यस्तो छ टुर दि ठाकुरद्वारको तयारी



नेपालगन्ज ।
नेपालगन्ज साइकल उत्सवको तयारीअन्तर्गत बुधबार नेपालगन्जमा साइक्लिङ क्लबको बैठक बसेको छ । अध्यक्ष प्रदीप सापकोटाको अध्यक्षतामा सम्पन्न बैठकमा उत्सवलाई सफल बनाउने विषयमा विविध निर्णय गरिएको छ ।

बैठकले नेपालगन्ज साइकल फेस्टिबल अन्तर्गतको नेपालगन्ज किड्स रेस सम्पन्न गर्न क्लबका सल्लाहकार रमेशकुमार मल्लको संयोजकत्वमा उपसमिति बनाएको छ । टुर दि ठाकुरद्वारमा सहभागिता जनाउने मेची–महाकाली साइकल यात्रा पूरा गरेका साइकल यात्रीहरूलाइ रजिस्ट्रेसन शुल्कमा रुपैयाँ ५ सय, सम्पूर्ण महिला सहभागीलाई रुपैयाँ ५ सय छट गर्ने निर्णय गरिएको छ भने १५ वर्षमुनिका सहभागीलाई मात्रै रुपैयाँ १ हजार मा सहभागी गराइने भएको छ ।

नेपालगन्ज साइकल उत्सवअन्तर्गत सहभागीलाई विशेष अफरसहित माघ २८ गते माउन्टेन फ्लाइटमार्फत कैलाश दर्शनका लागि नेपालगन्जबाट होटल सिद्धार्थसँगको सहकार्यमा व्यवस्थापन मिलाइएको जानकारी इभेन्ट डाइरेक्टर सतिश निरौलाले दिए ।

कार्यक्रमलाई भव्य उत्सवका रूपमा सम्पन्न गर्न कुनै कसर नराखी आयोजनाको तयारी गरिरहेको र लगभग कार्यक्रम सम्पन्न गर्न पुग्ने स्रोत व्यवस्थापन गरिसकिएको जानकारी कोषाध्यक्ष राजेशकुमार गुप्ताले दिए ।

यात्रालाई थप रोमाञ्चक र मनोरम बनाउन कार्यसमिति सदस्य बाबुराम विकको संयोजकत्वमा रुट व्यवस्थापनको जिम्मेवारी दिइएको र शनिबारभित्र फाइनल रुट तय गरिने जानकारी उपाध्यक्ष कविराम बुढाथोकीले दिए ।

 

  • No tags available
प्रकाशित मिति : २०८० माघ १८ गते बिहीबार