दाङमा ८२ मुक्त कमलरीले परिचय पत्र पाउँदै



दाङ,१५ कात्तिक/ दाङमा दोस्रो चरणमा ८२ जना मुक्त कमलरी बालिकाहरुले परिचय पत्र पाउने भएका छन् ।

मुक्त कमलरी परिचय पत्र वितरण जिल्ला समितिको आज घोराहीमा बसेको बैठकले मन्त्रालयबाट प्राप्त ८२ जना मुक्त कमलरी बालिकाहरुको नामलाई अनुमोदन गरेको हो ।
जिल्ला भुमि सुधार कार्यालयका निमित्त प्रमुख मानवहादुर कवरको अध्यक्षतामा बसेको बैठकले दोस्रो चरणमा विभिन्न गाउँपालिकाका ८२ जना मुक्त कमलरी बालिकालाई परिचय पत्र दिने निर्णय गरेको हो ।
यस अघि स्थानिय तहहरुबाट भुमी सुधार कार्यालय मार्फत मन्त्रालयमा पठाईएका नामहरुलाई अनुमोदनका लागि फेरि जिल्लामा पठाएपछि आज बैठकले प्रमाणिकरण गरेको हो । भुमि सुधार कार्यालयले केही दिनमा ती मुक्त कमलरीहरुलाई परिचय पत्र वितरण गर्ने लेखा अधिकृत नारायणप्रसाद पोख्रेलले जानकारी दिए ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सरकारले मुक्त कमलरीहरुलाई परिचय पत्र दिएर न्याय गरेको बताए । बास्तबिक मुक्त कमलरीले परिचय पत्र पाउनुपर्ने भन्दै उनले परिचय पत्र प्राप्तका लागि आबस्यक सिफारीसमा निशुल्क
सेवा प्रदान गरिएको जानकारी समेत दिए । यस अघि दाङमा १० जना मुक्त कमलरीले परिचय पत्र पाएका छन् । भुमि सुधार मन्त्रालयमा दाङका २९ सय ४५ जना मुक्त कमलरीको नामावली रहेको छ भने मुक्त कमलरी विकास मञ्चको तथ्यांकमा ४६ सय ७७ जनाको नाम रहेको र छुटेकाको छिट्टै पठाईने पूर्ब कमलरी उर्मिला चौधरीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक १५ गते बुधबार