म, उत्तरमा सुर्खेतसम्म र पश्चिममा धनगढीसम्मको रुटमा चल्ने सार्वजनिक यातायातमा एक द्रुत परिवर्तन आइरहेको छ । त्यो हो, इन्धनबाट चल्ने गाडीहरू विस्थापित भएर त्यसको ठाउँ विद्युतीय गाडी(ईभी)ले लिँदै छन् । पश्चिम नेपालको यातायातको केन्द्रको रूपमा रहेको कोहलपुरमा सार्वजनिक सवारी साधनको आवागमनलाई नियाल्ने हो भने ईभीले इन्धन गाडीहरूलाई विस्थापित गरिरहेको प्रस्ट देख्न सकिन्छ ।
बर्दियाका यातायात व्यवसायी निरज दहितले नेपालगन्ज राजापुर रुटमा पहिले फोर्स गाडी सञ्चालन गर्थे । करिब ७ महिना पहिले उनले सोही सिट क्षमताको ईभी गाडी सञ्चालन गरिरहेका छन् । उनले इन्धन गाडीले खपत गर्ने डिजेलभन्दा ईभीले खपत गर्ने विद्युत्को मूल्य निकै कम पर्ने भएपछि आफूहरूले ईभी गाडी सञ्चालनमा ल्याएको बताए । ‘प्रायः सबैले नयाँ किन्दा ईभी नै किन्न थालेका छन् ।
त्यो देखेपछि अब भविष्य ईभी गाडीमै छ भन्ने लागेर यो गाडी किनियो,’ नेपालगन्ज बसपार्कस्थित चार्जिङ स्टेशनमा गाडी चार्ज गर्दै गरेको अवस्थामा भेटिएका निरजले भने । नमस्ते गोर्खाली यातायात प्रालिले छोटो दूरीमा चल्ने १० वटा ईभी गाडीहरू खरिद गरेपछि नेपालगन्ज बसपार्कमा चार्जिङ स्टेशन पनि सञ्चालनमा ल्याएको थियो । अहिले उक्त चार्जिङ स्टेशन सबैजसो ईभी सञ्चालकहरूले प्रयोग गरिरहेका छन् ।
नेपालगन्ज बसपार्कभित्रै दुईवटा चार्जिङ स्टेशन छन् भने बसपार्कनजिकै अर्काे चार्जिङ स्टेशन छ । तर पनि सबैजसो चार्जिङ स्टेशनमा गाडीहरू चार्जका लागि पालो कुरिरहेका भेटिन्छन् । इन्धन गाडीले गर्ने इन्धनको खर्चको तुलनामा ईभीले गर्ने विद्युत्को खपत ८० प्रतिशतले कम हुने गरेको ईभी चालकहरूको भनाइ छ । ‘नेपालगन्जबाट सुर्खेतसम्म पुग्दा करिब ४ हजार ५ सयको इन्धन खर्च हुने गरेकोमा ईभीमा करिब ७–८ सयको चार्जिङ शुल्क तिरे पुग्छ,’ चालक टीकाराम रावलले भने ।
यातायात व्यवसायीहरूका अनुसार नेपालगन्जबाट छुट्ने साढे दुई सयभन्दा बढी सार्वजनिक सवारी बोक्ने गाडीहरू विद्युतीय छन् । यो सङ्ख्या दिनदिनै बढिरहेको छ । नेपालगन्ज धनगढी रुटमा गाडी चलाउँदै आएका चालक कैलाश शाह धनगढीबाट तराईको रुटमा चल्ने अधिकांश गाडीहरू पनि विद्युतीय गाडीहरू भइसकेको बताउँछन् ।
सिजीको ईभी गाडीहरूको राप्ती र भेरी क्षेत्रको आधिकारिक बिक्रेता पानस ईभी ट्रेडिङ कम्पनी प्रालि नेपालगन्जका सञ्चालक ज्ञानेन्द्र खनालका अनुसार दाङ र नेपालगन्जमा रहेका आउटलेटबाट हालसम्म दुई सयभन्दा बढी सार्वजनिक प्रयोजनका ईभी गाडीहरू बिक्री भइसकेका छन् । खनालले अन्य कम्पनीका सार्वजनिक प्रयोजनका ईभी गाडीहरू पनि करिब ६० भन्दा बढी बिक्री भइसकेको बताए ।
नेपालगन्ज र दाङबाट छुट्ने सानो आकारका सार्वजनिक गाडीमध्ये करिब ८० प्रतिशत हाराहारीमा विद्युतीय गाडीहरू भइसकेका उनले दाबी गरे । नयाँ गाडी किन्ने व्यवसायीहरूको रोजाइमा अहिले छोटो दूरीका लागि ईभी नै पर्ने गरेको उनले बताए ।
