अराजकता मच्चाउने मिडियालाई कारबाहीको चेतावनी



काठमाडौँ ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारबाहीको दायरा ल्याइने बताएका छन् । सामाजिक सद्भाव बिथोल्ने, जातीय विद्वेष फैलाउने गरी जानीजानी गलत सूचना सम्प्रेषण गर्ने केही मिडियालाई कानुनी कारबाही गरिएको उल्लेख गर्दै अध्यक्ष बस्नेतले यस्ता अन्य मिडियालाई पनि कारबाहीको दायरामा ल्याइने दृढता व्यक्त गरे ।

‘समाजमा अन्योल सिर्जना गरी प्रणालीमाथि धावा बोल्ने काम कहीँ कतैबाट भइरहेको हुन सक्छ । त्यस्ता गलत पात्र र प्रवृत्तिबाट मिडिया हमेशा जोगिनुपर्छ । काउन्सिलले केही मिडियालाई कारबाही गरिसकेको छ । बाँकी पनि छानबिन र कारबाहीको दायरामा आउनेछन्,’ उनले भने ।

नयाँ खुलेका अनलाइन सञ्चारमाध्यमका सम्पादक, सञ्चालकहरूलाई मंगलबार काउन्सिलमा राखिएको अभिमुखीकरण कक्षामा बोल्दै उनले पत्रकार आचारसंहिता उल्लंघन गर्नु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने भएकाले जिम्मेवारीपूर्ण ढंगले पत्रकारिता गर्न सबैलाई आग्रह गरे ।

‘केही मिडियाबाट एकपक्षीय भनाइ, पूर्वाग्रही अभिव्यक्ति, तथ्यहीन आरोप सुनियोजित ढंगले आइरहेका छन् । समाज बिथोल्न सकिन्छ कि भनेर त्यसरी आइरहेका सामग्रीप्रति काउन्सिल सचेत छ र आवश्यक कानुनी कारबाही भइरहेको छ,’ अध्यक्ष बस्नेतले भने ।

प्रेस काउन्सिलले २ साताअघि मात्रै पत्रकारिताको आवरणमा गलत काम गर्ने ४३ वटा युट्युब माध्यमलाई कानुनी कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरो पठाएको थियो । केही सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारबाही अघि बढाइरहेको छ ।

अध्यक्ष बस्नेतले डिजिटल दुनियाँमा अहिले फस्टाइरहेका अनलाइन र युट्युब सञ्चार माध्यमहरू कुनै स्वार्थ समूहबाट प्रयोग हुन सक्ने भन्दै विशेष ख्याल गर्नुपर्ने धारणा राखे ।

‘पत्रकारिताका आफ्नै मूल्य, मान्यता र सिद्धान्त छन् । विश्वव्यापी मान्यता बोकेका आचारसंहिता छन् । तिनलाई कुल्चेर मनलाग्दी सूचना सम्प्रेषण गर्नु पत्रकारिता होइन, त्यो पत्रकारिता क्षेत्रको बदनामी मात्र होइन समाज भड्काउनुसमेत हो,’ बस्नेतले भने ।

विवादरहित र सही पत्रकारिताले विकास निर्माण र समृद्धि ल्याउन ठूलो भूमिका ल्याउने हुँदा त्यसतर्फ सबैले ध्यान पु¥याउन उनको सुझाव थियो । पत्रकार अभिमुखिकरण कक्षामा विषयगत विज्ञका रूपमा गोरखापत्र संस्थानका डिजिटल प्रमुख नारदमुनि गौतमले पत्रकार आचारसंहिता र सूचना विभागका निर्देशक भरत गौतमले विभिन्न सञ्चार निर्देशिका र पत्रकारका जिम्मेवारीबारे सहजीकरण गरेका थिए ।

यसैबीच, काउन्सिलमा पत्रकारद्वय केशवशरण लामिछाने र विजयराज अधिकारी बोर्ड सदस्य नियुक्त भएका छन् । दुवै सदस्यले मंगलबार काउन्सिलमा आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेतबाट शपथ लिई कामको सुरुवात गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक १४ गते बुधबार