नदीजन्य पदार्थ अवैध उत्खनन भएको भन्दै गाउँपालिका घेराउ



शिवु खनाल,दाङ
जनप्रतिनिधि, कार्यपालिका सदस्य र स्थानीयले दाङको राजपुर गाउँपालिका घेराउ गरेका छन् । नदीजन्य पदार्थ अवैध उत्खनन कार्यमा गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले संरक्षण गरेको आरोप लगाउँदै स्थानीयले गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन् ।


पालिका अध्यक्ष बुढाथोकीले राप्ती नदीमा जथाभावी मेसिन प्रयोग गरी मापदण्डभन्दा बढी उत्खनन गर्न दिएको भन्दै सार्वजनिक पदको दुरुपयोग गरेको जस्ता आरोप स्थानीयले लगाएका छन् । राजपुर गाउँपालिका वडा नम्बर २ मटेरिया घाटबाट उत्खनन भएको सबै नदीजन्य पदार्थको नापजाँच गरेर राजश्व जबसम्म पालिकामा जम्मा हुँदैन तबसम्म संघर्षको आन्दोलन जारी रहने नेकपा (माओवादी केन्द्र) राजपुर गाउँपालिका उपाध्यक्ष भीमबहादुर वलीले बताए ।

राजपुर गाउँपालिका वडा नम्बर २ बेलाका गोविन्द विक, वडा नम्बर ५ का लेखराज डिसी, सीता यादव, भोगेन्द्र यादवले हालसम्म उत्खनन गरेको चारैतिर गुनासो आएपछि २०७९ चैत २८ गते वडाध्यक्षहरुको टोलीले गाउँपालिका अध्यक्ष बुढाथोकीलाई ध्यानाकर्षणपत्र बुझाएको थियो ।

वैशाख ४ गते गाउँ कार्यपालिकाको टोलीले नापजाँच गर्दा १२ हजार एक सय ४७.७ घन मिटर उत्खनन गरिसकेको थियो । पुन ः गाउँ कार्यपालिकाको टोलीले जेठ ३ गते मटेरिया घाटमा गएर अनुगमन गर्दा मेसिनको प्रयोग गरी जथाभावीरुपमा उत्खनन गरेको पाइएको राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता श्यामबहादुर रोकाले बताए । उनले भने, ‘मटेरिया घाटमा पाँचवटा मेसिन, ३०÷३५ वटा ट्याक्टरले उत्खनन भइरहेको पाइयो ।

प्रहरी र पत्रकारलाई जानकारी गराएपछि सबै भागेका थिए ।’ १८ हजार घन मिटर नदीजय पदार्थ निकाल्न पालिकाले ६० लाखको ठेक्का लगाएको थियो । तर मेसिनको प्रयोग गरी डेढ मिटरसम्मका ठूल्ठूला खाडल बनाएर नदीजन्य पदार्थ उत्खनन भएको स्थानीयको गुनासो छ । ‘प्राकृतिक सम्पदाको दोहोन गर्नेविरुद्ध हाम्रो आन्दोलन हो,’ स्थानीय भोगेन्द्रसिंह राजपुतले भने, ‘अवैध तरिकाले उत्खनन गर्ने, राज्यलाई कर छल्नेलाई कारबाही हुनपर्छ ।’

उत्खनन अनुमतिको बाहना मात्रै गरेर दोहन गरिरहेको भन्दै आन्दोलनरत पक्षले निष्पक्ष छानबिनको मागसमेत गरेका छन् । नदीजन्य पदार्थ उत्खनन गरेर क्रसरमार्फत बिक्री गरिएको आन्दोलन पक्षले आरोप लगाएका छन् । नदीजन्य पदार्थको उत्खनन बन्द गर, विधिको शासन, सुशासन कायम गर, अवैधरूपमा उत्खनन भएको नदीजन्य पदार्थको राजश्व जम्मा गरलगायतका माग राख्दै गाउँपालिकाको कार्यालय घेराउ गरिए हो ।

गाउँपालिका घेराउ गर्न वडा अध्यक्ष र कार्यपालिका सदस्यसमेत पुगेका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि गाउँपालिका घेराउ गर्न पुगेका हुन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको राजपुर गाउँपालिकामा बाक्लो सुरक्षा व्यवस्था गएिको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ १७ गते बुधबार