काठमाडौँ ।
नेपालका एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित बुकीपाटनमा पर्यटकको आकर्षण बढेसँगै नकुहिने फाेहाेर बढ्न थालेको छ । पर्यटकले जथाभावी फोहर फाल्न थालेपछि बुकीपाटनको स्वच्छ र सुन्दर छवि धुमिलिन थालेको छ । पर्यटकले प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुटका प्लास्टिक र बियर बोतललगायत छरपस्ट छोड्दा पर्यावरणमा असर पर्ने चिन्ता बढेको छ ।
चार वर्ष अगाडिसम्म गोठाला बस्ने बुकीपाटनमा पछिल्लो समय दैनिक सयौँ पर्यटक बुकीपाटन पुग्न थालेपछि फाेहाेर बढ्न थालेको ढोरपाटन नगरपालिका–९ का तीर्थबहादुर घर्तीमगरले बताए । पाटनभरी छरिएका प्लास्टिक र बोतलले सौन्दर्यलाई कुरुप बनाएको घर्ती मगरले सुनाए । पर्यटकले जथाभावी फाेहाेर गर्ने मात्र नभई बुकीपाटनका फूलसमेत कोपिलामै टिप्दा वनफूल नै मासिने जोखिम बढेको छ । समुन्द्री सतहदेखि चार हजार २०० माथिको क्षेत्रमा प्लास्टिक र सिसाजन्य फाेहाेर बढ्दा सरसफाइ गर्ने चासो कुनै पनि निकायले नदेखाएको स्थानीयको गुनासो छ ।
बुकीपाटन बागलुङको एउटा अनुपम सम्पत्ति भएकाले त्यहाँको सुन्दरताको बयान जति नै गरे पनि कम हुनेछ । त्यहाँको सुन्दरतासँग रमाउन दैनिक सयौँ पर्यटक बुकीपाटन पुग्ने गरेकामा पछिल्लो समय त्यस क्षेत्रको अवलोकन गर्न जाने व्यक्तिले प्लास्टिक र सिसामा खानेकुरा बोकेर जाने र खाएपछि त्यही नै फ्याँकेर हिड्ने प्रवृत्ति वातावरण संरक्षणका लागि घातक देखिएको छ ।
बुकीपाटन क्षेत्रमा मात्रै नभई ढोरपाटन उपत्यकाको पाखाथरदेखि उकालो लागेपछि पदमार्गका छेउछाउ, कोल्सा, डाँडा, खोला र बुकीपाटनसम्मै बिस्कुट, चाउचाउका प्लास्टिक, सिसा, रेडबुल र पानीका बोतल छरपस्ट भेटिन्छन् । त्यस्ता फोहर व्यवस्थापनमा सिकार आरक्षले पनि चासो दिनुपर्ने स्थानीयको भनाइ छ । बुकीपाटनमा पर्यटकले फालेको प्लास्टिकजन्य फाेहाेर घासँमा मिसिर वस्तुभाउले खाँदा बिरामी परेर मर्ने गरेको ढोरपाटन नगरपालिका–६ का किसान तुलबहादुर अदैले गुनासो गरे । फोहोर फाल्नका लागि गोठालाले ठाउँठाउँमा खाल्डो निर्माण गरी दिएपनि पर्यटकले जथाभावी फल्ने गरेको स्थानीयको भनाइ छ ।
बुकीपाटनको गर्पाछेडा, दहखर्क, फुर्सेदेउराली, टीकाधारा, फागुने क्षेत्रमा बढी फाेहाेर गरेको स्थानीय अदैले बताए । स्थानीय कुलबहादुर विकले अघिल्लो वर्ष बुकीपाटनमा छरिएका प्लास्टिक खाएर करिब ६० वटा भेडाबाख्रा र गाईभैँसी बिरामी परेको बताए । पोसिलो घाँस खुवाउन बागलुङसहित रोल्पा, रुकुम, डोल्पा र म्याग्दीबाट गोठालाले आफ्ना वस्तुभाउ लिएर त्यहाँ जाने गरेका छन् । – रासस









प्रतिक्रिया दिनुहोस्