बाँकेको जानकीमा रहेको अम्बे स्टील्सलाई ३५ मेगावाट बिजुली दिइने



कोहलपुर ।

बाँकेस्थित नेपालगन्जमा रहेको अम्बे स्टील्स उद्योगलाई नेपाल विद्युत् प्राधिकरणले मागअनुसार बिजुली दिने भएको छ । प्राधिकरणले उक्त उद्योगलाई एक महिनाभित्रमा ३५ मेगावाट बिजुली दिने तयारी गरेको हो ।

प्राधिकरणले अहिले अम्बे स्टील्स उद्योगलाई आठ मेगावाट विद्युत् मात्र आपूर्ति गरिरहेको छ । उद्योगलाई पूर्ण क्षमतामा बिजुली उपलब्ध गराउने योजनाअनुसार उक्त उद्योगलाई विद्युत् उपलब्ध गराउन थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

देशभित्रै खपत बढाउने लक्ष्यका साथ प्राधिकरणले ठूला उद्योग प्रतिष्ठानलाई मागअनुसार नै बिजुली दिने तयारी गरिरहेको छ । उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट विद्युत् माग गरेको छ । प्राधिकरणले उद्योगसम्म विद्युत् पु¥याउनका लागि आवश्यक सम्पूर्ण संरचनाको निर्माण सम्पन्न गरी एक महिनाभित्रमा थप २७ मेगावाटसहित अम्बे स्टिल्सलाई ३५ मेगावाट बिजुली दिन लागेको हो ।

उद्योगसम्म विद्युत् पु¥याउनका लागि कोहलपुर सवस्टेशनबाट ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । उद्योगले पनि थप विद्युत् आपूर्ति लिन आफ्नो परिसरमा सवस्टेसन निर्माण र कारखानाको क्षमता विस्तारको काम अन्तिम चरणमा पु¥याएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले शनिबार मात्रै स्थलगत अवलोकन भ्रमण गरी नेपालगन्ज तथा कोहलपुर औद्योगिक क्षेत्रमा सञ्चालित र आगामी दिनमा खुल्न सक्ने उद्योगलाई विद्युत् आपूर्ति दिन निर्माण गर्नुपर्ने विद्युतीय पूर्वाधारका विषयमा छलफल गरेको छ ।

टोलीले नेपालगन्ज क्षेत्रमा सबैभन्दा बढी विद्युत् खपत गर्ने अम्बे स्टील्सको भ्रमण गरी एक महिनाभित्र विद्युत् आपूर्ति लिने गरी आफूले गर्नुपर्ने सम्पूर्ण पूर्वतयारीका काम सक्न उद्योग व्यवस्थापनलाई आग्रह गरेको छ । ‘विद्युत् खपत बढाउन उद्योगलाई मागेजति बिजुली दिइरहेका छौँ, औद्योगिक करिडोरमा विद्युत् खपत बढाउन नयाँ पूर्वाधारको निर्माण र भइरहेका संरचनाको सुदृढीकरण तथा स्तरोन्नति अभियानकै रुपमा अगाडि बढाइएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने ।

अम्बे स्टील्सले विद्युत् जडानका लागि आफ्ना पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ । यस्तै आवश्यक तयारी पूरा गर्नासाथ विद्युत् आपूर्ति दिन सकिन्छ, प्राधिकरणको तर्फबाट कुनै समस्या नरहेको बताइएको छ ।

उनले अम्बे स्टील्स सञ्चालित क्षेत्रमा अन्य उद्योग पनि खुल्ने र उक्त क्षेत्र औद्योगिक करिडोरका रुपमा विकास हुन लागेकाले त्यहाँ १३२ केभीको सवस्टेसन निर्माणको प्रक्रिया अगाडि बढाइएको बताए । सवस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण सुरु गरिएको छ । त्यसका लागि एसियाली विकास बैंकसँग सहुलितपूर्ण ऋण सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ ।

हाल सञ्चालनमा रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनबाट करिब १० सर्किट किलोमिटर १३२ केभी लाइन बनाएर १३२ केभीको सवस्टेसनमार्फत आगामी दिनमा उद्योगलाई बिजुली दिइने छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ३० गते सोमबार