कोहलपुरमा नगरको निर्णय कार्यान्वयनमा संस्थागत विद्यालयको अटेरी



मिसन संवाददाता,कोहलपुर
कोहलपुरमा बिहानी कक्ष सञ्चालन गर्न नगरपालिकाले गरेको निर्णय यहाँका संस्थागत विद्यालयले कार्यान्वयन नगर्ने बताएका छन् । मौसममा सुधार नआएकाले असार १ गतेसम्मै विद्यालय बन्द गर्ने उनीहरुको भनाइ छ ।
कोहलपुर नगरपालिकाले बिहान ६ बजेदेखि ११ बजेसम्म बिहानी कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयसँगै विद्यालय सञ्चालन गर्न सामुदायिक र संस्थागत विद्यालयलाई नगरपालिकाले पत्राचारसमेत गरेको छ । नगरपालिकाको निर्णयअनुसार बुधबारबाट सामुदायिक विद्यालयमा भने पठनपाठन सुचारु भएको छ ।

कोहलपुरमा रहेका संस्थागत विद्यालय संगठन प्याब्सन, एन प्याब्सन र क्रिसा बाँकेले कोहलपुर नगरपालिकाको निर्णय कार्यान्वयन गर्न नसकिने निर्णय गरेका छन् ।
उनीहरुको संयुक्त बैठकको निर्णयमा भनिएको छ, ‘कोहलपुर नगरपालिकाको बिहानी सत्रमा कक्षा सञ्चालन गर्ने गरी पत्राचार गरेकोमा हामी निजी विद्यालयलाई बिहानी कक्षा सञ्चालन तथा व्यवस्थापनमा असहज हुने भएकाले तथा मौसममा कुनै सुधार नआएकाले असार १ गते शुक्रबारसम्मका लागि पठनपाठन कार्य स्थगित गर्ने निर्णय गरिएको छ ।’
यद्दपि मौसममा परिवर्तन आएमा भने विद्यालय सञ्चालन गरिने उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यता कोहलपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामबहादुर हमालले स्थानीय सरकारको निर्णयको अवज्ञा गर्ने संस्थालाई स्पष्टिकरण सोधिएको बताए । उनका अनुसार चित्त बुझ्दो जवाफ नआएमा प्रक्रियागतरुपमा शाखाले कारबाही गर्छ ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ ३२ गते बिहीबार