काठमाडौँ।
नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (एनसीएसए) काठमाडौँ उपत्यका विशेष समितिको आयोजनामा ‘टप रोप एन्ड लिड क्लाइम्बिङ च्याम्पियनसिप २०२६’ भव्य रूपमा सम्पन्न भएको छ । नेपालको खेलकुद तथा पर्वतारोहण संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री सुरेश श्रेष्ठले गरेका थिए ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामा प्रमुख विशेष अतिथिका रूपमा सहभागी भएका थिए । उनले बागमती प्रदेशभरि प्रादेशिकस्तरको स्पोर्ट क्लाइम्बिङ प्रतियोगिता सञ्चालन गर्न परिषद्ले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । समारोहका विशेष अतिथि संयुक्त राज्य अमेरिकाको दूतावास, काठमाडौँका सार्वजनिक मामिला प्रमुख (चिफ अफ पब्लिक अफेयर्स) माइक हार्कर पनि उपस्थित थिए ।
कार्यक्रममा नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनले उनलाई २० मे २०२६ बिहान ९ः१० बजे सगरमाथाको सफल आरोहण गरी इतिहास रचेका पहिलो अमेरिकी दूतावासका कूटनीतिज्ञ भएको सम्मानस्वरूप विशेष अभिनन्दन तथा सम्मान प्रदान गरेको थियो । उनको यो उपलब्धिलाई नेपाल–अमेरिका मित्रता, पर्वतारोहण र साहसिक खेलकुदको साझा प्रेरणाका रूपमा स्मरण गरिएको थियो । कार्यक्रममा विभिन्न सरकारी निकाय, खेलकुद क्षेत्र, पर्यटन क्षेत्र, निजी क्षेत्र तथा पर्वतारोहण समुदायका विशिष्ट व्यक्तित्वहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।
लिड क्लाइम्बिङतर्फ १७ जना पुरुष र ५ जना महिला तथा टप रोप क्लाइम्बिङतर्फ ४४ जना रपुरुष र २१ जना महिला गरि प्रतियोगितामा कूल ८७ जना खेलाडी सहभागी भएका थिए । लिड क्लाइम्बिङ पुरुषतर्फ साजन लामा, सुलभ राई र तेन्जिङ बर्टिन राई क्रमशः प्रथम, द्वितीय र तृतीय भए । उनीहरूले क्रमशः ५० हजार, ३० हजार र २० हजार रूपैयाँँसहित पदक र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी महिलातर्फ स्वस्तिका चौधरी, मनिषा बुढा मगर र रबिका महर्जन क्रमशः प्रथम द्वितीय र तृतीय भए । उनीहरूले पनि नगद ५० हजार, ३० हजार र २० हजारसहित पदक र प्रमाणपत्र प्राप्त गरे ।
टप रोप क्लाइम्बिङ पुरुषतर्फ नमल बोहोरा प्रथम, लाक्फा तेन्जिन शेर्पा द्वितीय र केमन क्षेत्री तृतीय भए । उनीहरूले क्रमशः १० हजार, ८ हजार र ५ हजार नगद प्राप्त गरे । त्यसैगरी महिलातर्फ पेम्बा छोकी शेर्पा प्रथम, करुणा ठाकुर द्वितीय र नायुमी खनाल तृतीय भए । उनीहरूले पनि क्रमशः १० हजार, ८ हजार र ५ हजार नगद प्राप्त गरे । आयोजक नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन काठमाडौँ उपत्यका विशेष समितिले यस प्रतियोगिताले नेपालमा स्पोर्ट क्लाइम्बिङको विकास, नयाँ प्रतिभाको पहिचान तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेको छ ।









प्रतिक्रिया दिनुहोस्