कोहलपुर, कोहलपुर नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सार्वजनिक शौचालय निःशुल्क प्रयोग गर्न पाइने भएको छ । कोहलपुर नगरपालिका र नगर विकास समितिअन्तर्गत रहेका शौचालय निःशुल्क प्रयोग गर्न पाइने भएको हो ।

कोहलपुर नगरपालिकाले निर्माण गरेको कार्यविधिअनुसार कोहलपुर क्षेत्रमा रहेका सार्वजनिक शौचालय निःशुल्क प्रयोग गर्न पाइने जनाइएको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालका अनुसार कोहलपुर नगरपालिकामा रहेका जुनसुकै सार्वजनिक शौचालय अब निःशुल्क प्रयोग गर्न पाइनेछ । शौचालयमा दिशा र पिसाब गर्दा अब कुनै पनि शुल्क नलाग्ने उनले बताए ।
हाल कोहलपुर नगरपालिका र नगर विकास समितिअन्तर्गत तीनवटा शौचालय सञ्चालनमा छन् । सानो दुरीको बसपार्क क्षेत्रमा दुईवटा शौचालय छन् । यहाँ अहिले कुनै पनि व्यक्तिले शौच गर्दा शुल्क तिर्नुपर्छ ।
ती शौचालय प्रयोग गरेमा दिशा गरेबापत प्रतिव्यक्ति १० रुपैयाँ र पिसाबको पाँच रुपैयाँ तिर्नुपर्छ । यस्तै न्यूरोडमा समेत सार्वजनिक शौचालय सञ्चालनमा छ । उक्त शौचालय पनि अब नागरिकका लागि निःशुल्क प्रयोगको व्यवस्था गर्ने उनले बताए । चौराहा नजिकै निर्माणाधीन अवस्थामा रहेको बसपार्कमा समेत शौचालय निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको उनले बताए ।
वैशाख १५ गतेसम्म सञ्चालनको तयारीमा रहेको लामोदुरीको नयाँ बसपार्क सञ्चालन र दिइने व्यवस्थाका विषयमा चैत १० गते बसेको कोहलपुर नगर कार्यपालिकाको बैठकले नगरपालिकाको नयाँ बसपार्क सञ्चालन एवम् व्यवस्थापनका लागि कोहलपुर बसपार्क व्यवस्थापन कार्यविधि २०७९ माथि छलफल भएको उनले बताए ।
बैठकले कार्यविधि स्वीकृत गरिसकेको छ । कार्यविधिमा बसपार्क सञ्चालनमा आएपछि बसपार्क सञ्चालनको जिम्मा लिने कम्पनीले नगरपालिकालाई शुल्क तिर्ने र नागरिकले तिर्नु नपर्ने व्यवस्था गरिएको उनले बताए । बसपार्क सञ्चालन भए पनि प्रवेश, पार्किङ शुल्क तिर्नुपर्ने उनले बताए ।
‘कोहलपुरमा चारवटा शौचालय छन् । अहिले तीनवटा सञ्चालनमा छन् । थप नयाँ शौचालय पनि थपिन्छ । नयाँ बसपार्कमा रहेको शौचालय सञ्चालनमा आएमा चारवटा शौचालय निःशुल्क प्रयोग गर्न पाइने व्यवस्था गरिएको छ,’ उनले भने । नयाँ बसपार्कको शौचालय सञ्चालनमा आएपछि र अन्य शौचालय व्यवस्थापनको जिम्मा लिएपछि लागू हुने उनले बताए ।
यो निर्णयपछि सर्वसाधारणले सहजै शौच गर्न सक्ने छन् । बजार क्षेत्रमा शौच लागे कतिपय रकम अभावमा शौचालय प्रयोग गर्नबाट वञ्चित थिए ।









प्रतिक्रिया दिनुहोस्