कोहलपुर (बाँके) ।
कोहलपुरमा जारी ‘प्रथम कृषि पर्यटन प्रवद्र्धन व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सव २०८१’ मा सवारी शुल्क नलाग्ने भएको छ । नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर, बाँकेद्वारा आयोजित महोत्सवमा अब महोत्सव अवधिभर पार्किङ शुल्क नलाग्ने भएको हो ।
संघले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै महोत्सव अवधिभर कुनै पनि सवारी पार्किङको शुल्क नलाग्ने जनाएको छ । यसअघि आयोजकले महोत्सव अवलोकनका लागि आउने दर्शकहरूबाट मनोमानी रूपमा चर्को शुल्क असुलिरहेको थियो । शुल्क असुल्नकै लागि आयोजकबाट ठेक्का लिएर केही राजनीतिक दलसम्बद्ध युवाहरूले चर्काे शुल्क असुलिरहेका थिए ।
आयोजक र ठेकदार पक्षबीच भएको सहमतिविपरीत दोब्बर शुल्क असुलिरहेको विषयमा व्यापक विरोधसमेत भएको थियो । पुस ९ गतेबाट सञ्चालित महोत्सवमा यसअघि आयोजककै संलग्ननामा मनोमानी रूपमा पार्किङको शुल्क असुली भइरहेको थियो ।
चर्को शुल्क असुलीको विषयमा मिसन टुडे दैनिकले ११ पुसको अंकमा ‘मुख्य सडक कब्जा गरेर पार्किङ, शुल्कको नाममा ब्रम्हलुट’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएको दुई दिनमै आयोजक उक्त शुल्क हटाउन बाध्य भएको छ । समाचार प्रकाशित हुनुपूर्व ठेकेदार समूहले कार पार्किङको एक सय, मोटरसाइकल र स्कुटरको ५० रूपैयाँ र साइकलको समेत २५ रूपैयाँ शुल्क असुल्दै आएको थियो ।
शनिबार नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर, बाँकेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अब महोत्सव अवधिभर महोत्सवमा पाल्नुहुने पर्यटक, दर्शकका लागि पार्किङ शुल्क निःशुल्क गरिएको छ ।
आम नागरिकहरूमा यसै सूचनामार्फत जानकारी गराउन चाहन्छौँ ।’ महोत्सवका व्यवस्थापक अजय पुनमगरले पार्किङ शुल्कका विषयमा व्यापक विरोध आएपछि निःशुल्क गरिएको बताए । उनका अनुसार अब महोत्सव अवधिभर पार्किङबापत कुनै पनि शुल्क लाग्नेछैन ।









प्रतिक्रिया दिनुहोस्