नेसनल प्याब्सनको नेतृत्वका लागि यी हुन् दाबेदार ?



नेपालगन्ज।

नेसनल प्याब्सनको नेपालगन्ज महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान महासचिव सुवास न्यौपाने र अघिल्लो महाधिवेशनमा वर्तमान अध्यक्ष ऋतुराज सापकोटासँग झिनो मतले हार व्यहोरेका पाण्डव हमालले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

वर्तमान महासचिव न्यौपानेले राष्ट्रिय शैक्षिक मुद्दाहरुको समाधानका लागि पैरवी र संगठनलाई कुशल नेतृत्व प्रदान गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

यसैगरि नेसनल प्याब्सनलाई उन्नत, गतिशील र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढाउन प्रतिबद्धता पनि बताएका छन् । न्यौपाने नेसनल प्याब्सनको काठमाडौँ जिल्लाका पूर्वअध्यक्ष हुन् ।

यसैगरि अध्यक्षका अर्का दाबेदार हमालले शिक्षामा निजी क्षेत्रको लगानी सुनिश्चित गर्न, सदस्य विद्यालयहरूको हकहित, संरक्षण र सम्बद्र्धन गर्न, विभेदकारी छात्रवृत्ति नीतिलाई निष्क्रिय बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् । सिराहा जिल्लाको लहान मेरी चिल्ड्रेन स्कुलका संस्थापक हमाल तीन दशकभन्दा लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय छन् ।

नेसनल प्याब्सनको विधानअनुसार केन्द्रीय कार्यसमितिमा अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, तीनजना उपाध्यक्ष, एक÷एकजना महासचिव र कोषध्यक्ष, तीनजना सचिव, एकजना सहकोषाध्यक्ष, २० जना केन्द्रीय सदस्य र चारजना मनोनित सदस्यहरु महाधिवेश नचयन गर्ने व्यवस्था छ ।

केन्द्रीय अध्यक्ष पदको उमेदवारीका लागि दुई कार्यकाल केन्द्रीय पदाधिकारी भइसकेको व्यक्ति मात्रै योग्य हुन्छ भने वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदका लागि एक कार्यकाल सचिव, सहकोषाध्यक्ष, प्रदेश अध्यक्ष वा दुई कार्यकाल केन्द्रीय सदस्य रहिसकेका व्यक्तिहरू मात्र उमेदवारीका लागि योग्य मानिन्छन् ।

यसैगरि सचिव र सहकोषाध्यक्षका लागि एक कार्यकाल केन्द्रीय सदस्य वा प्रदेश समिति पदाधिकारी भइसकेका व्यक्ति र केन्द्रीय सदस्यका लागि एक कार्यकाल प्रदेश समितिका पदाधिकारी वा जिल्ला अध्यक्ष भइसकेका व्यक्तिहरू योग्य हुन्छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन २२ गते आइतबार