आठ दिने मेलमिलाप तालिम सम्पन्न



कोहलपुर, मेलमिलापसम्बन्धी आठ दिवसीय तालिम सम्पन्न भएको छ । कोहलपुर नगरपालिका न्यायिक समितिको आयोजनामा सुरु भएको आठ दिने तालिम सम्पन्न भएको हो ।
तालिमको समापनमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य सञ्जुकुमारी चौधरीले मेलमिलाप न्याय सम्पादनको उत्कृष्ट माध्यम भएको बताइन् । तालिम समापनसत्रकी प्रमुख अतिथिसमेत रहेकी प्रदेशसभा सदस्य चौधरीले गाउँ तथा वडास्तरमा मेलमिलाप कार्यलाई प्रभावकारी बनाउनुपर्ने बताइन् । न्याय सम्पादन प्रक्रियामा केही असहजता उत्पन्न हुने भए पनि तालिममा सिकेका कुरामा व्यवहारमा लागु गर्न उनले आग्रहसमेत गरिन् । ‘स्थानीय सरकारले लगानी गरेको छ । तपाईंहरुले प्रतिफल दिन सक्नुपर्छ । मेलमिलापकर्तालाई निरन्तरता दिन आवश्यक छ,’ उनले भने ।


उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका कानुनी सल्लाहकार कर्णबहादुर केसीले मेलमिलापकर्ताहरुको भूमिका निकै महŒवपूर्ण रहेको बताए । उनका अनुसार न्यायाधीशहरुका पनि न्यायाधीश मेलमिलापकर्ता हुन् । तालिममा सिकेका कुरा पालना गर्न र केही समस्या भए समाधानका लागि आफूहरुलाई जतिबेला पनि भेट्न सकिने केसीले बताए । उक्त अवसरमा कोहलपुर कोहलपुर नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक संगीता सुवेदीले न्याय सम्पादनमा सहज होस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताइन् ।

अब मेलमिलापकर्ताहरुले न्याय सम्पादनमा सहज हुने अपेक्षा रहेको उनले बताइन् । कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष लालबहादुर रानाले मेलमिलापकर्ताहरुले राजनीतिक विचारको र आस्थाको आधारमा कार्य गर्न नहुने बताए । उनका अनुसार न्याय सम्पादन प्रक्रियामा दलीय आवद्धता तथा आस्था जोडिनु हुँदैन ।
यस्तै कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य ईश्वरीप्रसाद विश्वकर्माले कोहलपुर नगरपालिकालाई न्यायमैत्री स्थानीय सरकारका रुपमा विकास गर्न यस्ताखालका तालिमले भूमिका खेल्ने बताए । अर्की सहभागी जानकी पुनले तालिम मेलमिलापकर्ताहरुको लागि सहयोगी भएको भन्दै आगामी दिनमा पनि यस्ता कुराहरु आवश्यक रहेकोमा जोड दिए । उक्त अवसरमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिममा कोहलपुर नगरपालिकाका १५ वटा वडाका ३२ जना सहभागी थिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत १३ गते सोमबार