कोहलपुर ।
पश्चिम नेपालको प्रवेशद्वार कोहलपुरमा दुईवटा आकासे पुल निर्माण हुने भएका छन् ।
यहाँका मुख्य सडक क्षेत्रमा हुने सम्भावित दुर्घटना न्यूनीकरण र पैदलयात्रीको सुरक्षाका लागि आकासे पुल निर्माण गर्न लागिएको हो । सडक दुर्घटनाको उच्च जोखिम मानिने हाइस्कुल र साझा चोकमा आकासे पुल निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
यसका लागि इञ्जिनियरको सहभागितामा प्रारम्भिक नापजाँचसमेत गरिएको छ । कुल १२ लाख रुपैयाँको लागतमा डीपीआर सम्पन्न भइसकेको छ । उक्त आकासे पुल निर्माणका लागि नगरप्रमुख पूर्णप्रसाद आचार्य नेतृत्वको नगरपालिकाले पहिलोपटक इञ्जिनियरको सहभागितामा प्रारम्भिक जाँच गरेको हो ।
कोहलपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा समेत वडा नम्बर १० हाइस्कुलचोक र वडा नम्बर ११ मा रहेको साझाचोकमा आकासे पुल निर्माण कार्यलाई अघि बढाउने उल्लेख गरेको छ ।
नगरप्रमुख आचार्यले नीति तथा कार्यक्रममै दुई स्थानमा आकासे पुल निर्माणका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गरिने उल्लेख गरिएको बताए । उनले संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद ईश्तियाक राईसँग आकासे पुल निर्माणका लागि अनुरोध गरिएको बताए ।
मन्त्री राईले कोहलपुर नगरपालिकाको संस्थागत आग्रहलाई स्वीकार गरेर इञ्जिनियरको टोली पठाइदिएको बताए । शुक्रबार सडक डिभिजन कार्यालय नेपालगन्जका इञ्जिनियरहरुको टोलीले प्रारम्भिक नापजाँच गरेको हो ।
यसअघि कोहलपुर–नेपालगन्ज सडकखण्डअन्तर्गत न्यूरोड, साझा र हाइस्कुलचोकमा आकासे पुल निर्माण गरिन बताइएको थियो । नगर अहिले न्यूरोडबाहेक अन्य दुई स्थापनामा आकासे पुल निर्माणको प्रारम्भिक चरणको काम सुरुवात गरेको हो ।
आकासे पुल निर्माणका लागि न्यूनतम एक करोड ७५ लाखदेखि दुई करोडसम्म लागत लाग्ने अनुमान छ । डीपीआरमा साझाचोकमा निर्माण गरिने पुल ५० मिटर र हाईस्कुलचोक क्षेत्रमा निर्माण गरिने पुल ५२ मिटर लम्बाइको हुने उल्लेख छ । आकासे पुलमा पिलर आरसिसीवाला हुनेछन् ।
साढे पाँच करोड बजेट माग
चालू आर्थिक वर्षको बजेटमा कोहलपुर नगरपालिकाले आकासे पुल निर्माणका लागि डेढ करोड बजेट विनियोजन गरेको छ । तर, डीपीआरमा तीनवटा आकासे पुल निर्माण गर्न कूल ६ करोड लाग्ने अनुमान छ ।
जुन स्थानीय तहले आफ्नै खर्चमा निर्माण गर्न सम्भव छैन । नगरप्रमुख आचार्यले आकासे पुल निर्माणका लागि संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग साढे पाँच करोड बजेट माग गरिएको बताए ।
उनका अनुसार मन्त्रालयसँग हाइस्कुल चोकमा आकासे पुल निर्माणका लागि एक करोड ७६ लाख ८२ हजार, न्यूरोडचोकमा आकासे पुल निर्माण गर्न दुई करोड ४ लाख र साझाचोकमा निर्माण हुने आकासे पुलका लागि एक करोड ६६ लाख रुपैयाँ माग गरिएको थियो ।
न्यूरोड चोकको हकमा आफूहरुले बजेट माग गरेको तर, मन्त्रालयले नै आगामी वर्षको योजनामा समेट्ने गरी बजेटको व्यवस्थापन गर्ने आश्वासन दिएको नगरप्रमुख आचार्यको भनाइ छ । ‘यसअघि हामीले आग्रह गरेका थियो । मन्त्रीले मन्त्रालय मातहतको कार्यालयबाट इञ्जिनियर पठाउनु भएको छ । टोलीले नापजाँच गरेको छ । अब उनीहरुले प्रतिवेदन तयार गर्छन् । सोहीअनुसार प्रक्रिया अघि बढ्छ,’ मिसन टुडेसँग कुराकानी गर्दै आचार्यले भने ।









प्रतिक्रिया दिनुहोस्