नेपालगन्जबाट पूर्व, पश्चिम र उत्तरको रुटमा अहिले चार्जिङ स्टेशनको सङ्ख्या पनि निरन्तर वृद्धि भइरहेको पाइएको छ । सिजीले मात्रै नेपालगन्ज, कोहलपुर, राजापुर, सुर्खेत, सल्लीबजार, जाजरकोट, तुलसीपुर, लमही, सल्यान, रुकुमलगायत स्थानमा चार्जिङ स्टेशन स्थापना गरिसकेको खनालले बताए ।
राप्ती र भेरी क्षेत्रमा २६ ठाउँमा चार्जिङ स्टेशन रहेको उनले जानकारी दिए । यसबाहेक अन्य कम्पनीले पनि चार्जिङ स्टेशन सञ्चालनमा ल्याएका छन् । व्यक्तिगत लगानीमा व्यावसायिक हिसाबले पनि चार्जिङ स्टेशन सञ्चालनमा आउन थालेको पाइएको छ ।
हाल नेपालमा तीन सयभन्दा कम फास्ट चार्जिङ स्टेसन रहेका छन् । नेपाल विद्युत् प्राधिकरणले देशभर ६२ वटा फास्ट चार्जिङ स्टेसन बनाएको छ । पछिल्लो एक वर्षमा २० हजारभन्दा बढी ईभी गाडीहरू बिक्री भएको बिक्रेताहरू बताउँछन् । तर, ती गाडीहरूका लागि चाहिने चार्जिङ स्टेशन पर्याप्त नरहेको यातायात व्यवसायीहरूको भनाइ छ ।
चार्जिङ स्टेसन, मेकानिक्स र स्पेयरमा समस्या
नेपालगन्जबाट सुर्खेतको रुटमा कोहलपुरपछि वीरेन्द्रनगरमा मात्रै चार्जिङ स्टेशन छ । त्यसबीचमा चार्जिङ स्टेशन नहुँदा सुर्खेतमा चार्ज गर्नका लागि ईभी गाडीहरूको लाइन लाग्ने गरेको छ । ‘कहिलेकाहीँ त राति १ बजेसम्म पनि लाइन लागेर बस्नुपर्छ ।
छिन्चुमा पनि चार्जिङ स्टेशन भइदिएको भए सजिलो हुन्थ्यो,’ चालक टीकाराम रावलले भने । एकपटक चार्ज गर्न कम्तीमा एक घण्टा समय लाग्छ । एकपटक चार्ज गरेपछि कम्तिमा दुई सय ५० किलोमिटर गुडाउन सकिन्छ । एकैपटक धेरै गाडीहरूले चार्ज गर्न खोज्दा लाइन लाग्नुपर्ने अवस्था आउने गरेको छ । त्यसैमाथि विद्युतको गुणस्तर र अनियमित कटौतीले पनि ईभी चालक तथा व्यवसायीहरू प्रभावित भइरहेका छन् ।
अर्काेतिर, ईभी मर्मत गर्ने मेकानिक्सहरूको चरम अभाव रहेको चालकहरू बताउँछन् । मेकानिक्स कम हुँदा बाटोमा बिग्रिएमा समयमा मर्मत गर्न नसकिने, मेकानिक्सको पारिश्रमिक नै बढी पर्ने गरेको चालकहरू बताउँछन् । इन्धन गाडी मर्मत गर्ने मेकानिक्सले ईभी गाडी मर्मत गर्न सक्दैनन् ।
ईभी गाडी विद्युतीय उपकरणले चल्ने भएकाले कम्प्युटर र विद्युतको ज्ञान भएको र विशेष तालिमप्राप्त मेकानिक्स चाहिने ईभी बिक्रेता ज्ञानेन्द्र खनाल बताउँछन् । त्यसका लागि अहिले नयाँ पुस्तालाई अवसर पनि रहेको उनले बताए । ‘रुचि र क्षमता भएका युवाहरूले ईभी मेकानिक्सको काम सिके भने राम्रो अवसर रहेको छ,’ खनालले भने, ‘हामीले त्यसका लागि तालिम पनि सञ्चालन गर्दै आएका छौँ ।’
अर्काेतिर ईभीका स्पेयर पार्ट्स्हरू महँगो पर्ने गरेको चालकहरूले बताए । नेपालगन्जबाट धनगढीको रुटमा सञ्चालन हुने ईभी गाडीका चालक कैलाश शाहले इन्धन गाडीभन्दा कम सर्भिसिङ गर्नुपर्ने भए पनि स्पेयर पार्टस्हरू महँगो पर्ने गरेको बताए । यसका साथै ब्याट्रीको आयु सकिएपछि निम्तने समस्याबारे पनि यातायात व्यवसायीहरू चिन्तित रहेको पाइएको छ ।









प्रतिक्रिया दिनुहोस्