‘विश्वविद्यालय शिक्षालाई रोजगारमुखी बनाउने रणनीति’



सुर्खेत ।

संघीय शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालका विश्वविद्यालयहरूलाई समयसापेक्ष, प्रविधिमैत्री तथा रोजगारमुखी बनाउने दिशामा सरकार दृढतापूर्वक अघि बढिरहेको बताएका छन् । उच्च शिक्षालाई शैक्षिक प्रमाणपत्र प्राप्त गर्ने माध्यमका रूपमा सीमित नराखी उत्पादनशील जनशक्ति निर्माण, उद्यमशीलताको विकास तथा सामाजिक रूपान्तरणको आधारका रूपमा स्थापित गरिने उनको भनाइ छ ।

बुधबार मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह, १८औँ सिनेट बैठक तथा १६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालय शिक्षालाई श्रमबजारको वास्तविक मागसँग जोड्न पाठ्यक्रम परिमार्जन गरिने जानकारी दिए । ‘शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक बजेट, पूर्वाधार विकास तथा दक्ष जनशक्ति व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको छ,’ उनले भने, ‘विश्वविद्यालयबाट हासिल हुने शिक्षाले रोजगारी सिर्जना, उद्यमशीलताको प्रवद्र्धन तथा सामाजिक रूपान्तरणमा प्रत्यक्ष योगदान दिन सक्नुपर्छ ।’

मन्त्री पोखरेलले कर्णाली प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा जैविक स्रोतहरूको वैज्ञानिक अध्ययन–अनुसन्धानलाई विश्वविद्यालयले प्राथमिकतामा राख्नुपर्ने बताए । प्रदेशमा उपलब्ध जलस्रोत, वनसम्पदा, जडीबुटी, पर्यटन तथा सांस्कृतिक सम्पदाको गहन अनुसन्धानमार्फत स्थानीय विकास र आर्थिक समृद्धिको नयाँ आधार निर्माण गर्न सकिने उनको भनाइ छ । ‘विश्वविद्यालयहरू ज्ञान दिने संस्था मात्र नभई स्थानीय आवश्यकता र सम्भावनालाई पहिचान गरी समाधान खोज्ने अनुसन्धान केन्द्रका रूपमा विकसित हुनुपर्छ,’ उनले थपे, ‘कर्णालीजस्तो स्रोत–सम्पन्न तर विकासका दृष्टिले पछाडि परेको क्षेत्रको रूपान्तरणमा विश्वविद्यालयको भूमिका अझ महत्वपूर्ण रहन्छ ।’

मध्यपश्चिम विश्वविद्यालयलाई कर्णाली क्षेत्रको शैक्षिक गौरवका रूपमा चित्रण गर्दै मन्त्री पोखरेलले अनुसन्धानमूलक शिक्षा, खेलकुद, डिजिटल प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताए । उच्च शिक्षाको गुणस्तर सुधार, आधुनिक प्रविधिको प्रयोग विस्तार तथा अनुसन्धान संस्कृतिको विकासमा विश्वविद्यालयले निर्वाह गरेको भूमिकाको उनले प्रशंसा गरे । दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै उनले राष्ट्र निर्माणमा शिक्षाको भूमिका निर्णायक रहने उल्लेख गरे । विद्यार्थीले प्राप्त गरेको ज्ञान र सीप व्यक्तिगत सफलताका लागि मात्र नभइ समाज र राष्ट्रको समग्र विकासका लागि पनि उपयोगी हुने उनको तर्क छ ।

एकैदिन बैठक, दीक्षान्त र वार्षिकोत्सव 

मध्यपश्चिम विश्वविद्यालयले यस वर्ष १८औँ सिनेट बैठक, चौथो दीक्षान्त समारोह तथा १६औँ वार्षिकोत्सव एकैदिन आयोजना गरेको हो । विश्वविद्यालयका उपकुलपति डा. नारायणप्रसाद पौडेलका अनुसार यस वर्ष ग्रेस लिष्टमा रहेका कूल एक हजार ९२८ जना विद्यार्थी दीक्षित भएका छन् । दीक्षित विद्यार्थीमध्ये स्नातक तहका एक हजार २२२, स्नातकोत्तर तहका ६९४ तथा दर्शनाचार्य (पीएचडी) तहका १२ जना रहेका छन् ।

विश्वविद्यालयका सातवटा ग्राजुएट स्कुलअन्तर्गत अध्ययन पूरा गरेका यी विद्यार्थीहरूलाई औपचारिक रूपमा शैक्षिक उपाधि प्रदान गरिएको हो । कूल दीक्षित विद्यार्थीमध्ये ४५५ जनाले प्रत्यक्ष रूपमा दीक्षान्त समारोहमा सहभागी जनाएका थिए । चौथो दीक्षान्त समारोह तथा विश्वविद्यालयसभा–२०८३ का सञ्चार तथा प्रचारप्रसार उपसमिति संयोजक डा. विष्णुकुमार खड्काका अनुसार विश्वविद्यालय स्थापनाकालदेखि हालसम्म कूल ६ हजार ३७० जना विद्यार्थी विभिन्न तहबाट दीक्षित भएका छन् ।

उच्च शिक्षाको पहुँच विस्तार, अनुसन्धानमुखी अध्ययन तथा क्षेत्रीय विकासमा योगदान पु¥याउने लक्ष्यसहित अघि बढिरहेको उनले बताए । विश्वविद्यालयले पछिल्लो समय शैक्षिक गतिविधि विस्तारसँगै आफ्नो प्रभाव क्षेत्र पनि फराकिलो बनाउँदै गएको छ । समारोहको अध्यक्षता विश्वविद्यालयका सहकुलपति तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गरेका थिए । प्रमुख अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति एवं शिक्षाविद् केदारभक्त माथेमा सहभागी थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार ४ गते बिहीबार