वास्तवमा सेड्युल उडान नगरिएको दिन चार्टर उडान गर्न नपाइने नियम हो । उक्त नियमको नेपालगन्ज विमानस्थललगायत काठमाडौं बाहिरका कार्यालयबाट प्रभावकारी कार्यान्वयन नभएको पाइएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अब सेड्युल, ननसेड्युल, चार्टर र कार्गाे उडानका लागि पनि काठमाडौंबाटै अनुमति लिनुपर्ने नियम लगाएको छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
यात्रु नभएको भन्दै सेड्युल उडानको अनुमति नलिने, तर महँगो शुल्क लिएर चार्टर उडान गर्ने, नेपालगन्ज विमानस्थलबाट कर्णालीका पहाडी तथा हिमाली जिल्लामा उडान गर्ने निजी हवाइ कम्पनीहरुको प्रवृत्ति हो । यस प्रवृत्तिका कारण कर्णालीवासीले निकै सास्ती झेल्दै आएका छन् । एक त अनेक झन्झट व्यहोरेपछि यात्रु टिकट पाउँछन् । टिकट पाए पनि मौसमका कारण समयमा जहाज उड्ने नउड्ने ठेगान हुँदैन ।
अर्काेतिर यात्रु नभएको बाहना बनाउँदै नियमित उडानको अनुमति नलिएका दिनमा पनि चार्टर उडान गर्ने प्रवृत्तिले एकातिर गरिब नागरिकले हवाइ उडानको सुविधा लिन नपाउने अवस्था छ भने चार्टर उडानमा यात्रा गर्नेहरुले पनि अनाहकमा बढी शुल्क तिर्नुपर्ने अवस्था छ ।
वास्तवमा सेड्युल उडान नगरिएको दिन चार्टर उडान गर्न नपाइने नियम हो ।
उक्त नियमको नेपालगन्ज विमानस्थललगायत काठमाडौं बाहिरका कार्यालयबाट प्रभावकारी कार्यान्वयन नभएको पाइएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अब सेड्युल, ननसेड्युल, चार्टर र कार्गाे उडानका लागि पनि काठमाडौंबाटै अनुमति लिनुपर्ने नियम लगाएको छ । यस नियमले निजी हवाइ उडान कम्पनी हच्किएका छन् ।
यो नियम नागरिक उड्ड्यन र विमान कम्पनीबीचको मामिला भए पनि त्यसले नागरिक प्रत्यक्ष प्रभावित भएका छन् । यही नियमको प्रभावका कारण आइतबार नेपालगन्ज विमानस्थलबाट कुनै पनि उडान भएन । त्यसको असर पुनः नागरिकहरुले नै झेल्नुप¥यो ।
साउन १ गतेदेखि लागु हुने भनिएको यो नियमकै कारण साउन १ गते आइतबार नेपालगन्जबाट पहाडी जिल्लामा उडान हुन पाएनन् । यात्रुहरु मर्कामा परे ।
नेपालगन्ज विमानस्थलका प्रमुख सुभाष झा सबै उडानको अनुमति एकै ठाउँबाट दिँदा सजिलो हुने भएकोले उक्त नियम लगाइएको बताउँछन् । तर, नागरिक उड्यन प्राधिकरणका सहायक प्रवक्ता तथा सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार काठमाडौं बाहिरका कार्यालयबाट उक्त नियमको कडाइपूर्वक कार्यान्वयन नभएको पाइएपछि केन्द्रबाटै गर्न खोजिएको हो ।
उनका अनुसार अब हवाइ कम्पनीहरुले नियमित उडानको अनुमति नलिएको दिन अरु उडान गर्न पाउने छैनन् । यसले नागरिकहरुले नियमित उडानको सुविधा सहजरुपमा पाउने आशा गरिएको भुलले बताए ।
एयरलाइन्सहरुले कर्णालीमा सेड्युल उडानले मात्रै यात्रुको चाप नधान्ने भएकोले चार्टर उडान हुने गरेका दाबी गर्दै आएका छन् । अर्काेतिर हिमाली जिल्लामा समानहरुको ढुवानीका लागि पनि हालसम्म हवाइ मार्ग नै सबैभन्दा भरपर्दाे विकल्पका रुपमा रहेकोले कार्गाे उडान पनि त्यतिकै मात्रामा भइरहने गरेका छन् ।
‘प्राधिकरण उल्टो बाटो हिँड्यो’
