वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपालगन्ज विमानस्थलमा गत असारमै कार्गाे चेकजाँचका लागि एक्स–रे मेसिन आएको थियो । तर, मेसिन आएको आठ महिनासम्म पनि जडान नहँुदा प्रयोगमा नआउँदै बिग्रिएको छ । कर्णाली र सुदूरपश्चिका पाँच जिल्लामा उडान हुने नेपालगन्ज विमानस्थलबाट सामानको पनि ढुवानी अत्यधिक हुने गरेको छ ।
सागपातदेखि मासुसम्म, चिनीदेखि चामलसम्म, फलामका छडदेखि सिमेन्ट र पाइपसम्म हवाइजहाजले बोकेर लैजान्छन् । तर सुरक्षाका दृष्टिकोणले संवेदनशील र व्यस्त विमानस्थलमा कार्गाेलाई चेकजाँच गर्ने मेसिनको सट्टा सुरक्षाकर्मीले हातले छामेर र आँखाले हेरेर सामान पठाउने गरेका छन् ।
ल्याइएको मेसिन खुला आकाशमा राखिँदा र प्रयोग नगरिँदा बिग्रिएको विमानस्थल स्रोतले जनाएको छ । यात्रुहरुका सानातिना सामान चेकजाँच गर्न अहिले विमानस्थलको टर्मिनलमा मात्रै एउटा एक्स–रे मेसिन छ । कार्गाे पठाउने ठाउँमा भने प्रहरीले हातले छामेर र आँखाकै भरमा सामान चेकजाँच गरिरहेका छन् ।
सेवाग्राहीको लामो समयदेखिको गुनासो र मिसन टुडेमा पटकपटक समाचार प्रकाशनपछि कार्गाे जाँच्न मिल्ने एक्स–रे मेसिन विमानस्थलमा ल्याइएको थियो । तर आठ महिना बितिसक्दा पनि प्रयोगमा नआउँदा करोडौंको मेसिन बिग्रिएको हो । विमानस्थलमा अत्यावश्यक कार्गाे मेसिन प्रयोगमा नआउँदै बिग्रदा दुःख लागेको सुरक्षाकर्मीहरु बताउँछन् ।
नेपालगन्ज विमानस्थलबाट दैनिक ५० देखि ६० वटा उडान हुँदै आएका छन् । मौसम सफा भएमा हप्तामा २० भन्दा बढी कार्गाे उडान पनि हुने गरेका छन् । गत असोजमा मिसन टुडेसँग कुरा गर्दै विमानस्थलका प्रमुखले मेसिन आए पनि प्रयोगमा ल्याउन नसक्नुमा विभिन्न प्राविधिक कारणहरु रहेको बताएका थिए । यद्धपि चाडै मेसिन सञ्चालनमा ल्याइने उनको भनाइ थियो ।
अहिले पनि उनको जवाफ त्यस्तै छ । एउटा उपकरण नआउँदा जडानमा ढिलाइ भएको जानकारी पाएको विमानस्थलका प्रमुख सुरेश खनालले बताए । आफूहरुले मेसिन राख्न बनाउनुपर्ने सेड भने बनाइसकेको उनको भनाइ छ ।
मिसन टुडेले विमानस्थल प्रमुख खनालसँग मेसिन बिग्रिएको बारे जिज्ञासा राख्दा उनले भने, ‘मेसिन बिग्रिएको हो कि होइन भन्नेबारेमा हाम्रो अलग्गै शाखा छ केन्द्रमा, त्यहाँका इन्जिनियहरुले नै भन्न सक्छन् । मेसिन जडानमा ढिलाइ भने भएकै हो । यो काम हेड अफिसको उपकरण विभागले गर्ने हो । हामीले चाडो गर्नुप¥यो भनिरहेका छौँ । उहाँहरु आउनुभएको छैन ।’









प्रतिक्रिया दिनुहोस्