
शेरबहादुर ऐर । कैलाली ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल मंगलबार बिहान धनगढी पुगे । धनगढीमा उनी गेटा मेडिकल कलेजको निरीक्षणदेखि कार्यकर्ता भेटघाट तथा सरकारी कार्यक्रमहरूमा सहभागी भए ।
बिहान ८ बजे धनगढी विमानस्थल पुगेका मन्त्री पौडेलले निर्माणाधीन अवस्थामा रहेको गेटा मेडिकल कलेजको निरीक्षण गरे । सोलगत्तै नेपाली कांग्रेस कैलालीले आयोजना गरेको कार्यकर्ता भेटघाटमा सम्बोधन गर्न पुगेका मन्त्री पौडेल त्यसपछि जनसङ्ख्या नीतिबारे राय सुझाव कार्यक्रममा सहभागी भएका थिए ।
मन्त्री पौडेलले सेती प्रादेशिक अस्पतालमा सिकलसेलसम्बन्धी उपचार वार्ड निर्माण गर्न निर्देशन दिएका थिए । मन्त्री पौडेल नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भई मंगलबार नै डडेल्धुरातिर लागेका छन् ।
युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले सरकारले सकेसम्म चालू आर्थिक वर्षभित्रै गेटामा ३ सय शय्याको अस्पतालसहित एमबीबीएस पढाइ सुरु गर्ने गरी तयारी गरिरहेको बताएका छन् । मन्त्री पौडेलले गेटामा ३ सय शय्याको अस्पताल तीन वर्ष नचलेको भए पनि विशिष्ट अवस्थाका कारण चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाउन सक्ने निर्णय गर्न सक्ने बताए ।
‘६ वटा प्रदेशमा एमबीबीएसको पढाइ भइसकेको छ । यो एउटा प्रदेश मात्रै बाँकी हो । त्यसैले यो अवस्थाका कारण ३ सय बेड ३ वर्ष नचले पनि विशिष्ट अवस्थाका कारणले गेटामा अहिले नै एमबीबीएस पढाइ गरिएको चिकित्सा शिक्षा आयोगले निर्णय गर्न सक्छ,’ उनले भने, ‘यहाँ विशिष्ट अवस्था भएका कारणले ३ सय बेडको अस्पताल ३ वर्ष चलिरहनु पर्दैन ।’ उनले चिकित्सा शिक्षा आयोगबाट निर्णय गरेर यही असारमा एमबीबीएस भर्ना गर्नुपर्छ भनेर आफू लागेको बताए ।
आगामी असारसम्म ३ सय शय्याको अस्पताल सञ्चालन गर्ने लक्ष्य राखेर ओएनएम गरिएको जानकारीसमेत दिए । ३ सय शय्याको अस्पताल सञ्चालनका लागि ६०/६५ करोड लाग्ने भएकाले त्यो रकम जुटाउन सक्ने अवस्था भने नभएको बताए । ‘हाम्रो टार्गेट असारसम्म ३ सय बेडको हो । त्यो सक्दै सकिएन भने १ बेडको त जसरी पनि बनाउँछौँ ।’
उनले अस्पताल सञ्चालन र एमबीबीएसको पढाइ सञ्चालन गर्दैमा विश्वविद्यालय बनाउने काम नरोकिने बताए । ‘अहिले विश्वविद्यालय बनेपछि विश्वविद्यालयले नै अस्पताल, एमबीबीएस पढाइ सुरु गरिहाल्छ भन्ने कुरा पनि सुनिन्छ,’ उनले भने, ‘पहिला जे हुन्छ त्यो गर्दै जाउँ, पहिला अस्पताल चलाउन मिल्छ, पहिला एमबीबीएस कार्यक्रम सञ्चालन गर्न मिल्छ । त्यही चलेको अस्पताल र एमबीबीएस कार्यक्रममा विश्वविद्यालयभित्र राख्न मिल्छ ।’
उनले स्वास्थ्य मन्त्रालयबाट अस्पताल, एमबीबीएस कार्यक्रम सञ्चालन गरेर शिक्षा मन्त्रालयलाई हस्तान्तरण गर्न आफूहरू तयार रहेको बताए ।
काठमाडौँ फर्केपछि तत्काल १०–१२ जना स्कलरसिपका डाक्टर पठाउने उनले बताए । ‘नियमावली परिवर्तन गर्नुपर्छ भने पनि नियमावली परिवर्तन गरेर हामी डाक्टर पठाउँछौँ । १५–२० जना स्कलरसिपकै नर्स पनि पठाउँछौँ,’ उनले भने ‘त्यसपछि यहाँ २४ घण्टा इमर्जेन्सी सञ्चालन गर्नुहोला ।’ उनले इमर्जेन्सी सञ्चालन भएपछि मात्रै अस्पतालमा बिरामीको चाप बढ्ने बताए ।
स्वास्थ्य मन्त्री पौडेलले सरकारले नागरिकका पक्षमा रहेर काम गर्नुपर्ने बताए । धनगढीमा राष्ट्रिय जनसङ्ख्या नीति बनाउन तयार गरिएको मस्यौदामाथि छलफल कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारले जहिले पनि नागरिकका पक्षमा काम गर्नुपर्ने धारणा राखे ।
‘नेपाली कांग्रेसले अबको निर्वाचनमा सरकारमा बस्न पाइएन त्यसैले काम गर्न सकिएन भन्ने छुट छैन । सरकारमा गएर सुरुवात गरेका काम देखाउनुपर्छ । हामीले परिणाममुखी काम गरेको जनतालाई महसुस गराउनुछ । लिएका नीतिअनुरूप हुन नसकेका कामहरूलाई निरन्तरता दिनुपर्नेछ,’ उनले भने । उनले सरकारले आर्थिक स्रोत सुनिश्चित गरेरमात्र कार्यक्रम बनाउने बताए ।
‘नागरिकको स्वास्थ्यका लागि राज्यले दायित्व लिनुपर्छ । सरकारले नागरिकको स्वास्थ्यमा ५० प्रतिशत पनि दायित्व लिन सकेको छैन,’ मन्त्री पौडेलले भने, ‘सेवा प्रदान गर्ने कुरामा गुणस्तर पनि हुनुपर्छ । स्वास्थयको मापदण्ड सरकारी र नीजिमा एकैसरह बनाउनुपर्छ ।’
उनले स्वास्थ्य संस्था शय्याका आधारमा नभई सेवाका आधारमा वर्गीकरण गरिनुपर्ने बताए । सरकारले सातै प्रदेशमा क्यान्सर अस्पतालको सुविधा विस्तार गरिसकेको जानकारी दिँदै उनले मुटुको उपचार, जलन उपचारलगायत विशिष्टकृत सेवाहरू सबै प्रदेशमा पु¥याउने गरि काम गरिरहेको बताए ।









प्रतिक्रिया दिनुहोस्