काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशनको उद्घाटन चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा गर्ने भएको छ । महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बढ्दो गर्मीलाई ध्यानमा राखेर रत्ननगरमा गर्ने भनिएको उद्घाटन त्यहाँबाट सारेर भरतपुरको प्रहरी कार्यालयसँगै रहेको गेष्टहाउस चौरमा गर्न लागिएको हो । बन्दसत्र भने भरतपुरमै रहेको नेपाल उद्योग संघको प्रदर्शनी केन्द्रमा गर्ने केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए ।
‘महाधिवेशनका प्रतिनिधिहरूले पहिलो प्रश्न नै गर्मी कत्तिको छ भनेर प्रश्न गर्नुहुन्छ । त्यसकारण हामीले उपयुक्त स्थान छनोट गरेका छौँ । उद्घाटन प्रहरी कार्यालयसँगै गेष्टहाउस चौरमा गर्ने तयारी छ । आवश्यक प¥यो भने भित्री ठाउँमा पनि प्रबन्ध गर्न सकिनेछ,’ उनले भने । गेष्टहाउस चौरमा २५ देखि ३० हजार मानिस अट्न सक्ने अनुमान छ । रास्वपाले यसपटक महाधिवेशनकै लागि भनेर गाडी भाडामा लिएर सहभागी ल्याउने तयारी गरेको छैन ।
समर्थक, शुभेच्छु स्वस्फूर्त आउनेछन् । त्यस्तै महाधिवेशन अवधिभर प्रतिनिधिहरूका लागि खाना, खाजाको प्रबन्ध गरिएको वासका लागि होटलहरूसँग सहजीकरण भइरहेको छ । होटलवालाहरूले दरभाउ उपलब्ध गराएका छन् । त्यसका आधारमा रोष्टर तयार पारेर प्रतिनिधि, सहभागीहरूलाई दिइने र होटल खर्च भने प्रतिनिधि स्वयम्ले नै व्यहोनुपर्ने गरी प्रबन्ध गरिएको केन्द्रीय सदस्य गौतमले बताए ।
रास्वपाको पहिलो महाधिवेशन यही असार ७, ८, ९ गते हुँदैछ । उद्घाटन ७ गते हुनेछ । महाधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुनेछन् । पर्यवेक्षक र स्वयमसेवक समेत गरेर चार हजार पुग्ने अनुमान छ । महाधिवेशनको तयारी तीव्र पारिएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्