युक्रेनको पश्चिमी क्षेत्रमा अवस्थित एक सैन्य तालिम शिविरमा रुसी सेनाले क्षेप्यास्त्र प्रहार गरेको छ।
युक्रेनको पश्चिमी सहर याभोरिभस्थित सैन्य तालिम शिविरमा आइतबार बिहान क्षेप्यास्त्र प्रहार गरिएको हो। उक्त घटनामा ३५ जनाको मृत्यु भएको लभिभ सहरको क्षेत्रीय प्रशासनले जनाएको हो।
उक्त घटनामा १३४ जना घाइते भएको बताइएको छ। रुसी सैनिकले आइतबार बिहान लडाकु विमानमार्फत् याभोरिभस्थित एक सैन्य अड्डामा ३० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो।
रुसी सेनाले पश्चिमी मुलुकले दिँदै आएका हतियार राख्न थालिएको र युद्धग्रस्त अन्य क्षेत्रबाट भागेर आउने मानिसको आश्रयस्थल बनेको लभिभलाई पहिलो पटक आक्रमण गरेको हो।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिलेसम्म १,३०० युक्रेनी सैनिक र झन्डै १२,००० रुसी सैनिकको मृत्यु भएको छ।
राजधानी किएभमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले शुक्रबारसम्म झन्डै ५०० देखि ६०० रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको बताएका छन्।
रुसले युक्रेनमा आक्रमण गरेको १७ दिन भइसकेको छ। १८औं दिन बिहान विभिन्न सहरहरूमा विस्फोटन भइरहेको विवरण प्राप्त भएको छ।
केही दिनअघि अमेरिकाले दुई साताको अवधिमा झन्डै ५,००० देखि ६,००० रुसी सैनिकको मृत्यु भएको अनुमान गरेको थियो। मृतकको अनुमानित संख्याका आधारमा घाइते हुने सैनिकको संख्या १५,००० देखि १८,००० भएको बताइएको थियो। प्रायः युद्धमा घाइते सैनिकको संख्या मृतकको सङ्ख्याभन्दा तीनगुना हुने गर्छ।










प्रतिक्रिया दिनुहोस्