नेपालगन्ज ।
बाँकेमा पनि ‘नैरोबी फ्लाइ’ नामक किराका कारण मानिसहरुमा छालाको समस्या देखिन थालेको छ ।
बाँकेसहित तराईका जिल्लामा पछिल्लो केही दिनयता केन्यानी किराका नामले पनि चिनिने उक्त किराले शरीरमा बसेपछि छोड्ने अम्लिय पदार्थका कारण छालामा जलिउरा जस्तै खटिरा आउने गरेको पाइएको छ ।
भेरी अस्पतालमा कार्यरत छालारोग विशेषज्ञ डा. आरके झाका अनुसार शुक्रबार करिब आधा दर्जन व्यक्तिहरु किराका कारण खटिरा आएको भन्दै अस्पताल पुगेका उनले बताए । यद्यपि नैरोबी फ्लाइ कै कारण उक्त समस्या भए नभएको यकिन भन्न नसकिने उनले बताए । झिंगा जातको केन्यानी झिंगाका नामले पनि चिनिने यी किराहरूको शरीर मसिनो तर लामो हुन्छ ।
सुन्तला र कालो रङका हुने यो किरा धेरै वर्षा हुने क्षेत्रमा पाइन्छ । तिनीहरू प्रकाशले आकर्षित हुने गरेका छन् । यी झिंगाले सामान्यतया बाली नष्ट गछनर्् र किरा खान्छन् ।
यी झिंगाले नटोक्ने र नडस्ने गरे पनि यदि कसैको छालामा बसेको बेला धपाउन खोजियो भने एक शक्तिशाली अम्लीय पदार्थ छोड्छन् जसले जलाउँछ । यस किराबाट निस्कने उक्त अम्लिय तरल पदार्थले छालामा असामान्य जलन, जलिउरा वा घाउहरू निम्त्याउन सक्छ ।
डा. झा का अनुसार उक्त समस्या आएको २४ देखि ४८ घण्टामा छाला उप्केर सुक्छन् । यदि विष शरीरमा बढी फैलिएको छ र ज्वरो, स्नायु दुखाइ, जोर्नी दुखाइ वा वान्ता हुन थालेमा भने उपचारमै जानुपर्ने हुन्छ ।
डा. झाले ‘नैरोबी फ्लाइ’ जलवायु परिवर्तनका कारण भारत तथा नेपालमा आएको हुनसक्ने भए पनि यस्तै खाले अरु किराहरु पहिलेदेखि नै हामीकहाँ रहेकोले आत्तिइहाल्नु नपर्ने बताएका छन् । वर्षातको समयमा यस्तो समस्या पहिले पनि देखिँदै आएको उनको भनाइ छ ।
उनले झिंगाको प्रभावबाट बच्न पूरा बाहुला भएको कपडा लगाउने, झुल लगाएर सुत्न, झ्यालढोकामा जाली लगाइराख्न, बाहिर निस्कँदा छालामा चिल्लो लगाएर निस्कन र किराको सम्पर्कमा आइहालेमा नजिकको स्वास्थ्यकर्मीकहाँ जान सुझाव दिएका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले भने यस किराको बाँकेमा प्रभावबारे अहिलेसम्म कुनै जानकारी नआएको बताए ।
यद्यपि आफूहरुले पालिकामा रहेका स्वास्थ्य शाखामा यस विषयलाई ध्यानमा राख्न अनुरोध गर्ने र अवस्थालाई नजिकबाट नियाल्ने उनले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्