कैलाली ।
कैलालीमा वनका कर्मचारीले एक जना महिलाको टेम्पो भिरबाट खसालेको घटनामा दुई जनाविरूद्ध मुद्दा चलेको छ । प्रहरीले वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरूद्ध शान्तिविरूद्धको कसुरमा मुद्दा चलाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार पक्राउ गरिएका वनका १२ जना कर्मचारीमध्ये दुई जनाविरूद्ध मुद्दा दर्ता गरिएको हो ।
बाँकी १० जनालाई रिहा गरिएको उनले जानकारी दिए । पीडितको जाहेरीका आधारमा दुई जनाविरूद्ध मुद्दा चलाइएको उनले बताए । साथै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले यस घटनाका विषयमा पीडित पक्ष, स्थानीय जनप्रतिनिधि, वनका पदाधिकारी लगायतसँग छलफल भइरहेको बताए । सरोकारवालाहरूका बीच जिल्ला प्रशासन कार्यालयमा आइतबार दिनभर छलफल भएको थियो भने सोही दिन प्रहरीले १२ जना वनका कर्मचारीलाई नियन्त्रणमा लिएको थियो ।
यो घटना छानबिन गर्न भन्दै सुदूरपश्चिम सरकारले समिति समेत गठन गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हो । मन्त्रीस्तरीय निर्णयबाट गठित समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।
समितिको सदस्यमा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी र वन तथा वातावरण मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा छन् । समितिले आफ्नो काम थालेको जनाएको छ । गत शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्गअन्तर्गत पर्ने बासपानीमा डिभिजन वन कार्यालयका कर्मचारीले गोदावरीकै स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो भिरबाट धकेलेर खसालेका थिए ।
धामीले आफ्नो घर नजिकै भीमदत्त राजमार्गको गाइमारे डाँडाको सडक किनारमा टेम्पो रोकेर त्यसमै पानी, चाउचाउ, बिस्कुट, अण्डालगायत बिक्री गर्दै आएकी थिइन् । सडक किनारमा बसेर वन क्षेत्र अतिक्रमण गरी व्यापार गर्न नपाइने भन्दै वनका कर्मचारीले धामीको टेम्पो भिरबाट खसालिदिएका थिए । उक्त घटनाको सामाजिक सञ्जालहरूमा आलोचना समेत भएको थियो । त्यसपछि प्रहरीले टेम्पो धनी महिलासँग सोधपुछ पनि गरेको थियो ।
वनका कर्मचारीले टेम्पो भिरबाट धकेल्नुअघि त्यसमा रहेका सामान भने निकालेका थिए । यस घटनामा डिभिजन वन कार्यालय धनगढी, कैलालीका प्रमुख रामविचारी ठाकुरसहित २० जना कर्मचारीले आइतबार बिहान संयुक्त रूपमा हस्ताक्षर गरी एउटा वक्तव्य प्रकाशित गर्दै बचाउ गरेका थिए । प्रचार गरिएजसरी टेम्पो भिरबाट जानाजान नखसालिएको, बरू अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण सञ्चालनमा नरहेको तथा गुड्न नसक्ने कबाड अवस्थाको टेम्पो भिरबाट खस्न पुगेको विज्ञप्तिमा उल्लेख गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्