सकियो ‘अल्टिमेटम’, समस्या उस्तै



नेपालगन्ज, नेपालगन्जमा हुने अनियमित विद्युत् समाधानका लागि दिइएको तीन दिने ‘अल्टिमेटम’ मंगलबार सकिएको छ । नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले अल्टिमेटमभित्र विद्युत् नियमित गर्न सकेको छैन । नेपालगन्जमा उस्तै विद्युत् समस्या छ ।
विद्युत् अनियमित हुँदा यहाँको उपभोक्ताले हैरानी खेप्नु परेको छ । बास नेपालको नेतृत्वमा आइतबार नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रमा धर्ना दिइएको थियो ।

सँगै विद्युत् नियमित गर्न दबाबसमेत दिइएको थियो । यदी विद्युत् वितरणमा नियमित हुन नसक्ने हो भने, लोडसेडिङ तालिका सार्वजनिक गर्नुपर्ने, विद्युत् अनियमित हुनुको कारणलगायतका प्रश्नको उत्तरसमेत माग गरिएको थियो । उक्त धर्ना कार्यक्रममा नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले सकेसम्म विद्युत् नियमितका लागि प्रयास गर्ने बताएका थिए ।

तर, अहिलेसम्म दिइएको तीन दिनको अल्टिमेटम (समयसीमा) भित्र विद्युत् नियमित भएको छैन् न त राखिएका मागअनुसार नेपालगन्ज वितरण केन्द्रले जवाफ दिएको छ । दिइएको समयसीमामा समस्या समाधान नभएकाले अब अर्काे चरणको आन्दोलनमा जाने बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले जनाए । आइतबार मिसन टुडेलाई प्रतिक्रिया दिँदै उनले भनेका थिए, ‘माग सम्बोधन भएन भने अर्काे चरणको आन्दोलन गर्छाैं । यहाँका जनप्रतिनिधिसँग छलफल गर्नेलगायतका काम गर्छाैं ।’

  • No tags available
प्रकाशित मिति : २०८० असार ६ गते बुधबार