नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिकाले वर्षा अगावै काम सक्ने गरी नाला सफाइको काम थालेको छ । वर्षायाममा हुने डुबान न्यूनिकरण गर्न साना ठूला सबै नाला सफाइ गर्न थालिएको उपमहानगरपालिकाले जनाएको छ । यसअघि सामान्यरुपमा डुबानका बेला मात्र बजार क्षेत्रका नाली सफाई गर्ने गरिए पनि वर्षौंदेखि सबै नाला सफा गरिएको छैन ।

दुई वटा प्याकेजमा नाला सफाइ गर्ने गरी काम सुरु गरिएको नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर निवेशकुमार शर्माले जानकारी दिए । पहिलो चरणमा बजार क्षेत्र भएर बग्ने ठूलो नाला र दोन्द्रा नालाको अन्तिम विन्दु (आउटलेट) बाट सफाईको काम थालिएको छ । बजार क्षेत्रभित्रको मुख्य नाला र दोन्द्रा नाला मिसिएर बनेको दोधारा नालाको अन्तिम विन्दुबाट काम थालिएको उनले बताए । जेसिबीले सफाइ गर्न सक्ने ठाउँमा जेसिबी र जेसिबीले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाइ गरिने शर्माको भनाइ छ ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृृत शिवप्रसाद रिजाल र इन्जिनियर शर्माले शनिबार भेरी प्राविधिक शिक्षालय भएर बग्ने नालाको अन्तिम विन्दुमा भइरहेको सफाईको अवलोकन समेत गरेका थिए । त्यस क्रममा नगर प्रमुख विष्टले उपमहानगरपालिकाको मुख्य समस्याको रुपमा रहेको डुबान समस्या समाधानका लागि मुख्य नालाहरुको आउटलेट सफा गर्नुपर्ने आवश्यकता महसुस भएपछि काम सुरु गरिएको बताए ।
‘नालाको आधाभन्दा बढी भाग माटोले पुरिएको अवस्था छ । कतिपय ठाउँमा जेसिबी प्रयोग गर्न सकिने अवस्था छैन ।

त्यसैले मान्छे नै लगाएर सफाई गरिरहेका छौं,’ नगर प्रमुख विष्टले भने, ‘सहरको करिब ७० प्रतिशत पानी बग्ने मुख्य नाला सफाई मुख्य प्राथमिकतामा राखेका छौं । यहाँबाट (अन्तिम बिन्दु) भेरी प्राविधिक शिक्षालयसम्म र बजार क्षेत्रमा कर्णाली विकास बैंक छेउँसम्म राम्रोसंग सफा गर्न सकियो भने पानीको सहज निकास हुन्छ ।’ विष्टले नेपालगञ्ज उपमहानगरपालिकाभित्र नालाको पर्याप्त नेटवर्क भएपनि सहजरुपमा पानीको निकास नहुँदा समस्या निम्तिने गरेको बताए ।
‘विगतमा बजारको वरिपरि मात्रै सफाइ गर्ने काम भयो । अब हामीले अन्तिम विन्दुबाट आमरुपमा सफाई थालेका छौं । दुई चरणमा काम गर्छौं । पहिलो चरणमा ठूला नाला र दोस्रो चरणमा साना नाला सफाई गर्छौं । यसले नेपालगन्जलाई डुबान हुनबाट जोगाउनेछ,’ उनले भने । एक महिनामा सफाई सक्ने गरी काम अघि बढाइएको उनले बताए ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजालले कर्णाली विकास बैंक क्षेत्र वरपरको नाला र भेरी प्राविधिक शिक्षालय तलतिरको नाला स्थलगत हेर्दा धेरै ठाउँमा माटोले पुरिएको, झाडी नै देखिएको र कतिपय ठाउँमा बयरका घारी समेत उम्रिएको पाइएकाले यी क्षेत्रहरुमा सफाइ गर्दा पानीको निकास सहज होस् भन्ने उद्देश्यका साथ सफाई थालिएको बताए ।









प्रतिक्रिया दिनुहोस्