वीरेन्द्र जैसी । नेपालगन्ज ।
२०१७ साल पुस १ गते नेपालमा पञ्चायती व्यवस्था लागू गरी २०१९ साल पुस २२ गते निर्दलीय संविधानको घोषणा गरियो । ‘राष्ट्रिय पञ्चायत’ नाम गरेको एक सय २५ सदस्यीय व्यवस्थापिकाको व्यवस्था भयो ।
जसअनुसार ७५ जिल्लाका जिल्ला पञ्चायत, जिल्ला सभा, गाउँ पञ्चायत र गाउँसभाका सदस्यहरुको मतले छानिने ९० जना निर्वाचित सदस्य, राजाबाट मनोनित १६ जना सदस्य, पाँचवटा वर्गीय संगठनहरुबाट तीनतीनजनाका दरले निर्वाचित १५ जना सदस्य र स्नातक वर्गबाट निर्वाचित चारजना सदस्य रहने व्यवस्था रहेको लेखक खगेन्द्र गिरी ‘कोपिला’ बताउँछन् ।
सोही व्यवस्थाअनुसार २०२४ सालमा नेपालगन्जकी श्रीमति गीता राणा महिला वर्गबाट निर्वाचित भएर राष्ट्रिय पञ्चायतकी सदस्य भएकी थिइन् । बाँकेबाट जनप्रतिनिधिका रुपमा राज्यको अंगमा सामेल हुने पहिलो महिला स्वर्गीय राणा नै थिइन् । राणा त्यसभन्दा अघि २०२२ सालमै नेपालगन्ज नगरपालिकाको प्रधनपञ्च भइसकेकी थिइन् ।
उनी नेपालगन्ज नगरपालिकाकी पहिलो महिला प्रधानपञ्च (मेयर सरह) हुन् । २०२४ साल बाँकेका लागि राजनीतिक चेतनाको हिसाबले त्यति सम्पन्न समय होइन । त्यसैमाथि छोरी बुहारीहरुका लागि त्यो समय सक्रिय राजनीतिमा आउन सहज समय थिएन । राजनीतिकर्मी पूर्वमन्त्री फत्तेहसिंह थारु भन्छन्, ‘गीता राणाज्यूले त्यतिबेला अंग्रेजीमा पढ्न पाउनु भएको थियो ।
तर कहाँ पढ्नुभएको हो थाहा भएन । राणा परिवारको भएकोले पनि उहाँलाई पढ्ने अवसर मिल्यो होला । तर उहाँको परिवार राजनीतिक थिएन । उहाँको श्रीमान् त राजनीतिप्रति चासो नै राख्नु हुन्थेन । त्यस्तोबेला पनि उहाँ केन्द्रीय राजनीतिमा पकड राख्नुहुन्थ्यो ।’
गीता राणाको परिवार त्यतिबेला बर्दियाको मैनापोखर र नेपालगन्जमा बराबर बसोबास गर्ने गरेका पूर्वमन्त्री थारुले बताए । उनले आफू राणाको घरमा बेलाबेलामा जाने गरेको बताए ।
नेपालगन्जमा राणाको घर हाल स्नेहा होटेल रहेकै स्थानमा रहेको थारुले बताए । स्नेहा होटेल राणाकै छोरा बुहारीले सञ्चालन गरिरहेका छन् । उनकी बुहारी भवानी राणा नेपालको निजी क्षेत्रको सर्वाेच्च संस्था उद्योग वाणिज्य महासंघको पहिलो अध्यक्ष महिला भइसकेकी छन् ।
राजनीतिक व्यवहारमा राणा शान्त र अडिग स्वभावको व्यक्ति भएको थारुले बताए । उनले कहिल्यै आफ्नो बखान र झुठा आश्वासन दिन्थिनन् । पूर्वमन्त्री थारु भन्छन्, ‘उहाँले जति गर्न सकिन्छ त्यति भन्नुभयो र गर्नुभयो ।’
गीता राणाले त्यो समयमा महिला हुनुको कठिन अवस्था चिरेर राजनीतिमा पकड जमाउन सफल भएको कुरालाई नै उनको योगदानको रुपमा व्याख्या गर्छन् वरिष्ठ साहित्यकार एवम् नेपालगन्जको इतिहासका जानकार सनत रेग्मी । जनप्रतिनिधिमूलक निकायमा उनको उपस्थिति त्यसबेला बाँकेको ठूलै उपलब्धि थियो ।










प्रतिक्रिया दिनुहोस्