पशुपति र लुम्बिनीको माटो लिएर विश्वमा शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले विश्व यात्रा सुरु भएको हो । विश्वमा प्रेम, शान्ति र मेलमिलाप कायम गर्ने उनको यात्राको मुख्य उद्देश्य छ । यस्तै नेपालका हरेक सरकार र बन्ने संरचनाहरु अपांगतामैत्री, बालमैत्री र महिलामैत्री हुनुपर्ने रहेको छ ।
शुभाकर विश्वकर्मा । कोहलपुर ।
इलामका सन्देश रम्तेल जन्मिँदा सपांग थिए । उनको शरीरमा कुनै पनि किसिमको अपांगता थिएन । उनको जीवन ठीकठाक चलिरहेको
थियो । तर, समयले मानिसलाई कति बेला के पारिदिन्छ थाहै नहुने रहेछ । साढे एक वर्ष पहिले सन्देश दुर्घटनामा परे, जसका कारण उनी अपांग हुन पुगे । त्यसपछि उनलाई हिँड्डुल गर्न ह्वीलचियरको सहायता लिनुपर्ने भयो । सन्देश भन्छन्, ‘जन्मिँदा म सामान्य थिएँ । डेढ वर्ष अघिको कुरा हो, काठमाडौंबाट इलाम जाँदै थिएँ । घर पुग्नै लाग्दा दुर्घटनामा परेँ ।’
उक्त दुर्घटनालाई उनले जीवनकै ‘दुःखद् संयोग’को रुपमा व्याख्या गरे । दुर्घटनाका कारण अरु कोही नभएर उनी आफैँ थिए । मोटरसाइकल तीव्रगतिमा थियो । आफूले ट्राफिक नियम पालना नगरेका कारण जीवनमा क्षति व्यहोर्नु परेको उनी सुनाउँछन् । ‘तीव्र गति जीवनको क्षति नै रहेछ । ट्राफिक नियम लागु गर्नुपर्ने रहेछ । अहिले आएर पछुतो लाग्छ,’ उनले भने ।
दुर्घटना भएको ६ महिनासम्म उनी घरबाट बाहिरसमेत निस्कन सकेनन् । त्यो समयमा उनले धेरै कुरा सिक्ने अवसर पाए । उनमा धेरै कुराको परिवर्तन आयो । उनले गुगल र युट्युबमा धेरै कुराहरु हेरे, सिके । त्यो समयले उनलाई मानिसमा शारीरिक अपांगता छु, तर मानसिकरुपमा सपांग छु भन्ने कुराको आभास भयो । निरन्तरको अध्ययनले उक्त कुराको बोध भयो । एक प्रकारको आत्मविश्वासको विकास भयो । उनले केही न केही गर्नैपर्ने निचोड निकाले ।
त्यही निचोड र आत्मविश्वासको बलमा उनी विश्व ह्वीलचियर यात्रामा निस्किएका छन् । हाल विश्व ह्वीरचियर यात्राको क्रममा यात्रारत छन् । अहिलेसम्म उनले ‘मेची–महाकाली ह्वीलचियर यात्रा’ गरिसके । विश्वका केही देशमा समेत पुगिसकेको उनी बताउँछन् । उनले विश्वह्वील चियर यात्रा गत असोज ३ गते संविधान दिवसका दिनदेखि सुरुवात गरेका थिए । उनले पशुपति र लुम्बिनीको माटो लिएर विश्वमा शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले विश्व यात्रा सुरु गरेको बताए । विश्वमा प्रेम, शान्ति र मेलमिलाप कायम गर्ने उनको यात्राको मुख्य उद्देश्य छ । यस्तै नेपालका हरेक सरकार र बन्ने संरचनाहरु अपांगतामैत्री, बालमैत्री र महिलामैत्री हुनुपर्ने रहेको छ ।
अहिलेसम्म उनी नेपालका चार सय ५० भन्दा बढी स्थानीय तहमा यात्रा गरिसकेका छन् । यात्राकै क्रममा यतिबेला उनी बाँके जिल्लामा छन् । यात्राको पहिलो दिन उनले कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुखसँग भेटघाट गरेर स्थानीय सरकारले निर्माण गरेका भौतिक संरचना अपांगतामैत्री छन् की छैनन् ? अपांगता भएका व्यक्तिहरुको पक्षमा कस्ता नीति तथा कार्यक्रम बनेका छन् ? आगामी दिनमा कसरी अघि बढ्न सकिन्छ ? भन्ने विषयमा छलफल गरेका छन् । बाँके र बर्दियाका सबै स्थानीय तहमा पुग्ने उनले बताए । जिल्ला प्रशासन कार्यालय बाँकेले पनि आफूलाई विभिन्न पालिकामा जान सहजीकरण गरेको उनले बताए ।
तर उनले यात्राको क्रममा अहिले पनि सरकारी संरचना अपांगतामैत्री नभएको बताए । उनले यात्रा गरेका स्थानीय तहका प्रमुख र प्रमुख जिम्मेवारी व्यक्तिहरु बस्ने कार्यकक्ष माथिल्लो तलामा छन् । आफूले यात्रा गरेका साढे चार सय बढी स्थानीय तहमध्ये मुस्किलले ५० वटा मात्रै पालिकामा अपांगतामैत्री संरचना रहेको सन्देशको भनाइ छ । ‘कुनै पनि सरकारी कार्यालय र प्रमुख माथिल्लो तलामा रहेको मैले पाएको छुँ । तल्लो तलामा मात्रै कार्यकक्ष भएमा अपांगता भएका व्यक्तिहरुलाई सहजता हुनु हो,’ उनले भने ।
स्थानीय तहमा ¥याम र लिफ्ट सिस्टम हुनुपर्ने उनको माग छ । स्थानीय तहमा बन्ने संरचना अपांगतामैत्री हुनुपर्ने उनले बताए । उनी यात्रासँगै स्थानीय तहमा नीति निर्माण तहमा समेत काम गर्दै आएका छन् । देशका विभिन्न पालिकाबाट आफूलाई बोलाइने गरेको उनले बताए । रम्तेलको परिवारमा नौजना सदस्य छन् । उनको घर आमाको भरमा चलेको छ । बुवा हुनुहुन्न । उनी आफू आफ्ना स्वर्गीय बुवाको प्रेरणाले समाज सेवामा लागेको बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्