
बाँके ।
मर्निङ वाकमा हिडिरहेका वृद्धलाई कुटपिट गरी हत्या गर्न खोज्ने एक युवकलाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ । कोहलपुर– १२ चप्परगौडीका ६८ वर्षीय मिनराज अधिकारी गत असोज २५ गते बिहान गम्भीर घाइते अवस्थामा फेला परेका थिए ।
प्रहरीले उनीलाई उद्दार गरेर उपचारको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पु¥याएको थियो । अधिकारीलाई कुटपिट गरेको आरोपमा स्थानीय २४ वर्षीय तिलक केसीलाई कोहलपुर प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
केसीले एक्लै मर्निङ वाकमा निस्किएका अधिकारीलाई सुरुमा आक्रमण गरेको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लले जानकारी दिए ।
‘सुरुमा एक्लै देखेर केसीले सडकमा नै आक्रमण गरेको देखिन्छ । त्यसपछि वृद्ध ज्यान बचाउनको लागि भाग्दै घरमा गएपछि त्यही गएर पनि ईट्टाले टाउकोमा प्रहार गरेको अनुसन्धानबाट खुलेको छ’ उनले
भने ।
छिमेकी समेत रहेका केसीको पूरानो व्यक्तिगत रिसिबी भएकोले मौका छोेपेर अधिकारीमाथि आक्रमण भएको डिएसपी मल्लले बताए । अनुसन्धानबाट ज्यान मार्ने उद्देश्यले नै पक्राउ परेका केसीले पछाडीबाट अधिकारीलाई टाउकोमा ईट्टा प्रहार गरेको देखिएको कोहलपुर प्रहरीले जनाएको छ ।
‘पूरानो व्यक्तिगत रिसिबी समेत रहेकोले एक्लै भएको मौका छोपेर आक्रमण गरेको देखिन्छ’ डिएसपी मल्लले भने, ‘आफुमाथि अलौकिक शक्ति आएर अनियन्त्रित भई वृद्ध अधिकारीमाथि हमला गरेको समेत बयान केसीले दिएका छन् । बयान जे दिएपनि रिसिबीका कारण आक्रमण गरेको अनुसन्धानबाट खुल्छ ।’
वृद्धलाई आक्रमण गरेर घरमै लुुकिछिपी बसेको अवस्थामा केसीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका केसीमाथि ज्यान मार्ने मुद्दामा अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गरिरहेको कोहलपुर प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्