छोराका लागि दुलही हेर्न हिँडेकी लक्ष्मी बाटोमै वितिन्



तनहुँ ।

पोर्चुगलमा रहेका छोराका लागि दुलही हेर्न निस्केकी जिल्लाको शुक्ला गण्डकी नगरपालिका-८ गणेश टोलकी ४५ बर्षीया लक्ष्मी खाण ठकुरी सधैका लागि विलिन् भइन्। छोराको धुमधामसँग विहे गराउने उनको धोको आफूसँगै विलाएर गयो।

लक्ष्मी माइती मावलीबाट नजिकका आफन्तहरु बोलाएर छिमेकी ओमप्रकाश गुरुङको ग ३ च ६०१२ नम्बरको टाटा सुमो रिजर्भ गरेर नौ जना कुरिनटारको यात्रामा निस्केका थिए। खुसी मुद्रामा यात्रारत उनीहरु सवार टाटा सुमो मुग्लिङ नपुग्दै दुर्घट्ना पर्‍यो।

आबुखैरेनीस्थित ऐनापहरामा मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस आफ्नो लेन छोड्दै सुमोलाई ठक्कर दिँदा लक्ष्मीसहित ३६ बर्षीय चालक ओमप्रकाश गुरुङ र ७३ बर्षीय रुद्रबहादुर सेन ठकुरी (बाबुराम) मृत्यु भयो। दुर्घटनालगत्तै चितवनस्थित पुरानो मेडिकल भरतपुर पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

मृतक चालक गुरुङ नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङ गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्री हुँदा सवारी चालक थिए। गुरुङको श्रीमती र एक छोरी छिन्।

दुर्घटनामा परी लक्ष्मीका आफन्तहरु शुक्लागण्डकी नगरपालिका–७ निवासी दिपेन्द्र शाही, ५२ बर्षीया गोमा शाही, ४१ बर्षीया बिनु शाही, पोखरा महानगरपालिका ३२ लामेआहालका राम शाही, उनकी श्रीमती ज्ञानु शाही र शुक्लागण्डकी ५ बस्ने दामोदर पुरी घाइते भएका छन्। घाइतेहरुको पुरानो मेडिकल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार घाइतेहरुको स्वास्थ्य अवस्था मध्यम छ।

त्यस्तै, बसमा सवार पाँच जना घाइते भएका छन्। आँबुखैरेनी गाउँपालिका–४ बस्ने २८ वर्षीया देविका थापा मगर, सोही ठाउँका १८ वर्षीया आरती खवास, पिप्ले बस्ने बर्ष ३३ की हिरा बसेल, गोरखाको गण्डकी गाउँपालिका–१ बस्ने ३८ वर्षीया दिनमाया नेपाली, शहीद लखन गाउँपालिका गोरखाका शेरबहादुर थापा घाइते भएका थिए।

प्रहरी नायव उपरीक्षक खड्काका अनुसार घाइतेमध्ये आरती, हिरा र दिनमाया उपचारपछि डिस्चार्ज भइसकेका छन्। दुई जनाको भरतपुरमा उपचार भइरहको छ। बसले ठक्कर दिएको सुमो राजमार्गदेखि १० फिट तल भिरमा खसेको प्रहरीले जनाएको छ। ‘प्रारम्भिक अनुसन्धानबाट बस आफ्नो लेन छाडेर सुमोलाई ठक्कर दिएको बुझिएको छ,’ डीएसपी खड्काले भने। बसका चालक प्रहरी नियन्त्रणमा छन्।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ३० गते सोमबार