जनताको बीचमा हामीले आफ्ना कमजोरी स्वीकार्नै पर्छः बाँके संयोजक जेम्स



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्रका आएर पूजाआजा गरेर फर्केको भन्ने जुन कुरा छ यो खेदयोग्य कुरा हो । यसमा म खेद प्रकट गर्दछु । हाम्रो पार्टीले यसकार्यका लागि खेद प्रकट गर्दछ । बिना जानकारी अर्काको देशको भूमिमा आउनु भनेको हेपाहा प्रवृत्ति हो । नेपालप्रतिको गिद्दे नजर हो यो । ठूलो देश हुनुको अहमता हो यो । यस्तो कार्यलाई हाम्रो पार्टीले समर्थन गर्नै सक्दैन ।

नरेन्द्र पाण्डे ‘जेम्स’
संयोजक
नेकपा (माओवादी केन्द्र), बाँके

१. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हालसालै नेपाली भूमिमा सुटुक्क भ्रमण गरेर फर्केका छन् । नेपाललाई कुनै जानकारी नै नदिई भारतीय प्रधानमन्त्रीले नेपाली भूमिमा भ्रमण गर्नु र सरकारले पनि मौनता साँध्नुलाई तपाईंको पार्टीले कसरी लिएको छ ?

यो एउटा गम्भीर विषय हो । हाम्रो पार्टी राष्ट्र र राष्ट्रियताका विषयमा प्रस्ट छ । हिजो हाम्रो पार्टी सुरुङ युद्ध गरेर आएको पार्टी हो । राष्ट्र र राष्ट्रियताप्रति हाम्रो पार्टीले कुनै गलत सम्झौता गर्न सक्दैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्रका आएर पूजाआजा गरेर फर्केको भन्ने जुन कुरा छ यो खेदयोग्य कुरा हो ।

यसमा म खेद प्रकट गर्दछु । हाम्रो पार्टीले यसकार्यका लागि खेद प्रकट गर्दछ । बिना जानकारी अर्काको देशको भूमिमा आउनु भनेको हेपाहा प्रवृत्ति हो । नेपालप्रतिको गिद्दे नजर हो यो । ठूलो देश हुनुको अहमता हो यो । यस्तो कार्यलाई हाम्रो पार्टीले समर्थन गर्नै सक्दैन ।

२. हामी बाहिर भारतको विरोध त गर्छौं । हिजो तपाईहरू पनि सुरुङ युद्ध लड्नुभयो । क्षेत्रीय विस्तारवाद भन्दै भारतविरुद्ध लाग्नुभयो । तर आज पनि हामी भारतबिना बाँच्न सक्ने अवस्था छैन । नुन–तेल, दाल–चामल सबै कुरामा हामी भारतमै निर्भर छौँ । यस्तो कहिलेसम्म ?

एकैचोटि सबै कुरा हुँदैन । एउटा बिरुवामा पहिला कोपिला लाग्छ, फूल फुल्छ अनि फल लाग्ने हो । हाम्रो देश सानो छ । हाम्रा विकासका पूर्वाधारका काम धेरै बाँकी छन् । ती सेड्युलमा अगाडि बढ्दा हाम्रा अगाडि केही जटिलताहरू छन् । तर त्यो रोडम्यापमा, पाइपलाइनमा देशलाई अघि बढाउन सकिएको छ कि छैन भन्ने प्रमुख कुरा हो ।

अर्कोतिर नुनतेल, दालचामलको कुरा छ, यो द्विपक्षीय व्यापारको कुरा हो । कतिपय सामान त नेपालबाट भारततिर पनि त गइरहेको छ नि । दुई देशको व्यापारिक सम्बन्धका कुरा त चलिरहन्छन् । यो ठूलो कुरा होइन ।

३. भारत नेपालमा कुनै पनि कुरा राम्रो भएको देख्न चाहँदैन । यहाँका उद्योगधन्दा, कृषि उत्पादनलगायतमा पनि भारतको हस्तक्षेप हुनेगर्छ । नेपालप्र्रति भारतको यस्तो हेपाहा प्रवृत्ति किन चलिरहेछ ?

