शताव्दी पुरुष नन्दलालको बाँसगढीमा नागरिक अभिनन्दन



बाँसगढी ।

बाँसगढी नगरपालिकाका ज्येष्ठ नागरिक नन्दलाल पौडेललाई नागरिक स्तरबाट शुक्रबार अभिनन्दन गरिएको छ । पौडेलले सय वर्ष प्रवेश गरेको अवसर पारेर उनको सम्मान तथा नागरिक अभिनन्दन गरिएको हो । शुक्रबारदेखि पौडेल ९९ सय वर्ष पूरा गरी एक सय वर्षमा प्रवेश गरेका छन् ।

सम्भवतः बाँसगढी नगरपालिकामा शताब्दी आयु पार गरेका पौडेल पहिलो व्यक्ति हुन् ।

पौडेलको १००औँ जन्मदिनको अवसरमा उनलाई सम्मान तथा अभिनन्द गर्न बाँसगढी नगरपालिकाका राजनीतिकर्मी, व्यापारी तथा नागरिकहरूको ठूलो उपस्थिति रहेको थियो । उपस्थित नागरिकले पौडेललाई सुस्वास्थ्य, आरोग्य तथा दीर्घजीवनको शुभकामना व्यक्त गरेका थिए ।

जन्मदिनको अनौपचारिक कार्यक्रममा बाँसगढी नगरपालिकाका मेयर खड्कबहादुर खड्का, पूर्वमेयर शालिकराम अधिकारी, बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष बद्रीनाथ बराललगायतको उपस्थिति रहेको थियो ।

‘कमै मानिसको यसरी सयौँ जन्मोत्सव मनाउन पाइन्छ,’ अभिनन्दन कार्यक्रममा सहभागी बाँसगढीका व्यापारी युगपति पौडेलले भने, ‘यो हाम्रा लागि शौभाग्यको कुरा हो ।’

विसं १९८१ भदौ २२ गते कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, गैरागाउँमा जन्मेका पौडेल शुक्रबारदेखि सय वर्ष पूरा गरेका हुन् ।
बाबु हरिकृषण पौडेल र आमा कोशिला पौडेलको कोखबाट जन्मेका नन्दलाल २० वर्षको उमेरमा कास्की लुम्ले (हाल ९३ वर्ष )की देवकी देवकोटासँग विवाह बन्धनमा बाँधिएका थिए ।

दीर्घजीवनका लागि स्वस्थ आहार–विहार, निरन्तरको चिन्तन–मनन र शारीरिक सक्रियता आवश्यक हुने उनको अनुभव छ ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ २३ गते शनिबार