बाँके ।
बर्दियाको बाँसगढीमा आफ्नै ३ वर्षीय छोराको हत्या गरेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।
बैतडी घर भइ हाल बाँसगढीमा बस्दै आएका डम्बरबहादुर बोहोरा छोराको हत्या आरोपमा पक्राउ परेका हुन् । सोमबार उनीलाई कोहलपुरबाट आफन्तले जिम्मा लगाएर प्रहरीको जिम्मा लगाएका थिए ।
‘आफन्तहरुले नियन्त्रणमा लिएर उहाँलाई प्रहरीको जिम्मा लगाउनुभएको थियो,’ बर्दिया प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य प्रकाश सुवेदी भने, ‘पछि सोधपुछ गर्दै जाँदा छोराको शव जंगलमा रहेको बताएपछि प्रहरी जाँदा शव भेटियो ।’
उनी बाँसगढी बजारमा घर भाडामा लिएर बस्दै आएका थिए । साउन १६ गते बिहान करिब ७ बजे तिर छोरालाई घरबाट लिएर बोहोरा सम्पर्कविहीन भएका थिए ।
छोरालाई लिएर बोहोरा सम्पर्कविहीन भएपछि आफन्तले छोराको खोजी गरिपाउँ भनेर ईलाका प्रहरी कार्यालय बाँसगढीमा निवेदन दिएका थिए । तर, प्रहरीले खोजी गर्दा पनि बच्चा फेला पार्न सकेको थिएन ।
बाबु बोहोरा पक्राउ परेपछि सोमबार अनुसन्धानका क्रममा बाँसगढी नगरपालिका र बारबर्दिया नगरपालिकाको सीमाना पर्ने ग्याङ नदीको पश्चिम जनकल्याण मध्यवर्ती सामुदायिक वनमा बालकको शव भेटिएको थियो ।
‘बाबु पक्राउ परेपछि अनुसन्धानका क्रममा सोधपुछ गर्दा दिएको लोकेसनको आधारमा खोज्दै जाँदा बालकको शव भेटियो,’ बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्रबहादुर शाहीले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ ।’
पारिवारिक स्रोतका अनुसार छोराको हत्या आरोपमा पक्राउ परेका बोहोराको श्रीमतीसँग समेत राम्रो सम्बन्ध थिएन । घटनाको विभिन्न कोणबाट अनुसन्धान जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय बाँसगढीले अनुसन्धान गरिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्