आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस : श्रमिक अनविज्ञ




गणेश रावत । कोहलपुर ।

भगवती चौधरी ज्याला मजदुरीको काम गर्ने गर्छन् । उनको हरेक दिन दैनिक ज्याला मजदुरीको काम गरेरै बित्ने गर्छ । सानै उमेरदेखि उनी ज्याला मजदुरी गरेर जीवनयापन गर्दै आएका छन् । तर, उनलाई अहिलेसम्म न अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे जानकारी छ, न त आजसम्म उनले श्रमिक दिवस मनाएका नै छन् ।

नेपालमा श्रमिक दिवस विसं २००७ सालदेखि मनाउन थालिए पनि अहिलेसम्म आफूलाई कुनै जानकारी नभएको चौधरी बताउँछन् ।
श्रमिकको हक अधिकारको सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले हरेक वर्ष मे १ तारिखलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाइँदै आए पनि भगवतीजस्ता अधिकांश श्रमिकहरूलाई श्रमिक दिवसबारे जानकारी छैन ।

‘आज श्रमिक दिवस भए पनि काम नगरे साँझ–बिहान चुलो बल्दैन,’ चौधरीले भने, ‘दिवसभन्दा हामीलाई कामको महत्व हुन्छ ।’ नेपालमा पनि श्रमिक दिवस मनाइनेबारे पहिलोपटक जानकारी पाएको उनी बताउँछन् । श्रमिक दिवस के हो ? किन मनाइन्छ ? भन्नेबारे आफू जानकार नभएको उनले मिसन टुडेलाई बताए ।

उनले भने, ‘मिस्त्रीको ज्याला मजदुरी गरेर घरपरिवार जेनतेन पालिरहेको छु । कामको उचित मूल्य पाएका छैनौँ, विगत तीन चार वर्षदेखि १ हजार रुपैयाँ दैनिक ज्यालादारीमा काम गर्नुपर्ने बाध्यता छ ।’ प्रत्येक वर्ष साल बदलिए पनि श्रमिकको ज्याला नबढेको उनले गुनासो पोखे । ‘हिजो जे थियो आज पनि त्यही छ । के श्रमिक दिवस मनाउनु ?’ उनले दुःखेसो पोख्दै भने ।

त्यस्तै, श्रमिकका लागि समान ज्याला अहिले पनि व्यवहारमा लागू नभएको अर्की मजदुर मयारानी थारूले बताइन् । अहिलेसम्म पनि महिलाले समान ज्याला पाउन नसकेको उनले दुःखेसो पोखिन् ।

‘अनेकौँ नारा र भाषण सुन्यौँ तर, समान ज्याला अहिलेसम्म पाउन सकेका छैनौँ,’ उनले भनिन्, ‘एउटै काम महिला र पुरुषले गरे पनि ज्याला फरक हुने गरेको छ ।’ एउटै कामका लागि महिलालाई ५ सयदेखि ६ सय ज्याला दिइने गरे पनि पुरुषहरूलाई भने ७ देखि ८ सयसम्म दिइने गरेको उनले जानकारी दिइन् । अहिलेसम्म विभेदकारी ज्याला रहँदै आएको उनको भनाइ छ ।

उनी अहिले कोहलपुर नगरपालिकाले भर्खरै बनाउँदै गरेको नगर विकास समिति भवनअघि सडकपेटीमा रहेका बिरुवाको घेराबारको काम गर्छिन् । अहिले आफू दैनिक ६ सयको ज्यालामा काम गरिरहेको उनले बताइन् ।

काम गर्न थालेको दशक पुग्न थाल्यो तर उनलाई पनि श्रमिक दिवसबारे जानकारी छैन । ‘खै के हो ? श्रमिक दिवस, मलाई थाहा छैन,’ उनले भनिन्, ‘जुन दिवस भए पनि आफूलाई काम नगरी खानु छैन ।’

‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ मूल नारासहित आज बुधबार विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरका लागि ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष मे १ मा श्रमिक दिवस मनाउन थालिएको थियो ।

विश्वका मजदुरले यो दिवसलाई विशेष पर्वका रूपमा लिँदै गुणस्तरीय जीवन बिताउन आफ्ना सुविधाको समयानुकूल बढोत्तरी तथा आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरि मनाउँछन् ।

नेपालमा समेत मजदुर संगठनले विभिन्न कार्यक्रम गरि यो दिवस मनाउँदै छन् । नेपालमा विराटनगरमा विसं २००७ मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।

श्रमिक दिवसका दिन सरकारले एक दिन सार्वजनिक बिदा दिने गरेको छ । तर यो बिदा मजदुरी गरेर खानेहरूका लागि घाँडो सावित हुँदै आएको छ । ‘सरकारले बिदा दिए पनि घरमा बसेर के खानु ?’ उनी भन्छिन्, ‘रोजगारी छैन । त्यसैले पेट पाल्न भए पनि केही न केही काम गर्र्नै प¥यो ।’

सरकारले मजदुरका पक्षमा जतिसुकै कुरा गरे पनि व्यवहारमा लागू नहुने गरेको उनको गुनासो छ । ‘जे छ सबै कागजमा होला,’ उनले भनिन्, ‘तर, व्यवहारमा लागू भएको छैन ।’ यी नेपाली श्रमिकका प्रतिनिधि पात्र मात्र हुन् । उनीहरू जस्तै धेरै श्रमिकहरूलाई अहिले पनि श्रमिक दिवसबारे जानकारी छैन । र, यो दिवसले वास्तविक मजदुरलाई राहतभन्दा बढी आहत दिएको छ । एक दिन भए पनि कामबाट उनीहरू वञ्चित हुनुपरेको छ ।

आर्थिक मन्दीको मारमा श्रमिक 

पछिल्लो समय आर्थिक मन्दीको मार श्रमिकहरूमा समेत परेको छ । आर्थिक मन्दीले काम पाउन मुस्किल भएको श्रमिक राजु थारूले बताए । ‘पहिला गाउँघर र कोहलपुरमै काम पाउन सहज थियो,’ उनले भने, ‘अहिले आर्थिक मन्दीले घरलगायतका पूर्वाधार निर्माण हुन नसक्दा काम पाउन मुस्किल भएको छ ।’

अहिले काम खोज्दै हिँड्नुपर्ने अवस्था आएको राजुले बताए । कोहलपुरलगायतका ठाउँहरूमा घर र पूर्वाधार निर्माणका काम सुस्ताएका छन् । त्यसैले पनि दैनिकी चलाउन समस्या भएको उनले बताए ।

खेतिपाती गर्ने प्रसस्त जग्गाजमिन नभएको र अन्यत्र काम खोज्दा पनि नपाइने गरेकाले हातमुख जोड्न पनि समस्या हुँदै गएको अर्का श्रमिक सुशीला खड्काले बताइन् । ‘काम नगरी खान पुग्दैन, काम पाउन पनि मुस्किल छ,’ उनले भनिन्, ‘आर्थिक मन्दीले काम नपाउँदा भोकभोकै बस्नुपर्ने अवस्था छ ।’

पहिला गाउँमै घरहरू निर्माण हुँदा बजार आउनु पर्दैनथ्यो । अहिले घरहरू नबन्दा कोहलपुरसम्म काम खोज्दै आउनुपरेको उनको भनाइ छ । औपचारिक रूपमा श्रमिक दिवस मनाउनुभन्दा श्रमिकहरूलाई काम दिएर त्यसको उचित ज्याला उपलब्ध गराउन उनले आग्रह गरिन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ वैशाख १९ गते बुधबार