सारंगीको धून लोप हुन लागेकोमा चिन्ता



‘मेरा छोरीले बजाउँदैनन्, मपछिको पुस्ताले सारंगी छुँदैनन्,’ लालबहादुरले भने । गाइनेको रूपमा हिँड्दा एकातिर संस्कृति संरक्षण अर्कोतिर रमाइलो गरी जीवन चलिरहने र देशका विभिन्न ठाउँ हेर्ने अवसर मिल्ने उनको अनुभव छ । उनी गीतकै माध्यमबाट आफ्ना भावना पनि व्यक्त गर्छन् ।

दाङ ।

टालेको झुत्रो झोला, हातमा सारंगी । त्यही सारंगी रेट्दै घरघरमा मिठो धुन सुनाउँदै हिँडेका सल्यान खलंगाका ५५ वर्षीय लालबहादुर गन्धर्व हालै यहाँको घोराही बजार आइपुगेका छन् ।

‘सारंगी रेटेर धुन बजाउँदै गीत गाउन थालेको ४० वर्षभन्दा धेरै भयो, सारंगी बजाउँदा आफू अझै जवान भएजस्तो लाग्छ, सारंगीको घुन निकालेपछि झन् जोशजाँगर बढेर आउँछ,’ उनी भन्छन् । सल्यान, दाङ, रोल्पा, रुकुम र काठमाडौँलगायतका सहरबस्तीमा पुगेर सारंगी बजाएर गीत गाउने गरेको उनले बताए ।

घरमा सानै उमेरदेखि बाउबाजेबाट सारंगी रेट्ने सीप सिकेका लालबहादुरले १५ वर्षको उमेरदेखि यही पेसा अपनाए । ‘हिजोआज कसैले राम्रो मानेर गीत सुन्न खोज्छन् त कसैले बाहिरबाट पठाउँछन्,’ उनले भने । जग्गा जमिन केही नभए पनि सारंगीको धुन र गीत गाएरै परिवारको जिविका चलाउँदै आएको उनको भनाइ छ ।

उनले सातवटी छोरीमध्ये पाँचको विवाह गराइसकेका छन् । दुई छोरी तुलसीपुर–१७ स्थित मावि दुधरासमा कक्षा ८ र ११ मा पढ्छन् । आफूले नपढे पनि छोरीलाई पढाउने सोचाइ रहेको उनले बताए । गीत गाएर दिनमा एक हजारदेखि तीन हजारसम्म कमाउने गर्छन् । समाजबाट लोप हुँदै गएको गन्धर्व जातिको पुरानो मौलिक संस्कृति धान्न गाउँगाउँमा पुग्ने गरेको उनी बताउँछन् ।

अहिलेसम्म घुमेको ठाउँमा रोल्पा सबैभन्दा राम्रो लागेको उनले स्मरण गरे । रोल्पामा गाइने आयो भने चाडवर्प आएजस्तो हुन्छ भनेर सिदा (चामल, दाल) दिने गरेको बताए । सारंगी बजाउन युवा पुस्ताले चासो नदिँदा गन्धर्व पेसा लोप हुने चिन्ता उनलाई छ । ‘मेरा छोरीले बजाउँदैनन्, मपछिको पुस्ताले सारंगी छुँदैनन्,’ उनले भने ।

गाइनेको रूपमा हिँड्दा एकातिर संस्कृति संरक्षण अर्कोतिर रमाइलो गरी जीवन चलिरहने र देशका विभिन्न ठाउँ हेर्ने अवसर मिल्ने उनको अनुभव छ । उनी गीतकै माध्यमबाट आफ्ना भावना पनि व्यक्त गर्छन् । पछिल्ला समय सारंगी रेटेर गाउँगाउँमा गीत गाउँदै हिँड्ने गन्धर्वको सङ्ख्या घट्दो छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ मंसिर ८ गते शनिबार