थारू बस्तीमा माघीको चहलपहल



बाँके ।

माघी पर्व नजिकिएसँगै पश्चिम तराईका थारू बस्तीमा चहलपहल सुरु भएको छ । थारू समुदायको सबैभन्दा ठूलो पर्वका रूपमा मानिने माघीको रौनकता थारू बुस्तीमा छाएको हो । माघी पर्व आउनुभन्दा एक महिनाअघिदेखि विभिन्न तयारी गर्ने चलनअनुसार आजभोलि बस्तीका स्थानीयको व्यस्तता बढेको छ । थारू समुदायले नयाँ वर्षका रूपमा यो पर्व मनाउने गर्दछन् ।

यो पर्वका अवसरमा थारू समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा रहेको घोराही उपमहानगरपालिका–७ सौडियारका विपना चौधरीले जानकारी दिइन् । उनका अनुसार अहिले थारू बस्तीमा नाचगान र खानपिनको तयारी भइरहेको छ ।

‘माघीको तयारीका लागि वनबाट दाउरा, पात ल्याउने काम भइसक्यो । पातको दुनाटपरी गास्ने काम गरिरहेका छाँै । ढिक्री, रोटी, जाँड पकाउन धान, चामल कुटाउने-पिसाउने काम सुरु भएको छ । खानाका परिकार बनाउनका लागि एक महिनाअघिदेखि तयारी गर्नुपर्दछ’, उनले भनिन्, ‘ढिक्री, रोटी पकाउने, अनदीको विशेष झोल (जाँड) र भातलगायत विशेष मिठामिठा परिकारको तयारीमा जुटेका छौँ ।’

पुस महिनामा तयारी गरेर माघे सङ्क्रान्तिका दिनदेखि चार–पाँच दिनसम्म माघी पर्व मनाउने प्रचलन रहेको छ । थारू समुदायले माघमा आफ्नो मुखिया, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेष रूपमा लिइँदै आइएको घोराही–६ का मदन चौधरीले बताए ।

वर्षभरि गरेका कामको समीक्षा गर्ने र आगामी कामको योजना बनाउने पर्वका रूपमा माघीलाई लिने उनले जानकारी दिए । मदनले वर्षभरिको योजना माघमा बनाइने भएकाले पनि थारू समुदायका लागि यो पर्व महत्वपूर्ण रहेको बताए ।

थारू समुदायमा पुरुषहरू घर बाहिरको तयारीमा लागेका भन्दै महिलाहरू खानपिनको सामग्री जुटाउन लागेका छन् । दाउर, पात, चामल, पिठो, दुनाटपरीजस्ता सामग्री महिलाले तयारी गरिरहेका उनले जानकारी दिए ।

थारू समुदायका पुरुषहरूले माघीको अघिल्लो दिन आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी वा खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोगभेट गरी आर्शिवाद लिएर घरमा आएपछि खिचडी दान गर्ने प्रचलन थारू समुदायमा छ ।

खिचडीमा मासको दाल, चामल र नुन राखिएको हुन्छ । यो खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइने गरिन्छ । ‘छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुर (कोसेली)का रूपमा चेलीबेटीका घरमा पु¥याउने प्रचलन छ’, राप्ती सोनारी गाउँपालिका– ७ वडाध्यक्ष रामलखन थारूले भने ।

माघीको अघिल्लो दिन बिहानै गाउँघरका किसान जम्मा भई बङ्गुर, सुँगुर (थारू भाषामा जिता मार्ना) मारेर बराबरी बाँड्ने चलन छ । घोङ्गी, गँगटा र माछाको विशेष परिकार बनाएर खाने गरिन्छ । माघीका अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस १८ गते बिहीबार