नेपालगन्ज ।
नौबस्ता क्षेत्रीय कारागारमा रहेको नौबस्ता बालसुधार गृहबाट भागेका तीन जना बाल बिज्याँइकर्तालाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
कात्तिक २६ गते राति बैजनाथ गाउँपालिका–३ मा रहेको बालसुधार गृहबाट भागेका उनीहरू अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले बताए ।
भागेका बाल बिज्याइँकर्ताको खोजी भइरहेको उनले जानकारी दिए । बालसुधार गृहको सी ब्लका राखिएका बाँकेका सुनिल नेपाली, दाङका रेशम थापा र प्यूठानका गुमबहादुर नेपाली फरार छन् ।
बन्दीहरू भागेको विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले एक समिति पनि बनाएको जनाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालका अनुसार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, नेपाल प्रहरी, सशस्त्र प्रहरीका डीएसपी, राष्ट्रिय अनुसन्धानका अधिकृत र कारागारका प्रमुख सदस्य–सचिव रहनेगरी समिति गठन गरिएको छ । बन्दीहरू भागेकै दिन गठन गरिएको उक्त समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यभार दिइएको प्रजिअ रिजालले जानकारी दिए ।
यसैबीच, सुधार गृहको अनुगमन गर्न पुगेका लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवालले कैदीहरू भाग्नुका पछाडि शंकास्पद कारणहरू देखिएको बताएका छन् ।
उनले बन्दीहरूलाई भेट्ने भवनमाथि चढेर भागेको देखिएको र चारैतिर सशस्त्र प्रहरीको पहरा भए पनि कसरी बन्दीहरू भागे भन्ने विषयमा थप छानबिन केन्द्रित गर्न निर्देशन दिएको बताए । समितिले बुझाउने प्रतिवेदनपछि मन्त्रालयले पनि आवश्यक कारबाही अघि बढाउने उनले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्