‘मृत्यु श्रृंखला’को कारुणिक वियोगान्त



‘पार्किन्सन्सले श्रीमतीको निधन । क्यान्सरले लियो जेठा छोराको ज्यान । दुर्घटनाका कारण कान्छो छोराको मृत्यु ।’ यी कुनै कविले कल्पना गरेका कविताका शीर्षक होइनन् । सत्य घटना हुन्, एउटै परिवारमा घटेका । मान्छे जन्मिन्छ, एकपटक । मर्छ, एकपटक । जन्म र मृत्यु जीवनका शाश्वत सत्य हुन् । तर, कसैको नियति नै हुँदो रहेछ, बाँचेर पनि पटकपटक मरेतुल्य हुनुपर्ने ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

‘पार्किन्सन्सले श्रीमतीको निधन । क्यान्सरले लियो जेठा छोराको ज्यान । दुर्घटनाका कारण कान्छो छोराको मृत्यु ।’ यी कुनै कविले कल्पना गरेका कविताका शीर्षक होइनन् । सत्य घटना हुन्, एउटै परिवारमा घटेका । मान्छे जन्मिन्छ, एकपटक । मर्छ, एकपटक । जन्म र मृत्यु जीवनका शाश्वत सत्य हुन् । तर, कसैको नियति नै हुँदो रहेछ, बाँचेर पनि पटकपटक मरेतुल्य हुनुपर्ने ।

एकपछि अर्को सदस्यको मृत्यु । कसैको घरदेशमा । कसैको परदेशमा । एउटालाई रोग लागेर । अर्को दुर्घटनामा परेर । श्रीमती गुमाउँदाको दुःखान्त । सन्तानसँग बिछोडिदाँको वियोगान्त । एउटा परिवारमा घटेको यस्तो मृत्यु शृंखला । कतै काल्पनिक कथामा भेटिन्छ । कहीँ चलचित्रका कथामा ।

अपसोच, बर्दियाको एक परिवारले पछिल्ला तीन वर्षमा यस्तो कारुणिक वियोगान्त भोगेको छ । सुन्दा पनि अचम्म लाग्ने मृत्यु शृंखलाको वियोग भोगेकोे छ, बर्दियाको एक पंगेनी परिवारले । आजभन्दा तीन वर्ष अगाडिसम्म यो परिवार खुसीका साथ जीवनयापन गरिरहेको थियो ।

६ जनाको परिवारमा कतै दुःख र वियोगको नामो निसानासमेत थिएन । जेठा छोरा बुहारी अमेरिकामा । कान्छा छोरा र बुहारी आफ्नै देशमा । बुढेसकालमा सुखमय जीवनयापन गरिरहेका थिए, बर्दियाको बढैयाताल–५ राजापुरका मीनराज पंगेनीले । उनले सपनामा पनि सोचेका थिएनन्, पटकपटक जीवनमाथि सहनै नसक्ने ब्रजपात आइलाग्छ, भनेर ।

पंगेनीको परिवारमा विसं २०७९ सालदेखि सुरु भएको थियो, मृत्युको शृंखला । २०७९ सालमा मीनराजले श्रीमती निर्मला पंगेनीलाई गुमाए । उनकी श्रीमती लामो समयदेखि पार्किन्सन्सले थलिएकी थिइन् । पार्किन्सन्स मस्तिष्कसँग सम्बन्धित रोग हो । पत्नी वियोगको शोकमा थिए । यस वर्ष चार महिनाको अन्तरालमा ५६ वर्षीय मीनराजले दुई जना छोरा गुमाएका छन् ।

भदौ २१ गते उनका कान्छा छोरा विपीन पंगेनीको सवारी दुर्घटनामा परी निधन भएको थियो । तीजको दिन विपीन आफ्नै मोटरसाइकलमा नेपालगन्जबाट बर्दिया जाँदै थिए । विपीन नेपालगन्जस्थित एक गाडी कम्पनीमा काम गर्थे । कम्पनीको काम सकेर घर जाने क्रममा विपीन अस्ताएपछि मीनराजको परिवारलाई दोस्रोपटक बज्रपात परेको थियो । विपीनका श्रीमती र एक वर्षका छोरा छन् । विपीनकी श्रीमती कविता नाबालक छोरा र बूढा भएका ससुराको हेरचाह गरिरहेकी छन् ।

श्रीमती गुमाउँदाको शोक, कान्छो छोराको मृत्युले थिलथिलो भएका पंगेनी जेठा छोराको रोगका कारण झन् चिन्तित थिए । मीनराजले यही शुक्रबार क्यान्सर पीडित जेठा छोरा विवेक पंगेनीलाई पनि गुमाएका छन् । विवेक अमेरिकामा श्रीमती सिर्जना सुवेदीसँगै बसोबास गर्दै आएका थिए । जेठो छोराको निधनपछि उनी मर्माहत भएका छन् । छोराको अवस्था गम्भीर भएपछि उनी केही दिन अघि मात्रै अमेरिका पुगेका थिए । उनले छोराको मुख हेर्न पाए । तर, घर फर्काउन भने सकेनन् ।

विवेक २०७९ मा अमेरिका गएका थिए, अध्ययनको सिलसिलामा । पूर्ण छात्रवृत्तिमा भौतिक शास्त्रमा पीएचडीका लागि अमेरिका पुगे उनी पाँच महिनामै फर्किनुपरेको थिए । आमाको निधन भएपछि श्रीमती सिर्जनासँगै नेपाल आएका थिए उनी । विवेकलाई फेरि अमेरिका फर्किने क्रममा स्वास्थ्य जाँच गराउँदा चौथो स्टेजको ब्रेन ट्युमर भएको पुष्टि भएको थियो ।

