कोहलपुर ।
कोहलपुरमा आफ्नै काकाबाट १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । फागुन ३ गते राति घरमै सुतिरहेको अवस्थामा आफ्नै २८ वर्षीय काकाबाट बालिका बलात्कृत भएकी हुन् । समाचारमा काकाको नाम उल्लेख गर्दा बालिकाको पहिचान हुने भएकाले दुवैजनाको नाम गोप्य राखिएको छ । घटना पहिलेको भए पनि फागुन १२ गतेमात्र उजुरी परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
बलात्कार गर्ने काका र घरका अन्य सदस्यले बालिकालाई धम्की दिएपछि ढिलो गरी घटना सार्वजनिक भएको थियो । कोहलपुरमा काकाको घरमा हजुरबुवा हजुरआमासँग बस्दै आएकी बालिका काकाबाटै बलात्कृत भएकी हुन् । बालिकाका बुवाआमा भारतमा बस्दै आएका छन् ।
घरका अन्य सदस्यबाट लुकेर स्थानीयको सहयोगमा बालिकाले फागुन १२ गतेमात्र ईलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएकी थिइन् ।
सोही दिन नै बालिकाको स्वास्थ्य परीक्षण गराएर कोहलपुर प्रहरीले बालिकालाई संरक्षणको लागि साना हातहरु नेपाल नेपालगन्जमा पठाएको छ ।
‘पीडित बालिकालाई घरमा पठाउने अवस्थामा नभएपछि हामीले एक संस्थामा पठाएका हौं,’ मुद्दा फाँटका एक प्रहरीले भने, ‘आफ्नै काकाले बलात्कार गरेको उजुरी परेपछि गम्भीर रुपमा लिँदै अनुसन्धान बढाएका थियौं ।’
काठमाडौंको एक कम्पनीमा सवारी चालकको रुपमा कार्यरत काका घर आएको बेला बालिकालाई डरधम्की देखाएर बलात्कार गरेका उजुरीमा उल्लेख गरिएको छ । अनुसन्धानमा संग्लन एक प्रहरीका अनुसार २८ वर्षीय काकाले फागुन ३ गते राति १२ बजेतिर बालिकालाई जबरजस्ती गरेका थिए ।
बालिका बलात्कृत भएको उजुरी परेलगत्तै आरोपितको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन्द्र खनालले जानकारी दिए । ‘अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको छ,’ उनले भने, ‘हामीले खोजी गरिरहेका छौं ।
काठमाडौंमा रहेको कुरा छ । छिट्टै पक्राउ गर्छाैँ ।’ बालिकाको कानुनी लडाइँमा साना हातहरु नेपाल नेपालगन्जले सहयोग गरिरहेको छ । पछिल्लो समय बाँकेमा बलात्कारका घटनाहरु बढ्दै जान थालेका छन् ।









प्रतिक्रिया दिनुहोस्