बाँके ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले नेपाली राजनीतिका सर्वोच्च नेता गणेशमान सिंह त्याग र निष्ठाका प्रतिमूर्ति भएको बताएका छन् । बाल्मिकीले लौह पुरुषको उपनामले चिनिने पार्टीका संस्थापक नेता सिंहले देखाएको बाटोमा कांग्रेस हिँड्न सके पार्टीसँगै मुलुकको पनि भलो हुने बताए ।
नेपाली कांग्रेस बाँकेले मंगलबार बिहान स्वर्गीय सिंहको २६औं स्मृति दिवसका अवसरमा नेपालगन्जको गणेशमान चोकमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
कार्यक्रममा जिल्ला सभापति नारायणप्रसाद गौडेलले २०४६ सालको प्रथम जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंह नेपाली राजनीतिका आदर्श नेता भएको बताए । ‘पदको लालचा नराखेर पार्टी बनाउने कर्ममा लाग्नुपर्ने पाठ सिंहबाट सिक्नुपर्छ,’ उनले भने, ‘आफूले पाएको प्रधानमन्त्री पद पनि त्याग्ने त्यागी नेता सिंहमा समावेशी राजनीतिको परिकल्पना रहेको थियो ।’
सभापति गौडेलले स्वर्गीय सिंहको शालिकमा माल्यार्पण गरेका थिए । कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवम् नेपाली कांग्रेस बाँकेका पूर्व सभापति युवराज शर्मा, पूर्वसभापति कृष्णमान श्रेष्ठ, स्वर्गीय सिंहकी कान्छी सुपुत्री मिता सिंहलगायतले स्वर्गीय सिंहको राजनीतिक व्यक्तित्वमाथि चर्चा गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्