एयरलाइन्स सम्बद्धहरु भने प्राधिकरण उल्टो बाटो हिँडेको तर्क गर्छन् । हवाइ उडान कम्पनी यति र तारा एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैला नागरिक उड्डयन प्राधिकरणले संघीयताको मुल मर्म विकेन्द्रीकरणको उल्टो केन्द्रीकृत नियम लगाएको बताए । उनले आफ्नै मातहतका कर्मचारीहरुलाई प्राधिकरणले विश्वास नगरेको अर्थमा अहिलेको नियमलाई बुझ्नुपर्ने बताए ।
नेपालगन्जमा विमानस्थलमा ११औँ तहका निर्देशक प्रमुख छन् । तर, पनि नेपालगन्जलगायत काठमाडौं बाहिर रहेका विमानस्थलको अधिकार खोसेर केन्द्रमा ल्याउनु सही नभएको बर्तौला बताउँछन् । यस नियमले सबैभन्दा बढी अप्ठ्यारो नेपालगन्ज र पोखरा विमानस्थलमा पर्ने उनले बताए । नागरिक उड्डयन प्राधिकरणले पहिलेदेखि नै हचुवाका भरमा निर्णय गर्ने र पछि छलफल गर्ने गरेको गुनासो बर्ताैलाको छ ।
यस नियमले सेवाग्राहीहरुले नै समयमा सेवा नपाउने अवस्था सिर्जना हुने उल्लेख गर्दै बर्ताैलाले भने, ‘जस्तो कि आज कुनै चार्टर पार्टी आयो भने आजै नहुने भो । भोलि हुने भो । रेस्क्यु गर्नुप¥यो, केही अप्रेसन गर्नुप¥यो भने समय लाने भो ।’ यस विषयमा एयरलाइन्सहरु प्राधिकरणसँग छलफलमा लागेका उनको भनाइ छ ।
तर प्राधिकरणका सहायक प्रवक्ता भुल नियमको अक्षरशः पालना गर्ने हो भने कुनै समस्या नआउने बताउँछन् । ‘यो व्यवस्था हामीले कर्णालीका नागरिकहरु, जनप्रतिनिधिज्यूहरु, मन्त्रीज्यूहरुको अनुरोधमा लागु गरेका हौँ । निजी कम्पनीहरुले समयमै हामीलाई नियमअनुसारको उडानको लागि अनुमति माग्नुभयो भने त्यसमा कुनै बाधा आउँदैन,’ उनले भने ।
एयरलाइन्सहरुले यस व्यवस्थालाई देखाएर नागरिकहरुलाई दुःख दिन थाले भने के हुन्छ ? भन्ने प्रश्नमा प्रवक्ता भुलले भने, ‘यदि नियमअनुसार सेड्युल उडान भएन भने कारबाहीको व्यवस्था पनि छ ।’
‘अब अनलाइनबाटै टिकट काट्ने व्यवस्था गराउँछौँ’
ज्ञानेन्द्र भुल, सहायक प्रवक्ता
नेपाल नागरिक उड्ययन प्राधिकरण
सेड्युल उडान गरेर नागरिकलाई सेवा दिइसकेपछि मात्रै धेरै यात्रुहरु भएको खण्डमा वा विशेष परिस्थितिमा चार्टर उडान गर्नुपर्ने नियम हो । तर यहाँ त सेड्यलुको लागि अनुमति नलिएको दिन पनि चार्टर उडान गर्ने गरियो ।
यस नियमको पालना कडाइपूर्वक भएको नपाइएपछि चार्टर उडानका लागि पनि साउन एक गतेदेखि काठमाडौंबाटै अनुमति लिनुपर्ने भनेर हामीले एक महिना अघि नै सूचना जारी गरेका थियौँ ।
यो व्यवस्था हामीले कर्णालीका नागरिकहरु, जनप्रतिनिधिज्यूहरु, मन्त्रीज्यूहरुको अनुरोधमा लागू गरेका हौँ ।
अब हवाइ कम्पनीहरुले नियमित उडानको अनुमति नलिएको दिन अरु उडान गर्न पाउने छैनन् । यसले नागरिकहरुले नियमित उडानको सुविधा सहजरुपमा पाउने हामीले आशा गरेका छौँ ।
यस नियमले सेड्युल उडानको निश्चितता हुन्छ । त्यसपछि अनलाइनबाटै टिकट लिन मिल्ने व्यवस्था गर्न पनि सजिलो हुन्छ ।
त्यसो, भयो भने यात्रुहरुले धेरै सहज सुविधा प्राप्त गर्छन् भन्ने अपेक्षा गरिएको छ । एक महिना यस नियमलाई पालना गराएर हेर्छाैँ । त्यसपछि अनलाइनबाट टिकट लिने व्यवस्थातिर पनि लाग्छौँ ।









प्रतिक्रिया दिनुहोस्