कविन्द्र परियार कोहलपुर, ०७ कार्तिक, नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको देउसीभैलो सकिए सगै पिकनिक जानेको लर्को लाग्न थालेको छ । देउसीभैलोबाट संकलित रकमबाट बनभोज जानेको दिनहु लर्को लाग्न थालेको हो ।
साथीहरुसँग मिलेर पिकनिक जाँदा निकै रमाइलो हुन्छ त्यसैले पिकनिक आएको बाँसगढी नगरपालिका –४ पहाडीपुरकी पुजा न्यौपानेले भनिन् । पिकनिक स्पोर्ट ढकेरीमा उनीसंगै आएकी रोशनी नेपालीले देउसीभैलो खेलेर पिकनिक आउँदा निकै रमाइलो हुने भएकोले पिकनिक आएको बताइन् ।
त्यस्तै टिकापुर नगरपालिका –१ का धिरेन्द्र रावलले पिकनिकका लागि ढकेरी पार्क राम्रो भएका कारण बाँकेमा पिकनिक आएको बताए उनीसंगै पिकनिक आएका जीवन रावलले तिहारमा साथीहरु मिलेर भैलो खेल्ने र सँगै पिकनिक आउँदा छुट्टै रमाइलो हुने बताए । त्यस्तै कोहलपुर नगरपालिका –४ की शान्ति काफ्लेले सबै साथीहरु मिलेर पिकनिक आउँदा रमाइलो हुने र मानसिक तनाव समेत कम हुने भएकाले पिकनिक आउनु राम्रो हुने बताईन् ।
यति बेला देउसीभैलोबाट संकलित रकमबाट पिकनिक जानेको संख्या बढ्दो छ । सोमबार मात्र ढकेरी पिकनिक पार्कमा ११ वटा टिम आएको पार्कका कर्मचारी गोविन्द थापाले जानकारी दिए । स्थानीय पार्क ,खोला तथा वनमा पिकनिक जानेहरुको घुईचो लागेको छ । बाँकेमा खासगरी ढकेरी पिकनिक पार्क ,राप्तीसोनारीको अगैया, कोहलपुर नगरपालिका–१० चटार बन्दा लगायतका स्थानहरुमा पिकनिक खानेहरुको चहलपहल बढेको छ ।
देउसी भैलोबाट संकलित रकमबाट थोरैले सामाजिक सेवामा खर्च गर्ने भएपनि अधिकांशले भ्रमण र पिकनिकमा सिद्धयाउने गरेको पाएको छ । समाज सेवा संस्था नेपाल बाँकेका अध्यक्ष विनोद थापाले आफुहरुले देउसीभैलोबाट संकलित रकम समाज सेवामा खर्च गरिने बताए ।
सुशासनका क्षेत्रमा काम गर्दै आएको संस्था बागेश्वरी असल शासन क्लब बासका निर्देशक नमस्कार शाहले देउसीभैलोबाट संकलित रकम अनुत्पादक क्षेत्रमा खर्च भईरहेको बताए ।
संकलित रकमको बीस देखि पच्चिस प्रतिशत रकम मनोरञ्जनमा खर्च गरेर अन्य रकम सामाजिक सेवामा खर्च गरेपनि धेरै काम गर्न सकिन्छ उनले भने । नियमन गर्ने निकाय नहँुदा संकलित रकम फजुल खर्चमा सकिने शाहको भनाई छ ।









प्रतिक्रिया दिनुहोस्