हामी राष्ट्रको अस्मिताप्रति झुकेका छैनौँ । मलाई लाग्छ, नेपालमा भएका प्रमुख पार्टीले आफ्नो राष्ट्रियता, राष्ट्रिय अस्मिताका बारेमा छलफल र बहस गरेकै छन् । राष्ट्र र राष्ट्रियताको सवाल भनेको कुनै एउटा पार्टीको विषय मात्र होइन । सबै पार्टीको अहम् सवाल हो । सानो देश भए पनि नेपालको आफ्नै स्वतन्त्र हैसियत छ ।

तर इतिहास हेर्दा पनि ठूला देशहरूले साना देशहरूलाई हस्तक्षेप गर्ने, हेपाहा प्रवृत्ति देखाउने गरेको पाइन्छ । विश्वका अन्य मुलुकहरू पनि ठूला र शक्तिशाली देशहरूले साना देशहरूमाथि यस्ता हेपाहा प्रवृत्ति देखाउने गरेका छन् । त्यसैले नेपालका सम्पूर्ण पार्टीहरूले राष्ट्रिय हितका सवालमा एउटै मत बनाउनुपर्छ ।

हामी आत्मनिर्भर हुने कुुरामा अगाडि बढ्यौँ भने अरूले हेप्ने प्रवृत्तिमा कमी आउँछ । हरेक सवालमा विकास निर्माणको सवालमा, उत्पादनको सवालमा, औद्योगिकीकरणको सवालमा कसरी आत्मनिर्भर हुने भन्ने कुरा हामीले सोच्नुपर्छ । त्यसैगरी राष्ट्रियतका सवालमा पनि सबै पार्टी कसरी एकताबद्ध भएर जाने भन्ने विषयमा व्यापक छलफल गर्नु आवश्यक छ ।

४. नेपालमा गणतन्त्र त आयो तर यसले जनताका आवश्यकता फेरि पनि सम्बोधन गर्न सकेन । विगतका जनताका त्याग र बलिदानीपूर्ण संघर्षबाट स्थापित गणतन्त्रबाट यति चाँडै आमजनताको आकर्षण घटेको छ । यो पुँजीवादी गणतन्त्र अब काम छैन । अब मुलुकमा समाजवादी गणतन्त्र आवश्यक छ भन्न थालिएको छ । के अब गणतन्त्र परिमार्जन आवश्यक भइसकेको हो त ?

होइन गणतन्त्रको परिमार्जन होइन, यसको विकास आवश्यक छ । कुनै पनि कुरा यथास्थितिमा रहँदैन । त्यसैले अबको बाटो के हो त भनेर हामीले सोच्नुपर्छ ।

५. आठ नौ वर्ष भइसक्दा पनि गणतन्त्रले लय समात्न सकेको त देखिएन नि ?

हामीले हिजो १० बर्से जनयुद्ध ग¥यौँ । यो जनयुद्ध भनेको जनताको जनवादका लागि थियो । लक्ष्य त हाम्रो जनताको जनवाद स्थापना गर्ने हो । समाजवादको स्थापना गर्ने हो । र अझ साम्यवादसम्म पुग्ने लक्ष्य हो । तर लक्ष्य प्राप्तिका लागि कार्यदिशा तय गर्ने प्रमुख कुरा हो ।

लक्ष्यमा पुग्नका लागि विभिन्न बाधा अड्चनहरू देखापर्ने गर्छन् नै । क्रान्तिको बाटो सीधा हुँदैन । तर अहिले नेपालमा हामीले जुन गणतन्त्रको स्थापना गरेका छौँ यो नेपाली जनताका लागि एउटा सुखद पक्ष हो । नेपाली जनताको जनमतबाट जितेका जनप्रतिनिधिहरूको सहभागिताबाट नेपालमा हामीले संविधानको निर्माण ग¥यौँ । यसैका माध्यमबाट अब समाजवादको यात्रामा अघि बढ्ने हो । देशलाई समाजवादको बाटोमा अगाडि बढाउनै पर्छ । यतिले पुग्दैन । तर गणतन्त्र असफल भयो भन्ने कुरा होइन ।

६. तपाईंको पार्टीले जनतासँग रूपान्तरण विशेष अभियान सञ्चालन गरिरहेको छ । यो अहिले कसरी अगाडि बढिरहको छ ?

