जेष्ठ नागरिकलाई घरमै निःशुल्क स्वास्थ्य सेवा



ज्ञानमाया थापा,कोहलपुर
कोहलपुर नगरपालिकाले ज्येष्ठ नागरिकलाई घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअन्तर्गत नगरपालिकाका दुर्गम बस्तीका ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा प्रदान गरिरहेको हो ।


नगरपालिकाको नीति तथा कार्यक्रममै विभिन्न वडा तथा बस्तीहरुमा घुम्ती शिविर सञ्चालन गर्ने उल्लेख छ । यसैगरी, सबै वडामा रहेका स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाइ स्वास्थ्य सेवाको प्रवाह गर्ने, साथै आँखा, मुटु, दम तथा श्वासप्रश्वास, मृगौला, पाठेघरसम्बन्धी रोगलगायका बिरामीलाई लक्षित गरेर हरेक महिना स्वास्थ्य शिविर सञ्चालन गर्ने नगरपालिकाको नीति छ ।

केही दिन अघि मात्रै वडा नम्बर ४ मा रहेको स्वास्थ्य चौकीले निःशुल्क स्वास्थ्य सेवाअन्तर्गत वडावासीका घरमै पुगेर सेवा प्रदान गरेको थियो । यस्तै बुधबार वडा नम्बर ७ का विभिन्न बस्तीका नागरिकलाई घरदैलोमै पुगेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ । उक्त वडामा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य जाँच गरिएको स्वास्थ्य चौकीका प्रमुख सुधन बुढाथोकीले बताए । उनले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँच गर्नुका साथै निःशुल्क चेकजाँच, उपचार, परामर्श प्रदान गरिएको बताए ।

प्रमुख बुढाथोकीका अनुसार स्वास्थ्य जाँचपछि आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको छ । वडाभित्रका दुर्गम बस्तीमा पुगेर ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गर्दा सुगर, प्रेसरलगायतका समस्या देखिएको उनले बताए । ‘हरेक नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाउनुपर्छ । सोहीअनुसार अभियान नै सञ्चालन गरिएको छ । स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित नहुन भन्ने हाम्रो उद्देश्य छ । त्यही भएर हामीले उनीहरुको घरदैलोमै गएर स्वास्थ्य सेवा दिइरहेका छौं,’ उनले भने । अधिकांश ज्येष्ठ नागरिकले स्वास्थ्य संस्थामा गएर सेवा लिन नसक्ने अवस्था भएपछि घरदैलोमै गएको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ ११ गते बिहीबार