बर्दियादेखि गीत गाउन कोहलपुर पुगेका मानबहादुर चोकमा गीत गाउँदै थिए । उनको स्वर सुनेर मानिसहरू झुम्मिएका थिए । उनको कला देखेर कसैले पैसा दिन्थे । कसैले उनलाई हौसला । कोहलपुर, बर्दियाका बजारका चोक–चोकमा गीत गाउँदै हिँड्नु उनको अहिलेको दैनिकी हो ।

गणेश रावत । कोहलपुर।
शिरमा चस्मा । मेहन्दीले रङ्गिएका रातै रौँ । झुप्प दारी । हँसिलो अनुहार अनि फुर्तिलो शरीर । एक हातमा माइक र अर्काे हातमा डिजे बोकी चोक–चोकमा गीत गाउँदै हिँड्ने मानबहादुर परियारको बाहिरी हुलिया यही हो । उमेरले ५० पुगे। तर, उनको जोस, जाँगर देख्दा कुनै भर्खरको तन्नेरीभन्दा कम लाग्दैनन् । बर्दियादेखि गीत गाउन कोहलपुर पुगेका मानबहादुर मंगलबार चोकमा गीत गाउँदै थिए ।
उनको स्वर सुनेर मानिसहरू झुम्मिएका थिए । उनको कला देखेर कसैले पैसा दिन्थे । कसैले उनलाई हौसला ।
कोहलपुर, बर्दियाका बजारका चोक–चोकमा गीत गाउँदै हिँड्नु उनको अहिलेको दैनिकी हो । सानैदेखि गायक बन्ने सपना सँगालेका मानबहादुर कमजोर आर्थिक अवस्थाका कारण गायक बन्न नसकेको बताउँछन् । ‘दुई महिना अघिसम्म सिलाइकटाइको काम गर्थें,’ उनले भने, ‘मेरो पुख्र्यौली पेसा पनि यही हो । तर, आफ्नो सानैदेखिको गायक बन्ने सपना पूरा गर्न सिलाइकटाइ छाडेको हुँ ।’
आर्थिक अवस्था कमजोर भएका कारण गायक बन्ने सपना थाती राखेर पहिला परिवार पाल्न सिलाइकटाइ गरे ।
‘अहिले सबै छोराछोरी हुर्किए । पढीलेखी, ठूला भए,’ मानबहादुरले भने, ‘अहिले दुई छोरा विदेशमा छन् ।’ उनका कान्छा छोरा डान्सर हुन् । ‘राष्ट्रियस्तरको नभए पनि स्थानीय कलाकार भनेर चिन्छन् खुशी लाग्छ,’ उनले भने, ‘घर खर्च छोराहरूले धानिरहेका छन् ।’
अहिले छोराहरूले घर धानेपछि फुर्सदिलो भएका मानबहादुर आफ्नो बाल्यकालीन सोख पूरा गर्न डिजे बोकेर गाउँदै हिँड्ने गरेका छन् । ‘तीज मनाउन जन्मथलो सल्यान गएको थिएँ,’ उनले भने, ‘सल्यानको सल्लीबजारमा ७ हजारको डिजे किनेँ ।’ मानबहादुर आफ्नो सपनाको एक अंश भए पनि अहिले पूरा भएको बताउँछन् । यत्ति भए पनि गाउन पाइन्न कि भन्ने उनलाई पीर थियो । अहिले जेहोस् हल्काफुल्का इच्छा पूरा गर्न पाएकोमा उनी सन्तुष्ट छन् । ‘सिलाइकटाइ गरेर दैनिक १५ सय कमाउने गर्थें ।
तर, सन्तुष्टि थिएन,’ उनले भने, ‘आजभोलि गीत गाएर दिनमा ५ सयदेखि १ हजारसम्म कमाउँछु । तर, सन्तुष्ट छु ।’
बाध्यता र इच्छाशक्तिले गरेको काम फरक हुने जनाउँदै आफूले रोजेको र सोचेको कामबाट सन्तुट मिल्ने उनले बताए । ‘खाने मुखलाई जुँगाले छेक्दैन भने जस्तै हो,’ उनी भन्छन्, ‘इच्छा शक्ति भए के वृद्ध के युवा !’ गाउँमा, बजारमा पुराना गीत सुनाएरै उनले दैनिकी चलाइरहेका छन् । ‘मैले गीत गाउँदा कतिपय मानिस रुन्छन्,’ उनी भन्छन्, ‘कतिपटक त म आफैँ पनि रोएको छु ।’
साइले जी दिनका उदै रातका उदै
हा..हाई कहाँ जान्छै पानी याँ ।
साइले जी देख्नु भइ पैरुनु भैइनै
नौला सुन खानी याँ माले ।
यो गीत गाउँदा उनका आँखा भरिए । किनकि यो गीत मानबहादुरकी आमाले गाउने गर्थिन् । त्यसैले यो गीत गाउँदा उनी आमाको माया र यादले रुने गर्छन् । परियार पुराना गीत गाउन बढी रुचाउँछन् । उनी हास्यव्यङ्ग्य पनि राम्रै गर्छन् । उनले गाउँघरमा धेरै गीत गाए । अब काठमाडौं गएर गीत रेकर्ड गर्ने उनको धोको छ । बाँकी जीवन कलाकारितामै बिताउने उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्