हाम्रो पार्टीले अहिले तीनमहिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । भदौ १६ देखि मंसिर १६ गतेसम्म हाम्रो यो अभियान चलिरहेको छ । करिब सवा महिना हामीले अभियान गरिसक्यौँ । यसबाट बाँकेमा मात्र होइन देशैभरि एउटा तरङ्ग पैदा भएको छ । माओवादी पार्टी हिजो जनताको बीचबाट जन्मेको पार्टी हो । माओवादी पार्टी ठूलो चुनौतीको बीचबाट जन्मेको पार्टी हो ।

माओवादी पार्टी संघर्षको मैदानबाट जन्मिएको पार्टी हो । तर पछि आउँदा जनता र पार्टीबीचको सम्बन्ध जुन सुमधुर हुनुपर्ने हो त्यो हुन सकेन । त्यसमा समस्या पैदा भयो । जनतासँग समन्वय गरे जाने कुरा, जनताका सुखदुःखसँग जोडिएर जाने कुरामा, जनताका हरेक समस्या हल गरेर जाने कुरामा हामी कहीँ न कहीँ अलि टाढा रह्यौँ भन्ने हाम्रो पार्टीको बुझाइ हो ।

त्यसकारण हाम्रो पार्टी केही सानो आकारमा आउनुपर्ने अवस्था पनि बन्यो । त्यसैले आफ्ना कमीकमजोरीहरूलाई पनि हामीले जनताको बीचमा स्वीकार गर्नुपर्छ भनेर हामी जनतामा जाने निर्णय गरेका हौँ ।

७. नेतृत्वबाटै रूपान्तरणको अपेक्षा आमजनताको छ । तर तपाईंहरू रूपान्तरण अभियान लिएर गइरहँदा तत्काल जनतालाई आकर्षित गर्नेखालका कसैको खेतमा धान काटिदिने, खेल खेलाएर मनोरञ्जन गराउने जस्ता काम गरिरहनुभएको छ । के यसले रूपान्तरण अभियानको खास उद्देश्य पूरा हुन्छ त ?

मैले भनेँ नि कहीँ न कहीँ हाम्रा समस्या रहे । हाम्रो नेतृत्वमा, पार्टी कार्यकर्तामा कतै न कतै कमीकमजोरी रहे । अब यसलाई स्वीकार गर्नुप¥यो । हामीले सञ्याउनुप¥यो । जनतासँग टाढा रहेर अब न पार्टी बलियो हुन्छ न विकास नै । त्यसैले आफ्ना कमीकमजोरीलाई एउटा लेबलमा हामीले जनतालाई बुझाएका पनि छौँ ।

८. कमीकमजोरी छ भनेर स्वीकार गर्ने, त्यस सच्याउनुपर्छ पनि भन्ने तर व्यवहारमा त्यो नदेखिने । यसले गर्दा तलका कार्यकर्ता वा आमजनतामा विश्वासको आधार त देखिएन नि ?

तपाईंले भनेजस्तो केही कुरामा समस्या छ । देशका युवाशक्तिलाई रोजगारी दिने कुरा, अन्य विकास निर्माणका कुरा, आर्थिक उत्पादनका कुरा, उद्योग कलकारखानालाई व्यवस्थित गर्ने कुरालगायतमा केही जटिलताहरू छन् ।

यसमा सरकारले सुधार गर्न नखोजेको पनि होइन । विस्तारै सुधारका काम पनि हुँदै छन् । सरकार त्यो दिशामा प्रयासरत छ । त्यसलाई पनि हामीले बुझिदिनुपर्छ । कुरामात्र गरेर मुलुकका जनताका सबै समस्या हल हुन्छन् भन्ने पक्षमा हाम्रो पार्टी पनि छैन ।

  • No tags available
प्रकाशित मिति : २०८० असोज २९ गते सोमबार