बाँकेमा मिलापत्रैमै टुंगिन्छन् महिला हिंसाका घटना



नेपालगन्ज ।

झिसमिसे रात पर्दै थियो । नेपालगन्जकी २४ वर्षीय अञ्जु अन्सारी (नाम परिवर्तित) खाना पकाउँदै थिइन् । बालबच्चा कोठाभित्रै खेल्दै थिए । अञ्जुका श्रीमान् मादक पदार्थ सेवन गरेर घरभित्र प्रवेश गर्छन्, अनि अनेक बहानामा उनलाई गालीगलौज गर्छन् ।

सामान्य विषयलाई लिएर उनले अञ्जुलाई मरणासन्न हुने गरी कुटपिटसमेत गरे । श्रीमान्बाट कुटाइ आएको यो पहिलो घटना भने होइन । अति भएपछि माइतीको सहयोगमा उनले प्रहरीमा उजुरी दिइन् । उक्त विषय मिलापत्रमै मिल्यो ।

खजुरा गाउँपालिकाकी एक कर्मचारीले यौन हिंसा भएको भन्दै प्रहरीसँग गुहार मागिन् । उनले पनि न्याय पाएनिन् । मिलापत्रमै उक्त विषय टुंग्याइयो । यि उदाहरण मात्र हुने घरेलु तथा महिला हिंसाका अधिकांश घटनाहरु मिलापत्रमै टुंगिने गरेका छन् ।

महिला हिंसासम्बन्धी यस आर्थिक वर्षको साउनयता जिल्ला प्रहरी कार्यालयअन्तर्गतको महिला सेलमा पाँच सय २६ वटा उजुरी दर्ता भएका छन् । यि मुद्दामध्ये दुई सय ४५ वटा मिलापत्रमा टुंगिएका छन् । २४ जना निवेदक पक्ष नआएको महिला सेलले जनाएको छ । बाँकी सम्बन्धित निकायमा पठाइएको बताइएको छ ।

गत वर्ष सात सय ३८ उजुरी दर्ता भएकोमा पाँच सय २० वटा उजुरी मिलापत्र भएको महिला सेलकी सइ दिलसरा रानाले जनाइन् । उनका अनुसार केही महिलालाई मिलापत्र गराउनका लागि उजुरी दिने गरेका छन् । साधारण निवेदन ल्याएर आउने अधिकांशका विषय मिलापत्रमा टुंगिने उनको भनाइ छ ।

‘धेरै महिला मादक पदार्थ सेवन गरे श्रीमान्ले कुटपिट तथा गालीगलौज, सासुले बुहारीलाई गर्ने हिंसाका घटनामा पीडित आफैँ घटना मिलाइदिनु प¥यो भन्दै आउँछन्,’ उनले भनिन्, ‘घटना ठूलो हुँदैन । पीडित आफैँले पनि मिलापत्रका लागि मात्र प्रहरीसमक्ष पीडकलाई ल्याउने गरेका छन् ।’ जघन्य अपराध र जाहेरी आएमा मिलापत्र नहुने उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन २४ गते मंगलबार