नेपालगन्ज ।
असार २० गते भेरी अस्पतालमा कार्यरत बरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेशकुमार नागले असार २९ गतेसम्म हाजिरी लगाए । उनलाई अस्पताल विकास समितिले कारबाहीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सिफारिस पठायो ।
यति मात्र होइन, भेरी अस्पतालमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र चिकित्सकहरु समयमै कार्यालयमा नआउने गरेको पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार भेरी अस्पतालमा गरेको छट्के निरीक्षणको यस्तो पुष्टि भएको हो ।
हाल भेरी अस्पतालमा तीन सय ७८ जना कर्मचारी, स्वास्थ्यकर्मी र चिकित्सक कार्यरत छन् । तर बिहीबार बिहान १०ः१५ बजेसम्म ८८ जना कर्मचारी मात्र समयमै हाजिर भए । दुई सय ९० जना भने अनुपस्थित देखिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माले जनाए । ‘हामी बिहान भेरी अस्पतालको छट्के निरीक्षणमा गएका थियौं ।
त्यहाँ १०ः१५ बजेसम्म बसेका थियौं,’ उनले भने, ‘त्यसक्रममा दुई सय ९० जना अनुपस्थित हुनुभयो ।’ छानबिनका लागि अनुगमन टोलीले भेरी अस्पतालका १४ वटा हाजिरी रजिस्टर नियन्त्रणमा लिएको छ ।
उक्त हाजिरी रजिस्टरमा सातजनाले असार मसान्तसम्मको अग्रिम हाजिर गरेको देखिएको छ । केही कर्मचारीले १०÷१५ दिनदेखि एक महिनासम्म हाजिर नगरेको पाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शर्माले जनाए । ‘हाजिरीमा बिदा वा काज केही खुलाइएको छैन,’ उनले भने, ‘बिदा वा काजमा भएको भए हाजिरी रजिस्टरमा खुल्छ ।’
प्रशासनले पहिलो चरणमा स्पष्टिकरण सोध्ने जनाएको छ । चित्तबुझ्दो जवाफ नआए कारबाहीको प्रक्रिया अगाडि बढाइने प्रशासनको भनाइ छ । भेरी अस्पतालबाट जफत गरिएको हाजिरी रजिस्टर पुनः भेरी अस्पताललाई नै उपलब्ध गराइएको छ । ‘हाजिरीमा रातो लगाएर दिएका छौं,’ उनले भने, ‘शुक्रबार हाजिरी हुने होला । त्यसैले हाजिरी फिर्ता दिएका हौं ।’









प्रतिक्रिया दिनुहोस्