नेपालगन्जमा आकाशे पुल: भदौमा शिलान्यास, डिजाइन बल्ल स्वीकृत हुँदै



अहिले नेपालगन्जको गणेशमान चोक, विपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक, कारकाँदो चोक र राँझा चोकमा पुल निर्माण गर्ने भनिएको छ । तर, कहाँनिर बनाउने भन्ने यकिन भइसकेको छैन ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

२०७९ साल भदौ ४ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले राँझा चोकमा ‘पैदल यात्रु आकाशे पुल’को शिलान्यास गरेको घोषणा गरे । शिलान्यास अर्थात्, जगमा शिला राखेर निर्माण आरम्भ गर्ने काम । तर, राईले जगमा शिला नराखी सडकको बीचमा सिमेन्टले बनाइएको एक स्तम्भमाथि शिलान्यासको कर्मकाण्ड पूरा गरेका थिए ।

उनको त्यो शिलान्यासको अभिनय उक्त योजना आफ्नै कारणले ल्याउन सम्भव भएको देखाउने पूर्णतया राजनीतिक प्रपन्च भएको भन्दै चौतर्फी आलोचना भएको थियो । भदौ ४ गते शिलान्यास गरिएको भनिएको आकाशे पुल निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता भने २०७९ कात्तिक २८ गतेमात्रै भयो । यतिमात्रै होइन, नेपालगन्जका पाँच ठाउँमा निर्माण गर्ने भनिएका ती आकाशे पुलको डिजाइन अझै स्वीकृत भएको छैन ।

डायनामिक कन्सट्रक्सन नामक निर्माण कम्पनीसँग सम्झौता भएपश्चात कम्पनीले सबैभन्दा पहिले राँझा चोकमै आकाशे पुल निर्माणका लागि काम थालेको थियो । आकाशे पुल निर्माण गर्नका लागि खनिएको खाल्डो राँझा चोकमा अझै छ । खाल्डो खनिसकेपछि मात्रै सडक डिभिजनले उक्त स्थानमा पुल बनाउने हो भने पुलको अर्काे छेउ नालामा पर्ने थाहा पाएछ ।

सडक डिभिजन कार्यालय नेपालगन्जका सूचना अधिकारी जनक धामीका अनुसार उक्त स्थानमा पुल बनाउने हो भने एउटा छेउ सिक्टा सिँचाईको डुडुवा नालामा पर्ने भएपछि डिजाइन ‘रिभ्यु’ गर्नुपर्ने (सच्याउनु पर्ने) आवश्यकता महसुस गरियो । त्यसपछि पाँचवटै आकाशे पुलको स्थलगत अध्ययन गरी पुरानो डिजाइनमा परिवर्तन गरेर नयाँ डिजाइन सडक विभागमा पठाइएको उनले बताए । अब उक्त डिजाइन स्वीकृत भएर आएपछि मात्रै काम सुरु हुने उनले बताए ।

उनका अनुसार पहिले आकाशे पुलको लम्बाई १३ मिटर बनाउनेगरी डिजाइन गरिएकोमा अब स्थानअनुसार आवश्यक लम्बाई र पहिलेको भन्दा उचाई पनि थप गरेर नयाँ डिजाइन बनाइएको धामीले जानकारी दिए । अब आकाशे पुलको उचाई पाँच मिटरभन्दा बढी हुने उनले बताए । उनी डिजाइन रिभ्यु गर्नुपर्ने आवश्यकता महसुस गरेर पहिले नै बजेट माग गरिएको बताउँछन् ।

अब नयाँ डिजाइन स्वीकृत भएर आएपछि धमाधम काम सुरु हुने र तोकिएको समयभित्रै काम सम्पन्न हुने धामी दाबी गर्छन् । निर्माण कम्पनीसँग पाँचवटा आकाशे पुल १५ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी कात्तिक २८ गते सम्झौता गरिएको छ । पुलहरु निर्माण गर्नका लागि करसहित आठ करोड २१ लाख ४५ हजार रुपैयाँमा लागतको सम्झौता भएको छ ।

सम्झौता गरिएको अवधिको चार महिना घर्किसकेको छ । अझै डिजाइन स्वीकृत भएको छैन । सूचना अधिकारी धामी केही दिनमै डिजाइन स्वीकृत भएर आउने र काम सुरु हुने बताउँछन् । आकाशे पुल निर्माणका लागि स्थानको छनौट भएको छैन भन्नेबारेमा मिसन टुडेले मन्त्री राईले शिलान्यास गरेकै समयमा समाचार प्रकाशित गरेको थियो । अहिले नेपालगन्जको गणेशमान चोक, विपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक, कारकाँदो चोक र राँझा चोकमा पुल निर्माण गर्ने भनिएको छ ।

तर, कहाँनिर बनाउने भन्ने यकिन भइसकेको छैन । विशेषगरी सडक दायाँबायाँ आवासहरु निर्माण भइसकेका स्थानमा पुल निर्माण गर्दा सहज नहुने देखिन्छ । सडक डिभिजन भने सडक क्षेत्रमा कुनैपनि निर्माण कार्य गर्नका लागि डिभिजन कार्यालयलाई कुनै अवरोध नहुने दाबी गर्छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत ५ गते आइतबार