महिला फुटबल विकासको खाँचो : मन्त्री चौधरी



बाँके ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालमा महिला फुटबलको उच्चतम विकासको खाँचो रहेको बताएका छन् ।

शुक्रबार नेपालगन्ज रंगशालामा रहेको लुम्बिनी कप महिला फुटबलको सचिवालय निरीक्षणका क्रममा उनले दक्ष खेलाडी उत्पादनका लागि लुम्बिनी कप महिला फुटबलले महत्वपूर्ण अवसर सिर्जना गर्नसक्ने विश्वास समेत व्यक्त गरे ।

मन्त्री चौधरीले लुम्बिनी कप महिला फुटबल शुरुवात हुनु राष्ट्रका लागि गौरवको विषय भएको बताउँदै उनले प्रतियोगितालाई निरन्तरता दिन पनि आग्रह गरेका थिए । लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव टिरन गौतमले लुम्बिनी कप महिला फुटबलले प्रदेशकै लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

उनले प्रतियोगितालाई सफल बनाउन लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्ले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

‘हामीले प्रतियोगितालाई दृष्टिगत गरेर नेपालगन्ज रंगशालाको मैदान व्यवस्थापनका लागि राष्ट्रिय खेलकुद परिषद्सँग बजेट माग गरेका छाँै’ सदस्य सचिव गौतमले भने ।

अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आगामी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगन्जमा आयोजना हुँदैछ ।

प्रतियोगितामा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका समेत गरी आठ टिम सहभागी हुने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । प्रतियोगिता पश्चिम नेपालकै गर्व गर्न लायक इभेन्ट बन्नुका साथै पर्यटन विकासमा समेत कोशेढुंगा सावित हुने उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस १३ गते शनिबार