उनी लगत्तै अमेरिका फर्किएर अस्पताल भर्ना भए । त्यहाँ पुगेर विवेको दुई वटा शल्याक्रिया गरियो । ७० प्रतिशत ट्युमर निकालिएको थियो । त्यसपछि उनको किमोथेरापी र रेडियसनमार्फत थप उपचार भइरहेको थियो । लामो समय विवेकलाई प्रयास गर्दासमेत कुनै पनि प्रयास सफल हुन सकेनन् । अन्ततः बर्दियाका विवेकले अमेरिकामा अन्तिम स्वास फेरे ।

विवेकको मृत्युपछि अमेरिकामा रहेका आफन्त मात्र होइन सिंगो बर्दिया र बढैयातालको मैनपोखर स्तब्ध भएको छ । श्रीमती, कान्छो छोरा र जेठो छोरा गुमाएपछि मीनराज असह्य पीडाको भारीले थिचिएका छन् । मीनराज तत्कालीन सोरहवा गाविसको अध्यक्ष हुन् । सामाजिक क्षेत्रमा लागेकाले उनले धेरैको ज्यान बचाए । सेवा गरे । तर उनको आफ्नै जीवन भने पीडैपीडाको भुमरीमा परेको छ ।

सिंगो बढैयाताल स्तब्ध

पंगेनी परिवारमा परेको बज्रपातप्रति सिंगो बढैयाताल गाउँपालिका स्तब्ध बनेको छ । एकपछि अर्को परिवारको सदस्य गुमाउँदै गएको उनको परिवारप्रति स्थानीय सरकारले सहानुभूति प्रकट गरेको हो । सोही वडाका वडाध्यक्ष तुलाराम चौधरी आफ्नो वडामा घटेको अकल्पनीय घटनाप्रति दुःख प्रकट गरे ।

घटनाका कारण व्यक्तिगत रूपमा आफू पनि मर्माहत भएको उनले सुनाए । मीनराज वडाको अभिभावक नै भएको भन्दै अभिभावकलाई चोट लाग्दा सिंगो वडालाई चोट लागेको उनको भनाइ छ । मीनराज सामाजिक व्यक्ति हुन् । उनी साविक गाविसको अध्यक्ष भइसकेका व्यक्ति हुन् । राजनीतिमा समेत सक्रिय उनको परिवारमा परेको बज्रपातको पीडामा शब्दमा व्यक्त गर्न नसकिने उनी बताउँछन् ।

मीनराज अमेरिकाबाट फर्किएपछि कविताको रोजगारी र नबालकको पढाइका लागि सहयोग गर्ने विषयमा सल्लाह गरिने उनले बताए । कविताको रोजगारीका लागि पहल गरिने गाउँपालिकाका अध्यक्षले समेत प्रतिबद्धता जनाएको वडाध्यक्ष चौधरीको भनाइ छ । ‘यो घटनाप्रति हामी निकै दुःखी छौँ । वडाको तर्फबाट उक्त परिवारप्रति सहानुभूति प्रकट गर्न चाहन्छु । घरमा तीन जनामात्रै हुनुहुन्छ । पालिका तथा वडा सरकारले उहाँहरूको व्यवस्थापनका लागि केही पहल गर्छ,’ मिसन टुडेसँग वडाअध्यक्ष चौधरीले भने ।

समर्पणकी प्रतिमूर्ति सिर्जना 

श्रीमान–श्रीमती भनेका एकै रथका दुई पाटा हुन् । विवेक र सिर्जना त्यही रथका दुई पाटा थिए । अब त्यही रथमध्येका एक विवेक सधैँका लागि अस्ताएका छन् । एक्लो भएकी छन्, सिर्जना । विवेकको मृत्युपछि सिर्जनाको समर्पणको चर्चा परिचर्चा भइरहेको छ । उनले विवेकका लागि सिंगो जीवन नै समर्पण गरेकी थिइन् । आदर्श प्रेमको वकालत गरेका थिए, विवेक र सिर्जनाले ।

उनीहरू प्रतिष्ठित व्यक्ति थिएनन् । सपनाको देशमा हजारौँ सपना बुनेर अमेरिका पुगेका एक भुइँमान्छेका जोडी मात्र थिए । जसै विवेक बिरामी भए । सिर्जनाले आफ्ना श्रीमानप्रति देखाएको सर्मपणले विश्वलाई पगाल्यो । उनीहरूको निस्वार्थ प्रेम, त्याग र समर्पणले उदाहरणीय जोडीको रूपमा स्थापित नै गरेको थियो । उनले क्यान्सरग्रस्त पतिलाई कहिल्यै हिम्मत हार्न दिइनन् ।

हौसला प्रदान गर्न कुनै कसर बाँकी राखिनन् । मायाको अभाव हुन नदिन हरसम्भव प्रयास गरिन् । पतिलाई स्नेहपूर्वक स्याहारसुसार गर्ने, हँसाउने, खेलाउने, घुमाउने गरिरहिन् । र, त्यसैमा उनले आफ्नो खुसी र आकांक्षाहरू पनि समाहित गरिन् ।

भनिन्छ, मान्छेको दुई पटक मृत्यु हुन्छ । एउटा मृत्यु, जो शारीरिक हुन्छ । दोस्रो मृत्यु, जुन स्मृतिमा हुन्छ । शारीरिक मृत्युलाई स्वीकार्नै परे पनि अक्सर मान्छे स्मृतिहरूमा बाँचिरहन चाहन्छन् । विवेक धेरै मानिसको स्मृतिमा बाँचिरहनेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस ८ गते सोमबार